+
+

गण्डकी सरकारले खडा गरेका संरचना भूमिका देखाउन अक्षम, पुनर्मूल्यांकनको तयारी

सरकारले पर्याप्त बजेट नदिएको पदाधिकारीको गुनासो

विभिन्न समयमा प्रदेशमा खडा भएका संरचना अहिले स्वयं सरकारलाई बोझ बन्न पुगेपछि मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पुनर्मूल्यांकन गर्ने बताएका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८० साउन २२ गते ९:०३

२२ असार, पोखरा । गण्डकी प्रदेशभरिका ताल र जलाधार क्षेत्र संरक्षण, पुनर्स्थापना तथा प्रभावकारी व्यवस्थापन गरी जैविक विविधता संरक्षण गर्न ताल प्राधिकरण नै बनाउने नीति पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले अगाडि सार्‍यो । २०७५ फागुन २७ गते विधेयक संसदबाट पारित भएसँगै २०६७ फागुनमा डा. अनुप गुरुङ कार्यकारी निर्देशक नियुक्त भए ।

तालको नक्सांकन गर्ने, अतिक्रमण हटाउने तथा रोक्नेसमेत जिम्मेवारी पाएको प्राधिकरणले सधैं विवादमा आइरहने र राजनीतिक स्वार्थअनुसार हतियार बन्दै आइरहने फेवातालको सम्बन्धमा सिन्को भाँच्न सकेन । कास्कीकामात्रै होइन, प्रदेशभरिकै तालको संरक्षणमा प्राधिकरणले काम गरेको महसुस नागरिकले गर्नै पाएनन् ।

डा. अनुपले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सो पदमा कल्पना सापकोटालाई नियुक्त गरेका छन् । तर, ११ महिनासम्म पनि प्राधिकरणले जनताले थाहा पाउने गरी भूमिका नै देखाउन सकिरहेको छैन ।

देवकोटाकै अनुसार उनी आएपछि कार्यकारी समितिलाई पूर्णता दिने र एउटा ‘लेक कन्प|mेन्स’ गर्नेबाहेक कुनै उल्लेख्य काम नै हुन सकेको छैन । तर, प्राधिकरणको नाममा प्रशासनिक खर्च भने भइ नै रहेको छ । अघिल्लो आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा यसपटक २ करोड ३० राख रुपैयाँ विनियोजन भएको छ ।

*** 

संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चर्को विरोधका बाबजुद २०७५ साउन २१ मा हतार-हतार दूग्ध विकास बोर्ड गठन सम्बन्धी विधेयक पारित भयो र बोर्डमा कृषि मन्त्रालयका प्रवक्ता डा. ग्रीष्म न्यौपानेलाई सरकारले सदस्य सचिवको जिम्मेवारी दियो ।

गण्डकी प्रदेशले चीनबाट १० हजार गाई ल्याउने, गण्डकी काउ फार्म चलाउने र दूधमा आत्मनिर्भर बनाउने भन्दै चीनको चाइना एकेडेमी अफ एगि्रकल्चर मेकानाइजेसन साइन्स (सीएएमएस) र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले डेरी विकासबाट गाई ल्याउने भन्दै २०७५ फागुन १७ गते प्रदेश सरकारले सम्झौतासमेत भयो । तर, कुनै व्यक्तिको स्वार्थमा सरकारले कम्पनी खडा गरेर ११ करोड रुपैयाँ दिने निर्णय गरेको भन्दै चौतर्फी आलोचना भयो र सरकार पछि हट्यो ।

