+
+

कोशीमा उद्धव थापाले नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने, सभामुखलाई पर्खिंदै सत्ता गठबन्धन

हरि अधिकारी हरि अधिकारी
२०८० साउन १६ गते १४:३०

१६ साउन, विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठनका लागि मंगलबार साँझसम्मको समय दिएका छन् ।

माओवादीको कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धनको तर्फबाट थापाले नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने सहमति भएको बताए ।

प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिने पनि उनले बताए । मंगलबार दिउँसो ४ बजेपछि प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित थापाले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने आङ्बोले बताए ।

सभामुख गौतम काठमाडौंबाट मंगलबार नै विराटनगर फर्किंदैछन् । उनी ३ बजे फर्किने जानकारी पाएका सत्तारुढ गठबन्धनका नेताहरु उनलाई पर्खिरहेका छन् ।

गत असार २१ गते कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४६ प्रदेशसभा सदस्य र सभामुख गौतमको छुट्टै समर्थन लिएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर सर्वोच्च अदालतले सभामुखले समर्थन गरेर सरकार निर्माण गर्न नमिल्ने फैसला गरेपछि थापा पदमुक्त भएका थिए ।

अहिले उनै सभामुखलाई राजीनामा गराएर उनको समर्थनमा थापाले पुनः मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । सभामुखबाट राजीनामा दिएर गौतम माओवादी केन्द्रको प्रदेशसभा सदस्य मात्र रहनेछन् ।

९३ सदस्यीय प्रदेशसभामा कांग्रेस नेता थापालाई उनको पार्टीका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन रहनेछ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?