+
+

प्रचण्डलाई निर्विकल्प मान्दै सकियो माओवादी बैठक

पार्टीभित्र बहुकेन्द्र होइन, प्रचण्ड नै निर्विकल्प नेता हुन् भन्ने मान्यता पुनर्स्थापित गर्न उनी सफल भएको स्वयं माओवादी नेताहरुको बुझाइ छ ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० साउन २१ गते २१:२७

२१ साउन, काठमाडौं । प्रचण्डकै छायाजस्ता थिए वर्षमान पुन र जनार्दन शर्मा । जे भने पनि, जसो गरे पनि ‘हाँ मा हाँ’ मिलाउँथे । तिनै पुन र शर्माले केही समयदेखि उनीमाथि प्रश्न उठाउन थालेका थिए ।

बुधबारदेखि सुरु माओवादी केन्द्रीय समिति बैठकमा यी दुई जना मिलेर आफूमाथि प्रहार केन्द्रित गर्ने होलान् भनेर अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड त्राहिमाम् थिए । केही साताअघि पार्टीकै विद्यार्थी संगठनको कार्यक्रममा उनले पुन र शर्माप्रति लक्षित गर्दै ‘रैथाने’ साथीहरुबाट साथ नपाएको गुनासो गरेका थिए ।

तर यो केन्द्रीय समिति बैठकमा त्यस्तो केही भएन । अध्यक्षमाथि प्रहारजस्तो लाग्ने ‘नरम स्पर्श’ भयो दुवै जनाको ।

बिमारबाट तंग्रिएका पुन यसै पनि प्रचण्डसँग तङ गर्ने मनसायमा छैनन् । अरु बेला आक्रामक पेश हुने जनार्दन शर्माले त अरुण थापाको विरही गीत सम्झेरै भाषण गरे, ‘आँखा जुधाएर बहस गरें हुँला अध्यक्ष कमरेड, तर कहिले चाहिं साथ दिइनँ मैले ? जति माया लाए पनि, जति कसम खाए पनि । मनमा पीर त पर्ने नै भयो ।’

दुई तीनपल्टसम्म ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड..’ दोहोर्‍याउँदा नेपाल एकेडेमीभित्रको समग्र तप्काले मुठ्ठी उठाएर लालसलाम गरेको थियो । कतिपयले जिन्दावाद जिन्दावाद भनेका थिए । प्रचण्ड यो सबै देखेर मुसुमुसु हाँसेका थिए ।

युद्धकालदेखि नै प्रचण्डमा केन्द्रीकृत हुँदै आएको माओवादी पछिल्ला वर्षहरुमा उपगुटहरुको केन्द्र बन्न पुग्यो भनी चर्चा हुँदै आएको थियो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा पाँच दिनसम्म चलेको बैठकपछि निस्किएका केन्द्रीय सदस्यहरु भन्छन्, ‘उपगुटहरु अध्यक्षलाई चुनौती दिने हैसियतमा देखिएनन् । फेरि पनि उहाँ नै बलियो देखिनुभयो । बाँकी कुरालाई जसरी बुझे पनि भयो ।’

एक माओवादी नेताले बैठकको सार संक्षेप खिचे, ‘केन्द्रीय समिति बैठक भनिए पनि एक किसिमले अगुवा कार्यकर्ता भेलाजसरी सुरु भएको थियो, दस्तावेज पनि अनन्त र प्रभाकरलाई लेख्न लगाएर पाना छाड्दै वाचन गर्नुभयो, अध्यक्षले । हामीले त्यो देख्न नपाए पनि जिल्ला जिल्लाबाट आएका साढे सात सय जना साथीहरुमा जनयुद्धकालीन ऐक्यबद्धताको भाव प्रसार गर्न सफल भइयो । अध्यक्ष नै हाम्रो केन्द्रीय नायक हो भन्ने पुष्टि भयो ।’

ती नेताले भनेझैं बैठक सकिने बेला प्रचण्डको जयजयकार प्रतीत हुने गरी नारा नै लागेको थियो, ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड– लालसलाम ।’

जसले नारा लगाउन सुरु गरेका थिए, खासमा उनी त्रस्त थिए– हलले अनुमोदन गरिदिने हो कि होइन । दुई तीनपल्टसम्म ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड..’ दोहोर्‍याउँदा नेपाल एकेडेमीभित्रको समग्र तप्काले मुठ्ठी उठाएर लालसलाम गरेको थियो । कतिपयले जिन्दावाद जिन्दावाद भनेका थिए । प्रचण्ड यो सबै देखेर मुसुमुसु हाँसेका थिए ।