बोर्डको उपाध्यक्ष नियुक्त गर्न अघिका सरकारहरुले प्रयास गरे पनि निर्णय हुन सकेन तर निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले जाँदाजाँदै एमाले नेता तथा पूर्व संघीय सांसद तिलक महतलाई उपाध्यक्ष नियुक्त गरे । अहिले महत पोखरा आउँदा गाडी चढ्ने र राज्यमन्त्रीसरहको सुविधा लिनेबाहेक बोर्डको कार्यालयसमेत छैन । यसमा के काम गर्ने भन्ने एकीनसमेत छैन । यसअघि अर्थ मन्त्रालयबाट रकमान्तर गरेर तलब सुविधा खुवाइएको थियो । यसपटक कार्यालय तथा सुविधाका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ तर भूमिका नै नहुँदा दूग्ध विकास बोर्ड नै निकम्मा बन्न पुगेको छ ।

*** 

गण्डकी प्रदेशको कला, साहित्य, संगीत, संस्कृति, परम्पराको सम्वर्द्धन तथा जगेर्ना गर्ने भन्दै सरकारले प्रज्ञा प्रतिष्ठान खोल्न ऐन जारी गर्यो । कुलपति, सदस्य सचिव लगायत नियुक्तिका लागि सरकारले आवेदन खुलायो र लाइन लागेका वाङ्मय क्षेत्रका विभिन्न व्यक्तिहरु दरखास्त दिन पुग्दा सरकारको आलोचना नै भयो । सोही क्षेत्रमा योगदान दिएका र सक्षम व्यक्तिलाई ल्याउनुपर्नेमा दरखास्त दिन लगाउनु गलत भएको भन्दै साहित्य जगतमा भएको आलोचनाकै बीच सूर्य खड्का (विखर्ची) कुलपति नियुक्त भए ।

वाङ्मयमा भन्दा एमाले राजनीतिमा बढी योगदान गरेका व्यक्तिहरु प्रतिष्ठानमा पुगे । खड्काले तत्कालीन मुख्यमन्त्रीलाई रिझाउन उनको नाममा काव्यकृति नै लेखिदिए । सरकारबाट अनुदान लिएर गुरुङ जातिभित्र भ्रम फैलाउने गरी किताब लेखे र पछि आफैं सार्वजनिक रुपमा च्याते ।

यो संस्थाले पनि वाङ्मयको क्षेत्रमा प्रभाव देखाउन सकेन भने कर्मकाण्डी कार्यक्रम गर्ने, कुलपतिदेखि पदाधिकारी र प्राज्ञसम्मले प्रशासनिक खर्च बढाउने काम भएको आवाजसमेत उठिरहेको छ ।

*** 

गण्डकी प्रदेशका सरकारका लागि प्राविधिक तथा दक्ष जनशक्ति आफैं उत्पादन गर्ने लक्ष्यसहित पृथ्वीसुब्बा नेतृत्वकै सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान खोल्ने गरी ऐन जारी गर्‍यो । प्रतिष्ठान खोल्न लामो रस्साकस्सीबीच स्याङ्जाको फेदीखोलामा १६० रोपनी जग्गा प्रदेशको नाममा आएको छ ।

प्रदेशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण लक्ष्य लिएको यो प्रतिष्ठानले पनि अहिलेसम्म भूमिका नै देखाउन सकेको छैन । प्रतिष्ठानमा २ वर्षअघि नै खानी तथा भूगर्भ विभागका पूर्व महानिर्देशक डा. सोमनाथ सापकोटालाई कार्यकारी निर्देशकको रुपमा नियुक्त गरिएको छ । पोखरा ड्यामसाइडमा भाडाको घरमा कार्यालय चलिरहेको छ ।

पोखराका तालको अध्ययन गर्ने समितिको संयोजक हुँदै प्रदेशको प्रतिष्ठानमा नियुक्ती खान पुगेका सापकोटाले देखिने गरी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सापकोटाले भने संरचना निर्माण र डीपीआरकै काम चलिरहेकाले धेरै भूमिका देखाउन नसकिएको उनको भनाइ छ । प्रतिष्ठानका लागि अघिल्लो वर्ष करिब साढे ४ करोड र यसपटक ४ करोड २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

