+
+

धन्यवाद प्रचण्ड

तपाईं नअलमलिनुहोला, यो साँच्चिकै धन्यवाद हो । जस्तो कि मान्छेहरु जिन्दावाद, मुर्दावाद भन्छन् नि ! त्यस्तो ‘वाद’ मा आजसम्म कसैले ठट्टा गरेको छ र ? धन्यवाद पनि त्यस्तै कुरो हो ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० साउन १८ गते २१:४२

कमरेड प्रचण्ड

महान् तथा गौरवशाली पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

पेरिसडाँडा, काठमाडौं ।

विषय : धन्यवाद ।

उपरोक्त सम्बन्धमा मैले अस्ति भर्खरै शेरबहादुर देउवालाई धन्यवाद दिंदा कांग्रेसमा त्यसको आलोचना हुन गयो । केन्द्रीय सदस्य तथा मेरा बन्धु जीतजंग बस्नेतले त बैठक लाइभ गर्ने कुराको आफू विरोधी भए पनि अनलाइनखबरले धन्यवाद देउवा भनेको हुँदा आफू अब सभापतिकै निर्णयको पक्षमा उभिने घोषणा सानेपा बैठकस्थलमा गरे ।

एक कांग्रेस नेताले मसँग माफ माग्दै भने, ‘सरी है बस्नेतजी, हाम्रा साथीहरुले कुरो बुझेनन् ।’

मसँग त्यसको कुनै जवाफ थिएन । कांग्रेसउपर के गरौं, कसो गरौं– को द्विविधामा अल्झिँदा अल्झिँदै फेरि अर्को केन्द्रीय समिति बैठक आइलाग्यो, माओवादी केन्द्रको । एक वर्षपछि बैठक डाक्ने देउवालाई धन्यवाद दिंदैगर्दा तपाईंलाई यो अवसरबाट वञ्चित गराएर के म हेगमा उभिन चाहन्छु र ? तपाईंले पनि त केन्द्रीय समिति बैठक डेढ वर्षपछि डाक्नुभएको हो । यो तथ्यलाई कसरी उपेक्षा गर्न मिल्छ ! त्यसैले तपाईंलाई झन् महाधन्यवाद ।

तपाईं नअलमलिनुहोला, यो साँच्चिकै धन्यवाद हो । जस्तो कि मान्छेहरु जिन्दावाद, मुर्दावाद भन्छन् नि ! त्यस्तो ‘वाद’ मा आजसम्म कसैले ठट्टा गरेको छ र ? धन्यवाद पनि त्यस्तै कुरो हो ।

आठौं महाधिवेशनपछि डेढ वर्षमा बल्ल केन्द्रीय समिति बोलाउनुभएकोमा तपाईंलाई धन्यवाद । हुन त केन्द्रीय समितिमा जम्मा कतिजना सदस्य छन्, तपाईं स्वयंलाई थाहा छैन । पार्टी सूत्र भन्छ : ३ सय ८५ केन्द्रीय सदस्य र विभिन्न विभाग तथा आयोग सदस्य गरी अहिले बैठकमा ७५८ जना सहभागी छन् । को आयो, को गयो के थाहा ! अध्यक्षलाई नै थाहा नभएको कुरो झन् अरुलाई कसरी थाहा हुन्छ ! कसैले भन्छन्, आठ सय सदस्य । कसैले भन्छन्, सात सय सदस्य । यति चाहिं पक्कै हो, पार्टीमा मान्छे धेरै छन् ।

म एउटा दृश्य कल्पना गर्छु : ‘तपाईंलाई कता कता देखे जस्तो लाग्छ नि ?’

अर्को सदस्य : क्या त पेरिसडाँडामा । हामी केन्द्रीय समिति बैठकमा सँगै गएको होइन ?