माओवादी पार्टीभित्र प्रचण्ड यसरी थप बलियो बन्न जानुका पछाडि केही आन्तरिक र बाह्य कारण छन् ।

बाह्य कारण : एक– सरकारको सुशासनमुखी कदम । सुरुमा एमाले समर्थनमा पुस १० गते प्रधानमन्त्री बने पनि डेढ महिनामै कांग्रेससमेतको विश्वास पाउन सफल प्रचण्डले कित्ता बदल्दा सुरुमा आलोचित थिए । त्यसमाथि रास्वपालगायत उदाउँदा शक्तिहरुको चौतर्फी दबाब थियो । प्रतिकूलतालाई प्रचण्डले सुशासनमुखी केही कदम चालेर सम्बोधन गर्न खोजे ।

तत्कालीन गृहमन्त्री रवि लामिछाने नागरिकता र राहदानी विवादमा पदमुक्त भएसँगै उनले गृहमन्त्रालयमा आफ्नै दलका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई ल्याए । श्रेष्ठको उपस्थितिले कार्यकर्ताहरुको छरिएको मनोविज्ञानमा तुरुन्तै प्रभाव छाड्न थाल्यो । माओवादी बैठकमा आफ्नो नेतृत्वले थालेका भ्रष्टाचार छानबिन, कारबाही लगायत विषयको प्रशंसा भयो ।

केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा भन्छन्, ‘जनतामा निराशा बढिरहेका बेला नयाँ सरकारले आशा जगाउने केही कदम जसरी चाल्यो, त्यसले पार्टीबारे जनताको आशा फेरि फर्किने हो कि भन्ने विश्वास बढेको छ । बैठकले अध्यक्ष कमरेडको नेतृत्वमा सरकारले गरेका राम्रा कामहरुको सह्राहना गरेको छ । यो अभियान रोकिनुहुँदैन भन्ने बैठकको निर्देश पनि छ ।’

पुन र शर्मा दुवैले पार्टीलाई विधि प्रणालीमा हिंडाउनुपर्ने, मनोनयन नभई निर्वाचनबाट अघि बढ्नुपर्ने लगायत विषय उठाए । सैद्धान्तिक रुपमा उचित यी प्रस्तावले प्रचण्डलाई तत्काल कुनै जोखिम हात लगाएनन् ।

बाह्य कारण : दुई– राष्ट्रिय राजनीतिमा ‘प्रचण्डको खोजी’ । ४ मंसिर २०७९ को आम चुनावबाट ३२ सिटमा खुम्चिन पुगेको माओवादी केन्द्रकै औचित्य कति भनेर सार्वजनिक रुपमै प्रश्नहरु उठिरहेका थिए । शुक्रबार बोल्ने क्रममा नेता लेखनाथ न्यौपानेले समेत नेपाली कम्युनिस्ट आन्दोलनमा चौथो महाधिवेशनको धारले उठाएका बहसहरुको अब सान्दर्भिकता कति छ भनेर प्रश्न उठाएका थिए ।

न्यौपानेले भने, ‘चौथो महाधिवेशन, अनि त्यसलाई जग मानेर उठेको जनयुद्धको धारा आज वैचारिक संकटमा छ । माओवादी केन्द्रभित्र निकै लामो समयदेखि देखिएको नीतिगत अलमल त्यही वैचारिक संकट अन्तर्गत उत्पन्न भएको छ । यो चुरो समस्या तपाईंले बुझ्नुभएको छ अध्यक्ष कमरेड ?’

आइतबार समापन मन्तव्य क्रममा प्रचण्डले लेखनाथ न्यौपानेलाई विशेष महत्व दिंदै त्यसको सैद्धान्तिक जवाफ दिने कोसिस गरेका थिए ।

त्यस क्रममा प्रचण्डले भने, ‘मैले नबुझेर होइन, प्रतिक्रियावादीहरुको दमन चर्को थियो । माओवादी धारा विघटन हुन सक्छ भन्ने हल्ला चिर्न सजिलो थिएन । डिजिटल प्रविधिमा छलाङ र विश्व राजनीतिको भूमण्डलीकरणले थोपरेका चुनौती नेपालबाट माओवादी पार्टीले मात्रै एक्लै सामना गर्न सक्ने कुरो थिएन । जलवायु संकटदेखि विभिन्न अन्तर्राष्ट्रिय समस्याहरु पैदा भएका छन्, जसको जवाफ अझै पनि मार्क्सवादभित्र खोजिनुपर्छ भन्ने मेरो मत छ । त्यसैले म अल्मलिएको होइन लेखनाथजी, अनुकूल समय कुरेको हो ।’

