 
																						आक्रमण भएको अघिल्लो सातासम्म पनि रुसले युक्रेनमाथि हमला गर्छ भन्ने धेरैले पत्याएका थिएनन् । ह्वाइटहाउसको पटक पटकको चेतावनीका बाबजुद रुसी सेनाले युक्रेनतर्फ मार्च बढाइसकेको थियो । तथापि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपको ठूलो राज्यलाई हायलकायल बनाउने आँट गर्छन् भन्ने कुरा धेरैले स्वीकारेका थिएनन् ।
रुसले युक्रेनमा हमला गर्दैन भन्नेमा युरोपेली र अमेरिकी नेताहरु निकै आत्मविश्वासी देखिन्थे । हमलाको १६ दिनअघि फेब्रुअरी ८ मा फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँले भनेथे, ‘पुटिनले युक्रेनसँग तनाव बढाउने काम गर्ने छैनन् ।
‘युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्किले जनवरीको अन्त्यमा भनेका थिए, ‘युक्रेनमा रुसी हमलाको बाइडेन प्रक्षेपण केबल आतंक मात्रै हो ।’
रुसले हमला नगर्नेमा सबैभन्दा बढी आत्मविश्वासी जर्मनी थियो । रुसले युद्ध छेडेकै दिन जर्मनीका जासुसी निकायका प्रमुख युक्रेनको किभमा थिए । उनलाई जर्मनीका सुरक्षाकर्मीले त्यहाँबाट उद्दार गरेका थिए ।
रुसले छिमेकमा गर्ने आक्रमणको अनुमानमा मात्र विश्वका अधिकारीहरु चुकेका भने होइनन् ।यस्ता धेरै उदाहरणहरु छन् सन् १९७३ मा इजरायली नीति निर्माताहरुले इजिप्टका राष्ट्रपति अनवर सादतले सिनाइमा आक्रमण नै गर्न नसक्ने जिकिर गरेका थिए । इजिप्टको हवाइ सेनाले उनीहरुको क्षेत्रभन्दा बाहिर केही गर्न नसक्ने आँकलन थियो ।
यता, सन् १९७९ मा अमेरिकी राष्ट्रपति जिमी कार्टरले चीनका नेता देङ् स्याओ पेङले भियतनाममा आक्रमण गर्ने कुरा पत्याएकै थिएनन् । सन् १९९१ मा इराकले कुवेतमा आक्रमण नै नगर्ने अमेरिकी विश्वास थियो । छिमेकीमाथि आक्रमणको दुस्साहसलाई पूर्वानुमान गर्न नसक्नुका पछि एउटा कारण छ ।
प्रक्षेपणका निम्ति नीति निर्माताहरु तर्कसंगत कुरा गर्छन् । उनीहरु उपलब्ध जानकारीलाई सावधानीपूर्वक केलाउँदै तौलिएर आफ्ना निष्कर्ष प्रस्तुत गर्छन् । यो अवधारणा अन्तर्गत विश्लेषण गर्दा उनीहरुले अधिनाकवादीको चरित्र र व्यवहारको परिणामको प्रक्षेपण गर्न चुक्छन् ।
यो अन्तर्दृष्टिले के कुरा प्रष्ट्याउँछ लोकतान्त्रिक मुलुकले अधिनायकवादी शासकको कार्यशैलीको विश्लेषण तरिका परिवर्तन गर्न जरुरी छ । अझ विशेष गरी ताइवानबारे चीनको योजनाबारे उनीहरु निकै सचेत हुन जरुरी छ ।
ताइवान हत्याउनका लागि चीनले इतिहासकै भीषण संघर्ष गर्नुपर्ने र यसको असरको लेखाजोखा चिनियाँ राष्ट्रपति सी जिनपिङले राम्रैसँग गरेको हुनाले चीनले ताइवानमा आक्रमण गरिहाल्ने संभावना कमै रहेको नीति निर्माताहरुको विश्लेषण छ । उनीहरु सीलाई निकै बौद्धिक पनि मान्छन् ।
तर यथार्थ उनीहरुले सोचेभन्दा पृथक पनि हुनसक्छ । पुटिनले युक्रेनमाथि हमला गरेझैँ सीले ताइवानमा आक्रमण नगर्लान् भन्ने स्थिति छैन । आफूले ताइवानमा आक्रमण गरिहाले अमेरिका र उसका समर्थक ताइवानको बचाउमा चीनविरुद्धको रक्षापंक्तिमा खडा नहुने विश्वास सीको हुनसक्छ । सी र नीति निर्माता दुबैका यस्ता विश्वास घातक रुपमा गलत छन् ।
तर्क र तथ्य
