+
+

धनुषामा नागरिकता लिन सास्ती, दिनभर लाइन लागेर रित्तै हात फर्किनुपरेको गुनासो

संशोधित नागरिकता ऐनअनुसार असार १० गतेदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउन थालेका छन् । जसले जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । तर नागरिकता बनाउन निकै कष्ट भोगिरहेको सेवाग्राहीहरु बताउँछन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० साउन १९ गते ८:५७
जिल्ला प्रशासन कार्यालय धनुषामा ममता साह

१९ साउन, जनकपुरधाम । ‘सर यी फाइल कनि देखदियौन । बौवा लक कतेक दिन एहन रौदमे आउ, परेसान भगेल छी’ नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धनुषा आएकी ममता साह कर्मचारीसित मैथिली भाषामा बिन्ती गर्दै थिइन् ।

एक हातले ६ महिनाको छोरी काखमा लिएकी उनले अर्को हातमा नागरिकता लिनका लागि तयार पारेको कागजात सहितको फाइल लिएर पटक–पटक बिन्ती गरिरहिन् । आइतबार साँझ सवा ५ बजे कोठा नम्बर १ मा खरिदार उपेन्द्र रायलाई यसरी बिन्ती बिसाउनेमा ममतासँगै ५/६ जना अरु पनि थिए । खरिदार रायले कसैको कुरा सुनेझैं गर्थे, कसैलाई टाइम सकियो भोलि आऊ भनेर फर्काउँथे । काखमा छोरी च्यापेर बिन्ती गरिरहेकी ममताको कुरा पनि उपेन्द्रले सुनेनन् ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आउनेहरुले पहिले अधिकृत कर्मचारीलाई भेटेर फाइलमा तोक लगाउनुपर्छ । त्यसपछि १ नम्बर कोठामा नागरिकता बनाउन कागजात जाँच र सनाखत गरिन्छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ कुम्हरौल टोलकी ममता पति भोगेन्द्र साहसँगै नागरिकता बनाउन आइतबार बिहानै ९ बजे नै कार्यालय पुगेकी थिइन् ।

चर्को घाममा खचाखच भिडको लाममा उनी पनि थिइन् । तर झ्यालसम्म नपुग्दै कार्यालय समय सकियो । कर्मचारीहरु उठेर हिँड्न थालेपछि निराश ममताले आफ्नो समस्या बुझिदिन्छन् कि भनेर कर्मचारी उपेन्द्र रायलाई भेटेकी थिइन् ।

त्यसअघि शुक्रबार दिनभर लाइन बसेर ६ नम्बर कोठाका अधिकृतबाट ममताले निवेदनमा तोक लगाएकी थिइन् । ‘धेरै गर्मी छ । बसमा चढेर आउनुपर्छ, बच्चा रुन्छ । आज दिनभर लाइन लागेँ । झ्याल नजिक नपुग्दै टाइम सकियो भनेर कर्मचारी उठेर हिँडे’, उनले गुनासो गरिन्, ‘बच्चा बोकेको मान्छेलाई कमसेकम कर्मचारीले विचार गरिदिनुपर्यो । यसरी कति दिन बच्चा लिएर गर्मीमा आउनु जानु ?’

सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले शिशुकी आमा र गर्भवतीलाई सहज व्यवस्था गरेको दाबी गरे । तर उनले भनेजस्तो देखिएन ।

नागरिकता लिन १ नम्बर कोठामा फाइल पेश गरेका २१ वर्षीय रामदुलार महतो पनि प्रशासन कार्यालय धाउन थालेको चार दिन भयो । मिथिला नगरपालिका–२ का रामदुलार आइतबार साँझ साढे ५ बजे कार्यालयमा भेटिँदा निराश र चिन्तित थिए । तर कर्मचराीले उनको फाइल नै छैन भनेर फर्काए ।

आइतबार चौथो दिन उनी मध्याह्न १२ बजे फेरि जिल्ला प्रशासन कार्यालय पुगे । सेवाग्राहीको चाप थियो । पटक–पटक कर्मचारीलाई फाइलको लागि गुहारे, अरु दिनजस्तै वास्तै गरेनन् । उपल्लो तहका कर्मचारीलाई गुनासो नगरेसम्म फाइल दिँदैनन् भन्ने लागेपछि दिउँसो ३ बजे उनी सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीको कार्यकक्षमा पुगे ।

केशरीले ‘एक छिनपछि दिन्छ’ भनेर आश्वासन दिए । चार बजेसम्म फाइल नपाएपछि उनी फेरि रामदुलार केशरीकोमा पुगे । ‘केहीबेरमा बोलाएरै दिन्छन्’ भनेर फर्काए । एक घण्टा कुरे, तर कर्मचारीले बोलाएनन् ।