*** 

यी त केही उदाहरणमात्रै हुन् । गण्डकी प्रदेश सरकारले गठन गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले पनि आफ्नो भूमिका देखाउन सकिरहेको छैन । प्रदेश खेलकुद परिषदमा पनि राजनीतिक नियुक्ति खाने तर भूमिका देखाउन नसक्ने नियति प्रदेशले बेहोरेको छ ।

सरकारले विभिन्न क्षेत्रको विशिष्टीकृत विकासका लागि भन्दै खुलेका संरचना राजनीतिक भर्ती केन्द्रमात्र बनेको आरोप प्रदेशलाई छ ।

गण्डकी प्रदेशको आफ्नै विश्वविद्यालय बनाउने नीतिअनुसार खुलेको संस्थाले पनि अपेक्षित काम नगरेको भन्दै सरकारले यसपटक बजेट कटौती गर्दा एमालेले संसद नै अवरुद्ध गरेको थियो । अघिल्लो वर्षभन्दा १० करोड रुपैयाँ कटौती गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले १५ करोडमात्र बजेट दिएपछि विरोधमा एमालेले संसदै अवरुद्ध गरेको थियो ।

पछि बजेट बढाउने सरकारले प्रतिवद्धता जनाए पनि कुलपति प्रा.डा. गणेशमान गुरुङ नेतृत्वको विश्वविद्यालयको भूमिकाप्रति मुख्यमन्त्री पाण्डे सन्तुष्ट छैनन् ।

पुनर्मूल्यांकन गर्ने तयारी

विभिन्न समयमा प्रदेशमा खडा भएका संरचना अहिले स्वयं सरकारलाई बोझ बन्न पुगेपछि मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पुनर्मूल्यांकन गर्ने बताएका छन् ।

मुख्यमन्त्री पाण्डेले बजेटमै यस सम्बन्धमा उल्लेख गर्न चाहेको तर अध्ययन समिति बनाएर काम गर्ने योजनासहित रोकिएको बताए । मुख्यमन्त्री पाण्डेले विभिन्न समयमा गठन भएका यस्ता संरचनाहरुको पुनर्मूल्यांकन गर्न पूर्व सचिवको नेतृत्वमा समिति बनाउने बताएका छन् ।

त्यतिमात्रै होइन, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश नीति तथा योजना आयोगले पनि भूमिका देखाउन र सरकारलाई उचित सल्लाह दिन चुकिरहेको गुनासो उठ्दै आएको छ ।

प्रदेशका कतिपय संरचनामा नियुक्ति खाएका पदाधिकारीले भने सरकारले भूमिका र प्रभाव बढाउन सक्ने गरी बजेट विनियोजन नै नगरिदिएको र उपेक्षा गरेको बताउँछन् । तर, यस्ता संरचनाले चालु खर्चमात्रै बढाएको तर प्रभावकारी भूमिका देखाउन नसकेको निश्कर्ष मुख्यमन्त्री पाण्डेको छ ।

‘हामी यी संस्था आवश्यक छन् कि छैनन् भनेर पुनर्मूल्यांकन गर्न चाहान्छौं । बजेटका बेला पनि यसबारेमा केही बोल्ने हो कि भनेर खोज्याथौं । तर सरकारले नै भन्नुभन्दा अब छिट्टै नै कुनै एक जना संघीय निवृत्त पूर्व सचिवको नेतृत्वमा समिति बनाउँछौं,’ मुख्यमन्त्री पाण्डेले भने, ‘अहिलेसम्म प्रदेशमा भएका संरचनाहरु र यथावत रहेका संरचनाहरुको पनि आवश्यकता छ कि छैन । प्रदेशले बनाएका निकाय वा संस्थालाई निरन्तरता दिने कि नदिने भनेर समितिले रिपोर्ट दिन्छ र त्यसकै आधारमा सरकारले आफ्नो कार्ययोजना अगाडि बढाउँछ ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?