विश्लेषकहरु तर्कसंगत मोडमा निकै नै आकर्षित छन् । एउटा राज्यले अर्को माथि गर्ने कुनैपनि ज्यादतीले करोडौँ मानिस प्रभावित हुन्छन् । उनीहरुले लिने सही निर्णयले भने अन्तर्राष्ट्रिय प्रणालीमै सुधार आउनसक्छ । कुनैपनि निर्णय लिनुअघि नेताहरुले त्यसको लागत र लाभ तौलिने विश्लेषकहरुको विश्वास हुन्छ ।
यद्यपि, निर्णय लिने अवस्थामा व्यक्तिगत बौद्धिकताको सीमितताबारे विश्लेषकहरुले ख्याल गरेको पाइँदैन । उदाहरणका लागि नेताहरुले निर्णय लिँदा त्यसको असरको सबै पाटो ख्याल गरेको पाइँदैन । हरेक विकल्पको फाइदा र मूल्यको लेखाजोखाका लागि उनीहरु संघर्षरत हुन्छन् । कुनै पनि परिस्थितिमा कुन कारण सान्दर्भिक छ भनेर निर्क्यौल गर्ने काम निकै नै कठिन पनि हो ।
विश्लेषणको तर्कसंगत मोडलले के विश्वास गर्छ भने कुनै पनि निर्णयको वस्तुनिष्ठ आधार हुन्छ र त्यसैको आधारमा निर्णय लिइन्छ । यद्यपि, विभिन्न नेताका विभिन्न प्राथामिकता हुन्छन् । क्युबाको मिसाइल संकट यसको गतिलो उदाहरण हो ।
राजनीतिशास्त्री जोनाथन रेन्सनले आणविक हतियार क्युबामा राख्ने कुरालाई अमेरिकाले अनुमान गर्न नसकेको खुलाए । क्युबामा हतियार राख्दाको जोखिमले रुसले पनि आफूहरुले झैँ अनुमान गरेको अमेरिकी विश्वास रहेको रेन्सनको भनाइ थियो ।
ठ्याक्कै यस्तै परिस्थिति सन् १९८९ मा देखिएको थियो । अमेरिकी जासुसी संयन्त्रले इराकले कुवेतमा हमला नगर्ने बतायो । सद्दाम हुसेन अलि आक्रामक देखिए पनि हमला भने नहुने उसको प्रक्षेपण थियो । इरानमा गरेको सैन्य कारबाहीले इराकको स्थिति ऋणात्मक रहेकाले हमला नहुने अमेरिकी जासुसी संयन्त्रको बुझाइ थियो ।
यता, ऋणात्मक स्थितिमा रहेको इराकलाई लयमा फर्काउनका लागि कुवेतका तेल खानी कब्जाको विकल्प मात्रै सद्दाम सामु बाँकी थियो । कुवेतका तेल खानी कब्जा गरेर आफ्नो सत्ता जोगाउने दाउमा थिए उनी । इरानमा जित हासिल गरेको उन्मादले पनि सद्दामको आत्मविश्वास ह्वात्तै बढेको थियो । कसैले सहयोग नगरे पनि कुवेतमा जित हात पार्नेमा सद्दाम ढुक्क थिए र बाहिरी दबाब थेगेरै हमला गर्ने निष्कर्षमा उनी पुगे ।
विश्लेषणको व्यवहारिक दृष्टिकोण
तर्कसंगत विश्लेषणका कमजोरीपछि राजनीतिशास्त्रीहरुले व्यवहारिक मोडल अघि सारे । कुन राष्ट्रले विश्वका अन्य राष्ट्रप्रति कस्तो दृष्टिकोण राख्छ भन्ने लेखाजोखा यसले गर्थ्यो ।अनुसन्धानकर्ताहरुले व्यक्तिको स्वभाव, व्यक्तिको भावना लगायतका कुराले निर्णयमा प्रभाव पार्ने अवधारणा अघि सारे ।
उदाहरणका लागि स्वमूल्यांकन । यसले मानिसको भावना र स्वभावको नियमन गर्न सघाउ पुर्यािउँछ । यसले आफ्नो प्रतिस्पर्धीको भावना र स्वभावको मूल्यांकन गर्दै निर्णय लिन पनि नेताहरुलाई सघाउँछ ।
रक्षात्मक स्थितिबाट परै रहन चाहने नेताहरु तनाव वा त्रास बढाउने सूचनाबाट टाढै बस्न रुचाउँछन् । व्यक्तिगत भावनाले पनि संभावित खतरामा लिनुपर्ने निर्णयका लागि नेताहरुलाई तयार पार्छ । उदाहरणका लागि संकटका समयमा व्यक्तिगत भावनाका कारण नेताहरु अधिक लापरबाह वा रुढिवादी वा बौद्धिक बन्ने विश्लेषणको यो अवधारणाको मान्यता छ ।
व्यक्तिगत भावनाको बुझाइले पनि तानाशाहीहरुले भविष्यमा लिनसक्ने संभावित निर्णयमा सहयोगी बन्ने यो अवधारणाको विश्वास छ । निकिता ख्रुसेभको व्यक्तिगत भावना र स्वभावबारे जानकार भएको भए अमेरिकाले उनको नियत बुझेर सही विश्लेषण गर्न सक्थ्यो ।
