+
+

कोशीका सभामुखलाई बदनाम गराएर राजीनामा

हरि अधिकारी हरि अधिकारी
२०८० साउन १६ गते २१:०७

१६ साउन, विराटनगर । सत्तारुढ गठबन्धनले कोशी प्रदेशसभा सभामुख बाबुराम गौतमलाई बदनाम गराएर राजीनामा गर्न लगाएको छ ।

यसअघि २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखकै हैसियतमा हस्ताक्षर गरेका कारण सर्वोच्च अदालतमा मुद्दा पर्‍यो र सर्वोच्चले उनको समर्थन संविधान विपरीत ठहर गरेपछि गौतममाथि पदीय मर्यादा कायम गर्न नसकेको आरोप लागेको छ । निष्पक्ष भूमिकामा रहनुपर्ने सभामुख सत्ताको जोडघटाउमा जोडिएपछि आलोचित बने । संसदीय मान्यता विपरीत पदको गरिमा राख्न नसकेको आरोप पनि लाग्यो ।

अन्ततः थापालाई फेरि मुख्यमन्त्रीमा समर्थन गर्न गौतमले मंगलबार पदबाटै राजीनामा दिए ।

सभामुखको समर्थनमा बनेको सरकारलाई सर्वोच्चले बदर गरिदिए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख गौतमको राजीनामा मागेन । राजीनामा माग गर्दा अंकगणितमा आफैलाई अफठ्यारो पर्ने भएपछि सभामुखप्रति नेकपा एमाले मौन बसेको थियो ।

सभामुखले पनि कसैले राजीनामा नमागेका कारण राजीनामा नदिने अडानमा थिए ।

तर मुख्यमन्त्रीमा दाबी नपुग्ने भएपछि सत्ता गठबन्धनले गौतमलाई राजीनामा गर्न बाध्य बनायो । मंगलबार सञ्चारकर्मीसँग उनले इच्छा विपरीत राजनीतिक निकासका लागि राजीनामा दिनुपरेको बताए ।

‘प्रदेशको समग्र विकास र स्थायित्वका लागि सभामुखको राजीनामा उचित हो भन्नेमा म अहिले पनि छैन । मेरो प्रष्ट कुरा छ । मैले कसैसँग अप्ठेरो नमानी भन्न सक्ने कुरा त्यही नै हो’, उनले भने, ‘तर परिवेशले मलाई त्यहाँ पुर्‍यायो र मैले राजीनामा गर्नुपर्ने भयो ।’

उनको राजीनामा पछि नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि बढेको छ । सभामुखलाई राजीनामा गराएर आत्मघाती कदम चालेको नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले बताए ।

नेपाली कांग्रेस नेतृत्वका कारण सभामुख बदनाम भएको माओवादीका असन्तुष्ट सांसदको गुनासो छ । उनीहरुले २१ असारमा सभामुखकै हैसियतमा छुट्टै हस्ताक्षर गर्न लगाउनु गल्ती भएको बताएका छन् । माओवादीका एक सांसदले भने,‘ हिजो दलको तर्फबाट १३ जनाको हस्ताक्षर गरौं भन्दा मानेनन्, छुट्टै हस्ताक्षर गर्न लगाएर सभामुखको बदनाम गराए, आज राजीनामा गर्न लगाइयो ।’

सर्वाेच्चले मुख्यमन्त्रीको नियुक्ति बदर गरेपछि सत्तारुढ गठबन्धनले राप्रपाको साथ लिएर सरकार बनाउन खोजेको थियो । तर राप्रपाले सहयोग नगर्ने भएपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई राजीनामा गर्न निर्देशन दिएका माओवादी स्रोतको भनाइ छ । सुरुमा राजीनामा गर्न नमानेका गौतम मंगलबार विहान प्रचण्डसँगको भेटपछि राजीनामा दिन तयार भए ।

उनको राजीनामा पछि सत्तारुढ गठबन्धनसँग कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सहित ४७ मत पुर्‍याएको थियो र मुख्यमन्त्रीमा थापा नियुक्त पनि भए ।

नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री उद्धव थापाले सभामुखले गठबन्धनका लागि त्याग गरेको भन्दै धन्यवाद दिए । उनले गौतमलाई सरकारमा पनि लैजान सकिने बताए ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि गठबन्धन सरकार बनाउनका लागि सभामुखले ठूलो त्याग गरेको बताए ।

‘उहाँले एउटा ठूलो राजनीतिक निर्णय दिएर प्रदेशलाई निकास दिनुभयो, यसका निम्ति हामी गठबन्धन दल सभामुखप्रति आभारी छौं’, उनले भने, ‘उहाँलाई भोलि के गर्ने भन्ने खास छलफल भएको छैन, उहाँको कुनै शर्त पनि छैन ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?