प्रचण्डले आफूहरु चौथो महाधिवेशन हुँदै आए पनि अहिले समग्र समाजवादी आन्दोलनलाई वैचारिक नेतृत्व दिने ठाउँमा रहेको भन्दै समाजवादी मोर्चा त्यसैको रुप भएको तर्क गरे । उनले तत्काल एमालेसँग मिलाप सम्भव नभए पनि कालान्तरमा उक्त दलसँग समेत विश्वासको वातावरण बनाउँदै नयाँ दिशातर्फ अघि बढ्ने मोटामोटी कुरा गरे ।

आन्तरिक कारण– एक : वर्षमान र जनार्दन एक ठाउँ, तर विवादको केन्द्रमा । विगतमा माओवादीभित्र बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द विप्लव लगायतले अध्यक्ष प्रचण्डमाथि चुनौती खडा गर्दा दोस्रो पुस्ताका वर्षमान पुन र जनार्दन शर्माले जमेर प्रतिरक्षा गर्ने गर्थे ।

प्रचण्ड पक्षधर हुँदाहुँदै उनीहरु आपसी प्रतिद्वन्द्वितामा भने जमेरै लागेका थिए, जसको अन्तरविरोधमाथि प्रचण्डले खेल्ने गर्थे । प्रचण्डको पुरानै स्वभाव हो, भट्टराई र वैद्यबीच खेल्ने । उनीहरु बाहिरिसक्दा प्रचण्ड नयाँ अन्तर्संघर्षका पात्रको खोजीमा थिए । पुन र शर्मा फेला परे, जसको सांगठनिक प्रभाव भुइँतहसम्मै छ ।

यति हुँदाहुँदै पनि प्रचण्डलाई एउटा डर थियो : ‘धोबीघाट २’ सिर्जना हुन सक्ने, जहाँ विपरीत ध्रुवका नेता भट्टराई, वैद्यलगायत समेत आफूविरुद्ध मोर्चाबद्ध हुन सक्थे । यसै पनि पछिल्ला वर्षमा पुन र शर्मा समान बुझाइमा थिए– आफूहरुमाथि खेलेर प्रचण्ड निरन्तर शक्तिसीन बन्न खोजे ।

महासचिव पदमा उनीहरुको दौडकै बीचमा प्रचण्डले अकस्मात् देव गुरुङ प्रवेश गराइदिएपछि भने शर्मा तथा पुन नयाँ ठहरमा पुगे । निकट भएवापत आफूहरुले नै मूल्य चुकाउनु परेपछि उनीहरु एक अर्कालाई परेका ठाउँमा साथ दिने निधोमा पुगे । पछिल्लो केन्द्रीय समिति बैठक त्यस्तै महत्वपूर्ण मञ्च हुन सक्थ्यो, जहाँ पुन र शर्मा दुवैले प्रचण्डलाई कडा प्रहार गर्ने योजना बनाएका थिए ।

ठीक त्यसै बेला विमानस्थलबाट सुन तस्करी प्रकरण सतहमा आयो, जोसँग माओवादी उच्च तहको कनेक्सन समेत छ भन्ने आशंका र धेरथोर सूचनाहरु चुहिन थाले । शंकाको सुई कृष्णबहादुर महरा, वर्षमान पुन लगायत नेताहरुतिरै सोझिएको थियो, जसबारे ठोस सूचना विस्तारै पुष्टि होला, या त उनीहरुले छानबिनमा सफाई पाउलान् । तर जेसुकै भए पनि राज्यशक्तिको बागडोर लिएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डसँग लड्ने उनीहरुको क्षमता स्वतः कमजोर हुन गयो । प्रचण्ड यो बैठकमा तुलनात्मक सहजतासाथ प्रवेश गरेका थिए ।

पुन र शर्मा दुवैले पार्टीलाई विधि प्रणालीमा हिँडाउनुपर्ने, मनोनयन नभई निर्वाचनबाट अघि बढ्नुपर्ने लगायत विषय उठाए । सैद्धान्तिक रुपमा उचित यी प्रस्तावले प्रचण्डलाई तत्काल कुनै जोखिम हात लगाएनन् ।