यस्तै सद्दाम कुन कुराले कुवेतमा हमला गर्नका लाग उद्दत छन् वा उनलाई प्रोत्साहन मिलेको छ भन्ने कुराको विश्लेषण अमेरिकाले सही रुपमा गर्न सक्थ्यो । तर सत्य कुरा के हो भने व्यक्तिगत भावना बुझ्ने कुरा निकै कठिन छ ।
कुन नेताले कस्तो व्यवहार गर्छ वा निर्णय लिन्छ भन्ने प्रक्षेपणका लागि विश्लेषणको धेरै मोडल फेल भएका छन् । तर अधिनायकवादीहरुको प्रक्षेपणका लागि सबै मोडल फेल भएका छन् ।
लोकतान्त्रिक प्रक्रियामाझैँ शासकको गलत निर्णय रोक्नका लागि अधिनायकवादी शासनमा शक्तिपृथकीकरणको सिद्धान्तले काम गर्दैन । अधिनाकवादी शासकले अरुका कुरा साह्रै कम सुन्छन् । उनीहरुको नियत धेरै कमले मात्रै बुझ्छन् ।
पुटिनकै सवालमा पनि धेरै कमलाई मात्र उनले युक्रेनमा हमला गर्छन् भन्ने जानकारी थियो । पुटिन र उनका सैन्य अधिकारीहरु युक्रेनमा जित हात पार्नेमा निर्धक्क थिए । किभमा जितको परेडका लागि सेनाहरुलाई पोशाक प्याक गर्न भनिएको थियो ।
अनपेक्षित कुराको अपेक्षा
अप्रत्यासित वा अनपेक्षित कुराहरुको बारेमा विश्लेषण गर्ने तरिका पनि छन् । यसको पहिलो अवधारणा भनेको उस्तै प्रकृतिका वा स्वभाव भएका व्यक्तिले संसारभर गरेका गल्तीका आधारमा विश्लेषण गर्नु हो । उदाहरणका लागि रूसले नेटो राज्यमा हमला गर्ला त भन्ने विश्लेषणका लागि उनीहरुले प्रत्येक कार्यको सम्भावनालाई मूल्यांकन गर्छन् ।
अन्तमा उनीहरुले विश्लेषणका लागि पश्चिमा दायरामा उत्पन्न प्रतिक्रियाको सहारा लिन्छन् । विश्लेषणको जस्तोसुकै उत्तम अभ्यासले पनि विरोधीहरुले गर्ने गल्ती पत्ता लगाउन सक्दैन ।
त्यसैले राजनीतिज्ञहरुले यस्तै अनपेक्षित सम्भावनाको सूचनाका लागि जासुसी संयन्त्रको सहारा लिन्छन् । जासुसी विश्लेषकहरुले संकेत पत्ता लगाउनका लागि खप्पिस नै हुन्छन् ।
अमेरिकाको जासुसी संयन्त्रले सन् २०२१ र २०२२ मा यसलाई प्रमाणित नै गरेको छ । रुसले युक्रेनमा हमला गर्दैछ भन्ने उनीहरु नै थिए । ताइवानको सन्दर्भमा समेत सायद उनीहरुले यस्तै केही सूचना ल्याउन सक्छन् ।
नीति निर्माता वा विश्लेषकहरुले भन्न सक्छन् कि चिनियाँ जनतामा पर्ने प्रभावका कारण उनले ताइवानमा हमला गर्ने छैनन् तर उनीहरुले सीको मनोविज्ञान बुझ्न जरुरी छ । यदि सीलाई ताइवानको टापु हत्याउनु नै छ भने उनले कुनै कसर बाँकी नराख्न पनि सक्छन् ।
सीको नियत बुझ्नका लागि चीनको सैन्य र आर्थिक योजना निकै सुक्ष्म रुपमा अध्ययन गर्न जरुरी छ । सैन्य शक्ति वा जनशक्तिको बृहत्तररुपमा बढेको छ भने सीले ताइवानबारे केही सोचेका हुन सक्छन् । यस्तै, तेल र खाद्यान्न थुपार्ने उनका गतिविधिलाई पनि पश्चिमाहरुले उत्तिकै विश्लेषण गर्न जरुरी छ ।
तर विश्लेषकहरु के कुरामा सचेत हुन जरुरी छ भने अधिनायकवादीहरुको चरित्र नै अनपेक्षित किसिमको हुन्छ । विश्लेषकहरु तर्क तथ्यका आधारमा कुरा राख्छन् तर निर्णयमा व्यक्तिगत भावना र स्वभावले पनि असर पारेको हुन्छ । विश्लेषकहरुको तार्किक मोडलमा मात्रै भर पर्ने हो भने जासुसी संयन्त्रका लागि फरक प्रक्षेपण निकै घातक हुनसक्छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4