५ बजेपछि कर्मचारीहरु निस्किन थाले । सवा ५ बजे उनी फेरि सहायक प्रमुख जिल्ला अधिकारी केशरीसमक्ष पुगे । ‘म आफैं आउँदै छु’ भन्ने आश्वासन दिए । एकछिनपछि सप्रजिअ केशरी आफैं बाहिर आए ।

‘मैले आग्रह गरेँ, सर भन्दिनुस् न कर्मचारीलाई खोजेर दिन’ रामदुलारले दुखेसो पोखे ‘उहाँले खोज्दै होला भनेर हिँड्नु भयो । फाइल कसैले दिएनन् । भित्र कर्मचारीसित सोध्दा फाइल छैन भन्छन् ।’

रामदुलारले नागरिकता बनाउन चाहिने सम्पूर्ण कागजात पुर्याएर १९ असारमै निवेदन दिएका थिए । उनका बुबा शिवजी महतोको जन्मसिद्ध र आमा फुलकुमारीको वंशजको नागरिकता छ । नागरिकता ऐन संशोधन भएर जन्मका आधारमा नागरिकता पाएका नेपालीको सन्तानलाई वंशजको नागरिता दिने कानुनी व्यवस्था भएपछि उनी नागरिकता लिन गएका थिए । धेरै दिन त उनी लाइन लागेर झ्यालसम्म नपुगी घर फर्किनुपर्यो ।

‘चार दिनदेखि कर्मचारीहरु भन्छन्, भोलि आउनुस् हामी खोजेर दिन्छौं । दैनिक आउँछु तर भन्छन् तपाईंको फाइल भेटिँदैन,’ रामदुलारको प्रश्न छ ‘उसो भए मेरो फाइल के भयो ? मैले त यही कोठामा कर्मचारीलाई बुझाएको थिएँ ।’

नागरिकता बनाउन ममता र रामदुलारले जस्तै सास्ती खेपिरहेका छन् मिथिला नगरपालिका २ नक्टाझिजकै १८ वर्षीय रामएकवाल महतोले ।

साउन ९ गते नै सनाखत गरेर रेकर्ड भिडाउन उनले कोठा नम्बर १ मा फाइल बुझाएका थिए । कर्मचारीले भनेअनुसार तीन दिनपछि कार्यालय पुगे । कोठाबाहिर लाइन लागे, झ्यालसम्म पुगेपछि कर्मचारीले यो कोठामा फाइल नै छैन भनेपछि फर्किए । आइतबार मध्याह् १२ बजे बल्ल उनको फाइल भेटेको कर्मचारीले सुनाए । त्यही फाँटमा बस्ने खरिदार उपेन्द्र रायले यसमा कसको हस्ताक्षर गरायौं भनेर धम्क्याएको रामएकवालले बताए ।

‘मैले बुझाएपछि ५ दिनपछि फाइल दिनुभयो । त्यसमा कसले हस्ताक्षर गर्यो मलाई के थाहा । कोबाट सही गरायौ भनेर उल्टै झर्किनुभयो । आज मेरो पालो छ, गरिदिन्छु भन्नुभयो, त्यसपछि फाइल पुनः राखेर काम हुँदैन जा भन्नुभयो’ रामएकवालले कर्मचारीको व्यवहार सुनाए, ‘त्यसपछि भोलि आऊ, आज काम हुँदैन भन्नुभयो ।’

उनी कक्षा १० मा धनुषाधामको जनता टेक्निकल स्कुलमा पढ्छन् । नागरिकता बनाउन पढाइ छाडेर प्रशासन कार्यालय धाइरहनुपर्दा उनी खिन्न छन् ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार धनुषा जिल्लामा मधेश प्रदेशकै सबैभन्दा धेरै जनसंख्या छ । तर धेरै जनसंख्या भएको यही जिल्लामा इलाका प्रशासन कार्यालय दुई वटा मात्र हुँदा समस्या भएको उनी बताउँछन् ।

संशोधित नागरिकता ऐनअनुसार असार १० गतेदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउन थालेका छन् । जसले जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । तर नागरिकता बनाउन निकै कष्ट भइरहेको सेवाग्राहीहरु बताउँछन् ।

