+
+

बढ्न थाले चिनियाँ पर्यटक, अमेरिकीलाई उछिन्दै दोस्रो स्थानमा

अच्युत पुरी अच्युत पुरी
२०८० साउन १६ गते २०:५०

१६ साउन, काठमाडौं । नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । सन् २०२३ को पहिलो ६ महिना (जुन)सम्म भारतीय नागरिकपछि दोस्रो स्थानमा अमेरिकी पर्यटकको आगमन थियो । सातौं महिना (जुलाई)मा भने चिनियाँ नागरिक दोस्रो स्थानमा उक्लिएका छन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार जुलाई २०२३ मा कुल ५७ हजार ७२६ जना पर्यटक नेपाल आएका छन् । त्यसमध्ये भारतीय मात्र २१ हजार ३५७ जना आएका छन् । दोस्रो स्थानमा चिनियाँ नागरिक छन् । उनीहरुको संख्या ५ हजार ५९३ जना छन् । अमेरिकी पर्यटकको संख्या ५ हजार ५६१ जना रहेको बोर्डले जनाएको छ ।

नेपालमा जुन, जुलाई र अगस्ट पर्यटकीय सिजनका दृष्टिकोणले ‘अफसिजन’ मानिन्छन् । सोहीकारण युरोप र अमेरिकी पर्यटक आगमन समेत यो मौसममा घट्ने गरेका छन् । नेपालको छिमेकी मुलुक भारतमा यो समय अधिक गर्मी हुने भएकाले यो मौसममा धेरै भारतीय नेपाल आउने गरेका छन् ।

पर्यटन व्यवसायीहरुका अनुसार चिनियाँ नागरिकले समेत घुमफिरमा विशेष मौसम हेर्देनन् । सोहीकारण नेपालमा भ्रमणमो वातावरण बनाउने हो भने चिनियाँ नागरिकले नेपाल ‘अलसिजन’ उपयुक्त गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न सक्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।

होटल संघ नेपाल (हान)का कोषाध्यक्ष युवराज श्रेष्ठका अनुसार चिनियाँ पर्यटक नेपालमा ‘अफसिजन’ भएका बेला पनि ठूल्ठूला समूहमा आउँछन् । जसले गर्दा व्यवसायीले राम्रो विजनेश पनि पाउँछन् । व्यवसायीहरुका अनुसार भारतीय पर्यटक खानपिनमा बढी रमाउँछन् ।

चिनियाँ नागरिक भने घुमफिर र सपिङ तथा पर्यटकीय गतिविधिमा सहभागी हुन रुचाउँछन् । जसले गर्दा ‘अफसिजन’मा पनि साहसिक पर्यटकीय गतिविधिले निरन्तरता पाउँछन् ।

अघिल्लो महिना चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक चार्टर्ड उडान भएको थियो । त्यसपछि भने पोखरामा उडानले निरन्तरता पाउन सकेन । अहिले काठमाडौंलाई भारतीय भन्दा धेरै चिनियाँ शहरमा हवाई यात्राले जोडेको छ । यसले भने चिनियाँ पर्यटक बढाउन भूमिका खेलेको व्यवसायीको भनाइ छ ।

जुलाई २०२३ मा सार्क मुलुकबाट मात्र कुल पर्यटकको ५० प्रतिशत हाराहारी पर्यटक आगमन भएको तथ्यांकमा देखिएको छ । भारतबाट २१ हजार ३५७, बंगलादेशबाट २६ सय ९६ जना, भुटानबाट ८०७ जना, श्रीलंकाबाट ४८४ जना र पाकिस्तानबाट ३७२ जना पर्यटक यो महिनामा नेपाल भ्रमणमा आएका छन् ।

एसियाका अन्य मुलुकमध्ये चीनपछि दक्षिण कोरियाबाट १३ सय ७५ जना पर्यटक आएका छन् । युरोपेली मुलुकमध्ये सबैभन्दा धेरै ३ हजार ६३० जना बेलायती पर्यटक नेपाल आएका छन् । अष्ट्रेलियाबाट १ हजार १०२ जना नेपाल आउँदा क्यानडाबाट ६५३ जना नेपाल आएको तथ्यांक छ ।

कुन महिनामा चीनबाट कति पर्यटक आए ?

  • जनवरी : १,४३६
  • फेब्रुअरी : २,२६६
  • मार्च : २,६३५
  • अप्रिल : ४,७७०
  • मे : ४,६६७
  • जुन : ४,३४३
  • जुलाई : ५,६९३

सात महिनामा भित्रिए ५ लाख ३४ हजार २०७ पर्यटक

नेपालमा पछिल्लो सात महिनामा ५ लाख ३४ हजार २०७ जना पर्यटक आएका छन् । जुलाई २०२३ मा आएका ५७ हजार ७२६ पर्यटकसमेत जनवरीदेखि जुलाईसम्म यो संख्यामा पर्यटक नेपाल आएका हुन् । यस जुलाईमा कोभिड–१९ भन्दा अगाडिकै हाराहारीमा पर्यटक आगमन भएको छ ।

बोर्डका निर्देशक लामिछानेका अनुसार सन् २०१९ को जुलाईमा ५८ हजार ८११ जना पर्यटक नेपाल आएका थिए । त्यसयताका वर्षहरुलाई भने कोभिड–१९ ले नराम्रोसँग प्रभावित बनाएको थियो ।

सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । ७ महिनाको पर्यटकको आगमनको तथ्यांकले भने यो लक्ष्य पुरा हुने सम्भावना निकै कम हुने देखिएको छ । सरकारको लक्ष्य पूरा गर्न अब प्रतिमहिना १ लाख माथि पर्यटक आगमन हुनुपर्छ ।

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?