अहिले माओवादीमा यस्तै ताल छ । हुन त ठूलो पार्टीमा समिति पनि ठूलै हुन्छन् । तपाईं त्यसैले त अहिले सरकार चलाइराख्नुभएको छ । साना दलहरु कांग्रेस, एकीकृत समाजवादी लगायतले साथ दिइरहेका छन् ।

तपाईंलाई अर्को पनि धन्यवाद– राजनीतिक प्रतिवेदन विनै बैठक ठोकिदिएकोमा । हो, बल्ल पार्टीले बुझ्यो– बैठक बस्ने यसरी नै हो । किनभने माओवादीका नेता कार्यकर्ताको मात्रै होइन, पत्रकारहरुको पनि आयुको एउटा ठूलै हिस्सा तपाइँहरुका दस्तावेज पढ्दा–पढ्दा बलिदान हुन गएको छ ।

तपाईंलाई थाहै छ नि, मान्छे पूरै मरेपछि मात्रै बलिदान हुने होइन । अलि–अलि मरे पनि बलिदान हुन्छ । हुन त अस्ति कान्तिपुर टिभीको अन्तर्वार्तामा तपाईंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने मरणासन्न कुटेर फालिए पनि हिजोआज ठमठमी हिंडिरहेका कारण त्यसलाई मरेको भन्न नमिल्ने टाइपको कुरो गर्नुभयो ।

तपाईंका कानुनमन्त्री धनराज गुरुङले त्यही टिभी शोमा गएर चलाउनेले बीपी कोइरालाको पाठ्यक्रम हटाएर (यद्यपि त्रिविको पाठ्यक्रम एउटा शिक्षकले बदल्न सक्दैन, तैपनि कानुनमन्त्रीले फेक न्युज फैलाए । म पूरै विश्वस्त छु, उनी कानुनमन्त्री हुन्, न्यायमन्त्री होइनन्) कुटाइ खानलायक कुकर्म गरेको हाकाहाकी कहे । मैले उनीहरुमाथि कारबाही होला भन्ने कत्ति पनि शंका गरेको छैन । उनीहरु बेवारिसे सुनका सर्वहारा भरिया हुन् र कारबाही खानलाई ?

तर पनि विगतमा हामी पत्रकारहरुको आयु बलिदान भयो । युद्धमा भएका बलिदानको कुरो यहाँ झिकेर म तपाईंको मूड खराब गर्न चाहन्नँ । देशमा शान्ति प्रक्रिया अनन्तकालसम्म लम्बिने सम्भावना छ । अब त पीडितहरुले पनि यो कुरो बुझिसकेर धेरै आशा गर्न पनि छाडिसके ।

अँ, हेर्नुस् म तपाईंका विगत प्रतिवेदनहरु झैं निकै बरालिंदै अनेक गफमा भुल्न थालें । खासमा मैले तपाईंलाई धन्यवाद दिइरहेको थिएँ– प्रतिवेदन नलेखेकामा । हेर्नुस्, यो प्रतिवेदन लेख्ने कुनै काम छैन । फुर्सदमा भएका बाबुराम भट्टराई र मोहन वैद्यले त हिजोआज प्रतिवेदन लेख्न छाडिसके । भट्टराई २८० क्यारेक्टरका ट्वीट गर्दै बस्छन् ।

उनी जस्ता एक्स–माओवादीलाई हेरेर हुनुपर्छ कमरेड एलन मस्कले ट्वीटरको नाम नै एक्स राखिदिएका । वैद्यबा त हिमाली दर्शनतिर लागिसके । अब म उनलाई कमरेड केपी ओलीसँगै चन्द्रागिरीमा हिमवत्खण्ड काव्यसभाको मञ्चमा सँगै प्रवचन दिइरहेको देख्न चाहन्छु ।

तपाईंले नलेखिकनै बैठकमा पेश गरेको प्रतिवेदन हामी पत्रकारहरुको भाषामा भन्दा ‘कुराकानीमा आधारित’ जस्तै हुन पुग्यो । देवनारायण प्रधानले गाएको ‘कति कुरा नभनेर नै मिठा हुन्छन्’ भनी गाइदिएजस्तो । हुन त ‘भनिएका कुरा सबै झुटा झुटा हुन्छन्’ भन्ने गीत प्रधानको गीतबाट मैले उद्धरण गरिराख्नुपर्दैन । त्यो त तपाईंले नै साबित गरिदिइसक्नुभएको छ । किन त्यसो गर्नुभएको भनी सोध्नै हुँदैन । ‘प्रचण्ड भनेकै यही हो त तपाईं के गर्नुहुन्छ’ भनेर झारा टारिदिनुहुन्छ । प्रधानमन्त्रीको सरकारी पारा !