आन्तरिक कारण– दुई : प्रचण्डलाई नारायणकाजी श्रेष्ठको साथ । युद्ध सकिएपछि पार्टीमा आएको भन्दै नेतृत्व तथा कार्यकर्ता पंक्तिबीच उपेक्षा र कटाक्षको शिकार बन्दै आएका श्रेष्ठ प्रचण्ड सरकारमा तुलनात्मक प्रभावकारी क्षमता देखाउने मन्त्रीका रुपमा चर्चामा छन् ।

सुशासनको अभियान चलाएर पार्टीको साख बढाएको भन्दै उनको माओवादीभित्र प्रशंसा भयो । उनले चाहिं आफूलाई त्यो विश्वास सुम्पेका प्रधानमन्त्री प्रचण्डको साथ दिँदै सरकारले थालेका सही कदमलाई पार्टीभित्र अझै बलियो रुपमा तल्लो तहसम्म लगिनुपर्ने मत राखे । ‘सुशासन र पारदर्शिताको जगबाट मात्रै समाजवादसम्म पुगिन्छ, प्रधानमन्त्रीले यो कार्यभारको नेतृत्व गर्नुभएको छ, सरकारको काममा पार्टीबाट सहयोग हुनुपर्यो’, यसपल्ट बैठकमा श्रेष्ठले भनेका कुरा यस्तै थियो ।

बैठकको अन्त्यतिर आइपुग्दा कतिपय सदस्यले बोल्ने समय नै पाएनन् । तैपनि प्रचण्डको निर्देशनबमोजिम उनीहरुले चित्त बुझाए । महासचिव गुरुङलाई बोल्न बाँकी १५० मध्ये केही केन्द्रीय सदस्यले लिखित मत टिपाएको माओवादीले जनाएको छ । ती सबैलाई मिलाएर प्रचण्डले तुरुन्तै तल्लो तहसम्म सर्कुलर पठाउने आश्वासन दिएका छन् ।

केन्द्रीय समितिमा मनोनयन गर्ने भनिएका २४ महिला सदस्यमध्ये हाललाई २२ को मनोनयन गरिसकेपछि प्रचण्ड बाँकी नेताहरु निर्वाचनबाट नै आउने आश्वासन दिएका छन् । युवाहरुले हस्तक्षेप गर्न खोजे पनि हाललाई प्रचण्डकै बोलवाला भएको छ । माओवादीमा तत्काल रुपान्तरण र पुस्तान्तरणको सम्भावना नरहेको केही नेताहरुले बताएका छन् ।

यति हुँदाहुँदै पनि महाधिवेशनको डेढ वर्षपछि केन्द्रीय समिति डाकेर प्रचण्डले आफू सत्तामा छँदाको प्रभाव समेत उपयोग गर्न सफल भएको पार्टी पंक्तिको बुझाइ छ । माओवादीभित्र बहुकेन्द्र होइन, प्रचण्ड नै निर्विकल्प नेता हुन् भन्ने मान्यता पुनर्स्थापित गर्न उनी सफल भएको स्वयं माओवादी नेताहरुकै बुझाइ छ ।

यद्यपि विगतकै जस्तो ऊर्जा भर्न भने चुनौतीहरु रहेको उनीहरु ठान्छन् । अनि कार्ययोजना बमोजिम तीन महिनाभित्र विधान सम्मेलन, त्यसैले तोक्ने विशेष महाधिवेशनको तिथि भने कार्यान्वयन हुनेमा आशंका गर्छन् ।

यति हुँदाहुँदै पनि नयाँ पुस्तामा आन्तरिक एकता र समर्पणको भावना सिर्जना गर्न प्रचण्ड सफल भएको कतिपय केन्द्रीय सदस्यहरुको बुझाइ छ । माओवादी केन्द्रीय सदस्य रञ्जित तामाङले भने, ‘धेरै पछि पार्टीभित्र रुपान्तरणसहितको अभियान चलाउने भाव आएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान घोषणा गरेका छौं । अध्यक्ष समेत वडासम्म पुगेर संगठनको काममा लाग्ने निर्णयले हामीलाई बलियो र विश्वासिलो पार्टीका रुपमा अघि बढाउने छ ।’

नेतातिर होइन, जनतातिर फर्कने पार्टीको निर्माणमा यो बैठक महत्वपूर्ण खुड्किलो भएको उनले बताए । ‘अन्तर्विरोध नभएको पार्टी हुँदैन’ तामाङले भने, ‘तर हामी यसलाई सकारात्मक दिशातर्फ लैजान सफल हुनेछौं भन्ने विश्वास बोकेर हलबाट निस्केका छौं ।’

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?