नागरिकता पाउन निवेदन दिएपछि अधिकृतले तोक लगाउने, त्यसपछि सनाखत गर्ने, निर्णय गर्ने, कम्प्युटरमा जाने, कम्प्युटरबाट अभिलेखमा जाने, अभिलेख राखेर वितरण गर्ने प्रक्रिया पूरा गर्नुपर्छ । नागरिकता बनाउन चाहिने कागजातको विषयमा प्रशासन र स्थानीय तहको वडाको तालमेल नहुँदा सेवाग्राहीले झनै सास्ती भोग्न बाध्य छन् ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल कागजात नपुर्याउँदा केही सेवाग्राहीले दुःख पाएको स्वीकार गर्छन् । ‘नागरिकताका लागि आउँदा ल्याउनुपर्ने कागजातहरु त्यही दिन ल्याइपुर्याउँदैनन् । कहिले एउटा कागजात छोड्या छ, कहिले अर्को कागजात पुग्दैन’, प्रमुख जिल्ला अधिकारी दाहाल भन्छन्, ‘हामीले पालिकाहरुलाई भन्न त भनेका छौं । वडाहरु त्यसमा अलि सक्रिय हुनुपर्छ ।’

तर सोधेको कुरा कर्मचारीहरुले स्पष्ट नभनिदिने र झर्केर बोल्ने गरेको गुनासो सेवाग्राहीको छ ।

दैनिक १९० निवेदन५० जनाले पाउँछन् नागरिकता

जिल्ला प्रशासन कार्यालय धनुषामा १० असार १२ साउनसम्म मात्र १ हजार ४१८ जनाले नागरिकता पाएका छन् । प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार त्यस अवधिमा नागरिकता लिन ५ हजार ५०६ जनाले निवेदन दिएका छन् ।

यो तथ्यांकले दैनिक करिब १९० जनाले नागरिकताका लागि निवेदन दिने गरेका छन् भने करिब ५० जनाको मात्र नागरिकता बन्ने गरेको देखिन्छ ।

इलाका प्रशासन थोरै हुँदा समस्या छ : प्रजिअ दाहाल

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार धनुषा जिल्लामा मधेश प्रदेशकै सबैभन्दा धेरै जनसंख्या छ । तर धेरै जनसंख्या भएको यही जिल्लामा इलाका प्रशासन कार्यालय दुई वटा मात्र हुँदा समस्या भएको उनी बताउँछन् ।

समस्या र समाधानका उपायबारे प्रजिअ दाहालको भनाइ जस्ताको तस्तै–

धनुषाको जनसंख्या मधेश प्रदेशकै सबभन्दा बढी छ । तर इलाका प्रशासन कार्यालय एउटामात्र छ । महोत्तरीमै तीनवटा इलाका प्रशासनसहित चारवटा युनिटले काम गरिरहेका छन् । हामीकहाँ मात्र दुईवटा युनिट छ ।

हाम्रो पूर्वाधार पर्याप्त छैन, भवन सानो छ । सेवाग्राहीमैत्री बनाउन सकिएको छैन । यसपालि बजेट आए पनि बनाउन २÷३ वर्ष बन्न लाग्छ । जनशक्ति थप्नका लागि पनि संरचनाकै अभाव छ । सेवाग्राहीलाई बस्न व्यवस्था गर्न सकिएको छैन ।

धनुषामा थप दुईवटा इलाका प्रशासन कार्यालय व्यवस्था गर्न हामीले निर्णय गरेर गृहमा पठाइसकेका छौं । धनुषाधाम वा ढल्केबरमा इलाका प्रशासन कार्यालय राख्नुपर्छ । इलाका प्रशासन कार्यालय थप गर्नेवित्तिकै त्यहाँ मालपोत र नापीको काम पनि हुन्छ । त्यसबाट मानिसलाई सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुन्छ ।

अहिले भएकै जनशक्तिले हामी त्यसलाई सञ्चालन गर्न सक्छौं । स्थानीय पालिकाको जनशक्तिले पनि सहयोग गर्नुपर्छ । हामीसँग चारजना अधिकृतको दरबन्दी छन् । दुईवटा इलाका प्रशासन कार्यालय स्थापना भयो भने दुईजना अधिकृत जान्छन् । केही नासु, खरिदार, कम्प्युटरका स्टाफ जान्छन् । त्यति भएपछि नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी सिफारिसको काम त्यहीँबाट हुन्छ । सेवाग्राहीले दुःख झेल्नुपर्दैन ।

भीड बढ्नुको कारण हालै एसईईको रिजल्ट आइपुग्यो । पास भएका सबैलाई नागरिकता बनाउनुपर्यो । लामोसमय पश्चात जन्मसिद्धका सन्तानले नागरिकता पाउने बाटो खुलेको छ । त्यसकारण पनि भिडभाड बढी छ ।

डेस्क थपिदिन पालिकाहरुलाई सहयोग गरिदिन आग्रह गरेका छौं । नागरिकता, राष्ट्रिय परिचय पत्र, मिटरब्याज पीडितको छलफल, विभिन्न सिफारिस प्रमाणित गर्ने काम एकै ठाउँमा हुँदा भीड बढेको छ । भीड कम गर्ने उपाय इलाका प्रशासन कार्यालय नै हो ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?