
१७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा नबोलेको भन्दै नेपाली कांग्रेसप्रति प्रश्न गरेका छन् ।
सुन तस्करीका बारेमा एक दुई नेताले व्यक्तिगत रुपमा बोले पनि नेपाली कांग्रेसले चुइक्क नगर्नु अचम्म लाग्दो विषय भएको उनले बताए ।
तुल्सीलाल अमात्यको स्मृति दिवसका अवसरमा भएको कार्यक्रममा उनले कांग्रेसले सुन तस्करीका बारेमा बोल्न नसकेको आरोप लगाए ।
‘म नेपाली कांग्रेसका सभापति देउवा जीलाई भन्न चाहन्छु– देउवा जी तपाईँले क्वीन्टलका क्वीन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ?’ ओलीले प्रश्न गरे, ‘केही गर्नुपर्छ की पर्दैन यस्तोमा ?’
ओलीले देउवाबाट आउने सम्भावित उत्तर भन्दै व्यंग्य थपे, ‘उहाँले भन्नुहुने छ म प्रचण्डको साथ छोड्दिनँ, म प्रचण्डलाई साथ दिन्छु, उहाँको त्यत्ति हुन्छ ।’
विमानस्थलको भन्सारबाट पास भइसकेको तस्करीको एक क्वीन्टल सुन बरामद भएपछि नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । तर यसबारेमा नेपाली कांग्रेसले कुनै धारणा सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया 4