त्यसैले त आज दोस्रो दिन बिहीबारको बैठकमा लिखित प्रतिवेदन पेश गर्ने बाचा गर्दै कार्यकर्ता अल्झाउन हिजो सफल भए पनि आजसमेत प्रतिवेदन आएन । केन्द्रीय सदस्यहरु पर्खिबसे, आउला भनी । तर प्रतिवेदन आएन । बरु ‘कुराकानीमा आधारित’ बहस जारी रह्यो– बब डिलनको ‘द एन्सर इज् ब्लोइङ इन् द विन्ड’ सम्झाउने गरी । प्रतिवेदन र बहस सबै हावामै तैरिइरहेका छन्, त्यो गीत झैं ।

यसैलाई देखेर हुनुपर्छ आज बैठक सकिने बित्तिकै युवा माओवादी नेता लेखनाथ न्यौपाने (अब त ती पनि पर्खिदा पर्खिदै बुढा हुन लागिसके, तिनको पालो आउँदा माओवादी भन्ने नै रहने हो कि होइन । किनकि हिजो तपाईंले बोलिसक्नुभयो– कहिलेकाहिँ त मलाई लाग्छ, यो माओवादी भनेको पार्टी नै हो कि होइन ।’)
अँ, लेखनाथ न्यौपानेलाई पत्रकारले घेरे– ‘बैठकमा के भइरहेको छ ?’

न्यौपाने : ‘केही भइरहेको छैन । केही हुनेवाला पनि छैन ।’

न्यौपानेको यो जवाफ सुनेपछि मैले ठानें– यी न्यौपाने कि त माओवाद छाडेर ‘एक्काइसौं शताब्दीमा निराशावादको विकासबारे’ दस्तावेज लेख्न लागिसके, कि त उनले नयाँ जमानाको प्रो म्याक्स प्रचण्डपथ बुझ्नै बाँकी छ । कुरो बुझ्नुसुझ्नु छैन, खाली लेखपढ मात्रै गरेर हुन्छ ? बाबुरामदेखि आहुतिसम्मको हविगतबाट पाठ सिक्नुपर्दैन ?

तपाईं फेरि मलाई बाबुरामको कुरा सुन्न थाल्यो नभन्ठान्नुहोला । बाबुरामलाई थाहा छ– हिजोआज उनको कुरा कसैले पनि सुन्दैनन् । आहुतिको कुरै भएन । तपाईंको माओवादी पार्टीको एक फग्लेटो फुटाएर उनले वैज्ञानिक समाजवादी पार्टी नामको पसल धोबिखोला किनारामा खोले । मलाई शंका थियो, यो त कम्युनिस्ट पार्टी होइन ।

नेपाल कम्युनिस्ट पार्टी वैज्ञानिक समाजवादी, यसरी पो राख्ने हो त कम्निस्ट पार्टीको नाम । नामै राख्न आउँदैन । यो कम्युनिस्ट पार्टी होइन ।

तर जब यो पार्टी समेत अस्ति भर्खरै फुट्यो, म शतप्रतिशत विश्वस्त भएँ– यो कम्युनिस्ट पार्टी नै हो । आहुतिलाई कम्युनिस्ट पार्टी बनाउन (वा भनौं, फुटाएर कम्युनिस्ट प्रमाणित गर्न) सफल भएकामा बधाई छ । अब उनी तपाईंसँग समाजवादी मोर्चा या यस्तोउस्तो केही नाम दिएर मिल्न आए हुन्छ । फुट्ने कसरी, विप्लवसित सिक । मिल्ने कसरी, विप्लवसितै सिक । अब धेरैवटा गुरु थापेर हिंड्ने समय कहाँ छ र ?

