
काठमाडौं । विपिन कार्की, धीरज मगर र सुहाना थापा स्टारर फिल्म ‘एक भगवत् गीता’को छायांकन सकिएको छ । शनिबार कास्कीको धम्पुसमा ६० औं दिनमा इन्ड–कल्याप भएको हो ।
अधिकांश छायांकन कास्की र जनकपुरमा गरिएको थियो । पछिल्लो पटक कास्कीको घाहाचोकमाथिको खुमाइडाँडा र धम्पुसमा छायांकन गरिएको थियो । भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको प्रदर्शन मिति निकट भएकाले प्रवर्द्धनका लागि निर्मातालाई सकसपूर्ण हुने देखिन्छ ।
‘छायांकन सकिएसँगै अब रिलिजमा केन्द्रित हुनेछौं,’ निर्माता सुनिलकुमार थापाले अनलाइनखबरसँग भने, ‘फिल्मको क्यानभास ठूलो पनि भएको र रिलिजको मिति पनि नजिक भएकाले हतारो र गाह्रो भइरहेको छ ।’ तर पनि फिल्मको निर्माणलाई लिएर आफूहरु उत्साहित रहेको सुनिलले सुनाए ।
दुई दशकपछि सोही शीर्षकमा ‘हामी तीन भाइ’को छायांकन
मधुसुदन भट्टराईको निर्देशन फिल्म ‘हामी तीन भाइ’को छायांकन सुरु भएको छ । शनिबार मकवानपुरको चित्लाङबाट सुरु भएको यो मल्टिस्टारर फिल्मको शीर्षकमाथि दुई दशकअघि शिव रेग्मीले पनि फिल्म बनाएका थिए ।
शीर्षक उही भए पनि फरक कथावस्तु र टिमलाई लिएर भट्टराईले फिल्मको निर्माण थालेका हुन् । साजित महत प्रस्तुतकर्ता रहेको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा र विष्णु सापकोटाको फिल्ममा अभिनय छ ।
पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सहनिर्माता छन् ।
प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्ममा शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पार्श्व संगीत, मिक्सिङ मुकेश शाह, भीएफएक्स समिर मियाँ र सम्पादन बनिष शाहको रहनेछ ।
प्रतिक्रिया 4