+
+

भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १०:१२

२१ साउन, काठमाडौं । भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन् ।

नेपालले पहिलो पटक नेपाली महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो । यसअघि कुनै पनि भूमिकामा विदेशी प्रशिक्षकले नेपाली महिला क्रिकेट टोली हेरेका थिएनन् ।

अगष्ट २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा आवद्ध भएकी उनी काठमाडौं आएकी छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार बिहान आफ्नो सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएको हो ।

क्यानले प्रारम्भिक छनोट अन्तर्गत २४ सदस्यीय टोली बन्द प्रशिक्षणमा सकेको छ । हाल महिला टिमको प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् (राखेप) का क्रिकेट प्रशिक्षक स्यामसन जंग थापाले टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् ।

देविकाले भारतबाट एक महिला टेस्ट र १५ महिला ओडिआई खेल खेलेकी छन् । उनी गत वर्ष भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लूपीएल)मा मुम्बई इन्डियन्सको महिला टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा समेत काम गरेकी थिइन् ।

नेपालले अगष्ट २८ देखि ९ सेप्टेम्बरसम्म छनोट खेल खेल्नेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् भने समूह ‘बी’ मा, चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् ।

प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?