त्यसैले तपाईं लेखनाथ न्यौपानेका कुरामा ध्यान नदिनुहोस् । दीपशिखा र रञ्जित तामाङ जस्ता काँचा केटाहरुलाई त झन् सुन्ने होइन । चुनावका बेला कुदाउने बेला युवा खोज्ने हो, बहस–सहसमा होइन । फेरि उनीहरुले ट्याप्प समाएर आलोचना गर्नका लागि तपाईंले केही डकुमेन्ट लेखेको हुनुपर्‍यो नि ! न पेश भयो प्रतिवेदन, न भयो आलोचना । आलोचनात्मक चेत इज् ब्लोइङ इन् द विन्ड ।

कमरेड प्रचण्ड, तपाईं यति बेला देशका सम्माननीय प्रधानमन्त्री पनि हुनुहुन्छ । तपाईंले उद्घाटन शिलान्यासमा जति उर्जावान् भएर समय दिनुभएको छ, यो स्तुत्य छ । तपाईंसँग पार्टी र आन्दोलनका बारेमा सोच्ने समय छैन । त्यो वर्षमान पुन र जनार्दन शर्माहरुको काम हो । ती पनि अभागी रहेछन् (एक किसिमले भाग्यमानी पनि) । आधा जीवन प्रचण्डले जुधाएर बिताइदिए, आधा जीवन पुष्पकमल दाहालले । झन् हिजोआज के के जाति काण्डमा नाम जोडेर मान्छेले हैरान पार्छन् । हुँदाहुँदा तपाईंले नै अस्ति कीर्तिपुर अडिटोरियममा गएर ‘रैथाने माओवादी ले मलाई धन्यवाद दिएनन्’ भन्दै विलाप गर्न पुग्नुभयो ।

तपाईं चिन्ता नगर्नुहोस् प्रचण्ड कमरेड । उनीहरुले धन्यवाद नदिएर के भयो, हामी जस्ता अनाडी जनताले धन्यवाद दिएकै छौं । प्रतिवेदन आएको भए त्यसैका वरिपरि लामा विमर्श हुन्थे । २०७२ सालको मंसिरमा हेमराज भण्डारीले ६ हजार शब्द लामो काउन्टर प्रतिवेदन लेखेर आच्छुआच्छु पारेजस्तो अहिले कोही सद्दे बचेको पनि छैन । अहिले कुन प्रतिवेदनमाथि आलोचना गर्ने ? किनकि प्रतिवेदन न आएकै छैन । त्यसै बैठक बसेको बस्यै छ ।

त्यसैले बैठक हलभन्दा बाहिरैबाट मेरो एक किस्ता धन्यवाद प्रचण्ड कमरेड । बैठक यसरी नै बस्ने हो । कांग्रेस पो बुर्जुवा पार्टी हो, जहाँ उठेको बसेको आएको गएको सबै लाइभ हुन सक्छ । आदर्श लोकतन्त्र त्यो हो, जहाँ भ्रष्टाचार दुराचार समेत खुलमखुल्ला हुन्छ ।

क्रान्तिकारी पार्टीले लाइभ गर्ने होइन । अनुशासनसँगै गोपनीयताको शपथ खाएर, खुवाएर ‘नयाँ नेपाल’ को यात्रा (सरी है, यो पुरानो शब्द सम्झाउन पुगेकोमा) मा सवार हुनुहुन्छ तपाईं । चुनवाङदेखि लाबाङसम्म, पालुङटारदेखि कामीडाँडासम्म, हरिसिद्धिदेखि खरिपाटीसम्म लम्बेतान बैठकमा अनेक प्रतिवेदन आए, त्यसले जनताको जीवनमा केही फरक पर्‍यो ? तपाईं नै भन्नोस्त – परेन ।

त्यसैले बाँकी समय उद्घाटन, शिलान्यास लगायत जनताका महत्वपूर्ण समस्यामा लगाउने हो, प्रतिवेदन गफसफ बुद्धिविलास आदिमा बिताउने होइन ।

यति भन्दै मेरो पत्र यहीं बिट मार्न चाहन्छु । वीर शहीदहरु अमर रहुन् । विचार र एजेन्डा बेगरको केन्द्रीय समिति सफल रहोस् । विचारभन्दा माथि देश हुनैपर्छ । आखिर केही गर्न नसकेपछि के गर्ने त ? सबैभन्दा महत्वपूर्ण प्रश्न नै यही हो– केही गर्न नसकेपछि के गर्ने त ?

बाँकी दिनका बैठक यसैगरी सफल रहुन् कमरेड । सबैले मनलागी बोलुन्, एकशब्द नलेखियोस् । हाइटेक जमानामा इतिहास लेखिंदैन, बोलिन्छ ।
वक्ताहरुको पंक्तिमा लामबद्ध होऔं ।

धन्यवाद कमरेड प्रचण्ड ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?