 
																			१९ साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारका ११ जना सचिवले अवकाश पाउँदैछन् । निजामती कर्मचारीहरुको अभिलेख राख्ने निकाय राष्ट्रिय किताबखाना (निजामती)का अनुसार हाल कार्यरत ११ जना सचिव र सचिव सरहका विशिष्ट श्रेणीका अरु केही कर्मचारी पनि अवकाशमा जाने देखिएको छ ।
यही बीचमा केही सहसचिवको सचिवमा बढुवा हुने र ५८ वर्षे उमेरहदका कारण तुरुन्तै अवकाश हुने पनि सम्भावना छ ।
निजामती किताबखानाको अभिलेख अनुसार हाल कार्यरतमध्ये प्रधानमन्त्री कार्यालयका सचिव डा. गोपीकृष्ण खनालले ४ भदौमा अवकाश पाउनेछन् ।
त्यस्तै शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ ११ असोजमा, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव दामोदर रेग्मीको ११ कात्तिकमा, परराष्ट्र सचिव भरतराज पौडेलको २० मंसिरमा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा सचिव दिनेशकुमार घिमिरेको ९ पुसमा अवकाश हुँदैछ ।
त्यस्तै ६ फागुनमा निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतम र २६ फागुनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी जनसंख्या मामिला हेर्ने सचिव देवकुमारी गुरागाइँ अवकाशमा जानेछन् ।
११ चैतमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, १७ वैशाख २०८१ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव सुरेश अधिकारी, २८ वैशाखमा वन तथा वतावरण मन्त्रालयका सचिव रेवतीरमण पौडेल, १३ असारमा जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारीको अवकाश हुने निजामती किताबखानाको अभिलेख छ ।
अवकाशमा जाने सचिवमध्ये खनाल, रेग्मी, गौतम, गुरागाईं, भण्डारी र अधिकारी प्रशासन सेवाका हुन् । त्यस्तै श्रेष्ठ, घिमिरे र तिवारी इन्जिनियरिङ सेवाका हुन् । भरतराज पौडेल परराष्ट्र सेवाका हुन् भने रेवतीरमण पौडेल कृषि समूहका हुन् ।
अहिले ५८ वर्ष परा भएका सचिव अनिवार्य अवकासमा जाने व्यवस्था छ भने सचिव भएर ५८ वर्ष पुग्नुअघि नै ५ वर्ष सचिवका रुपमा सेवा अवधि पुरा गरेकाहरुले पनि अनिवार्य अवकाश पाउने व्यवस्था छ ।
अन्य विशिष्ट पनि सूचीमा
निजामती सेवाका सचिवहरुबाहेक विशिष्ट श्रेणीका अरु ७ कर्मचारीले पनि आगामी एक् वर्षभित्र अवकाश पाउँदैछन् । २३ साउनमा उपमहालेखा परीक्षक राममाया कुँवर, २१ असोजमा र २१ असोजमा संघीय संसद सचिावलयका सचिव पद्मप्रसाद पाण्डेयले अवकाश पाउनेछन् ।
९ पुसमा उच्च सरकारी वकिलको कार्यालय पाटनका नायब महान्याधिवक्ता नारायणप्रसाद पौडेल, १२ माघमा उपमहालेखा परीक्षक महेश्वर काफ्ले, २९ माघमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र १७ वैशाख २०८१ मा सर्वोच्चका सह–रजिष्ट्रार नारायणप्रसाद पन्थी र महान्यायाधिवक्ता कार्यालयका नायब महान्याधिवक्ता विश्वराज कोइराला पनि अवकाशमा जानेछन् ।
कानुन समूहमा नयाँ सचिव को ?
गत ५ साउनमा कानुन सचिव धनराज ज्ञवालीले निजामती सेवाबाट अवकाश पाएसँगै न्याय सेवाको कानुन समूहले नयाँ सचिव पाउने छ । अब फणीन्द्र गौतम कानुन समूहबाट नयाँ सचिव बन्ने सम्भावना रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय स्रोतले बताएको छ ।
त्यसका लागि न्याय सेवा आयोगले सचिवमा बढुवाका लागि सिफारिस गर्नुपर्छ । आयोगमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्की अध्यक्ष छन् भने कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहित सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगको अध्यक्ष र महान्यायाधिवक्ता सदस्य छन् । तर अहिले कानुनमन्त्री गुरुङ देश बाहिर छन् भने प्रधानन्याधीश कार्कीले पनि २० साउनमा अवकाश पाउँदैछन् ।
विगतदेखि नै आयोगले बढुवाका लागि कानुन समूहका वरिष्ठतम् सहसचिव (एक जना)को नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने गरेको छ । वरिष्ठता नमिच्ने परम्पराअनुसार हाल कानुन मन्त्रालयका प्रवक्ता गौतमले कानुन सचिवको रुपमा बढुवा पाउने पक्कापक्की रहेको मन्त्रालय स्रोतको भनाइ छ ।
कानुन समूहबाट प्रधानमन्त्री कार्यालयमा उदयराज सापकोटा, कानुन आयोगमा लीलादेवी गड्तौला (निरौला) र सत्य निरुपण तथा मेलमिलाप आयोगमा तोयानाथ अधिकारी सचिवका रुपमा कार्यरत छन् । हाल कानुन समूहबाट ४ जना सचिव हुने व्यवस्था छ ।
ज्ञवालीको अनिवार्य अवकाशसँगै कानुन मन्त्रालय सचिवविहीन छ । तर, न्याय सेवा आयोगले कसलाई कानुन मन्त्रालयमा पठाउँछ भन्ने अझै स्पष्ट भइसकेको छैन ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4