+
+

भरतपुर आँखा अस्पतालमा बिरामीको भीड

रासस रासस
२०८० साउन २२ गते १३:०८

२२ साउन,  भरतपुर । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ  ।

चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको यस अस्पतालअन्तर्गतका अस्पताल र केन्द्रमा आइतबार दुई हजार तीन सय ५७ जनाले सेवा लिएका थिए ।

अस्पतालका वरिष्ठ प्रशासक दयाशङ्कर चौधरीका अनुसार अन्य समयमा एक हजार दुई सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्दथे । अस्पताल आएकामध्ये ६० प्रतिशतभन्दा बढी आँखा पाक्ने रोगका बिरामी रहेका छन् ।

आइतबार भरतपुरमा रहेको मुख्य अस्पतालमा नौ सय ७३, सेकेण्डरी आँखा अस्पताल ठोरीमा ६६ , कावासोतीमा एक सय ९३ र सिम्रनगढमा एक सय दुई जनाले उपचार लिएका छन् ।

अस्पतालमा आवद्ध १४ आँखा उपचार केन्द्र छन् । तीमध्ये चिकुमार-विष्णुकुमारी बहिरङ्ग सेवा भरतपुर उकालोमा दुई सय ३८, पर्सामा एक सय ६३ , रत्ननगरमा एक सय २८ , माडीमा ९६ , चनौलीमा ६५ , राप्तीमा ६१  र कुरिनटारमा २५ जनाले सेवा लिएका छन् ।

यसैगरी धादिङको बेनिघाटमा १६ , सल्यानटारमा १३ , नवलपरासीको मध्यविन्दुमा ४४ , हुप्सेकोटमाम ४० , सिन्धुलीको दुधौलीमा १७ , तनहुँको आँबु खैरहनीमा ६३ र सर्लाहीमा ५५ जनाले सेवा लिएका वरिष्ठ प्रशासक चौधरीले जानकारी दिए ।

बिरामी बढेसँगै औषधिसमेत अभाव हुन थालेको छ । उनले औषधि खरिद गर्ने ठाउँबाट माग अनुसारको औषधि आपूर्ति हुन नसकेको बताए । अस्पतालले आफ्नो स्रोतसाधन र जनशक्तिलाई अधिकतम उपयोग गरेर सेवा दिँदै आएको उनले जानकारी दिए । हालसम्म चिकित्सक र स्वास्थ्यकर्मीमा रोग फैलिन ठूलो समस्या नदेखिएको उनको भनाइ छ ।

अस्पतालका आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले रोग लाग्नुभन्दा बच्नु नै उत्तम भएको भन्दै सरसफाइ र सामाजिक दूरीमा ध्यान दिन आग्रह गरेका छन् ।

उनले समय समयमा हात धुन, हातले आँखा नछुन, सङ्क्रमित बिरामीबाट टाढै रहन सुझाव दिए । उनले चिकित्सकको परामर्शपछि मात्रै औषधिको प्रयोग गर्नुपर्ने बताए । आफूखुसी औषधि किनेर प्रयोग नगर्न उनको सुझाव छ ।

नेपाल नेत्रज्योति सङ्घ चितवनका सभापति जयराम श्रेष्ठले मुख्य अस्पताल, तीन वटा सेकेण्डरी आँखा अस्पताल र १४ आँखा उपचार केन्द्रमा बिरामीलाई सकेसम्म सहजरुपमा उपचारको व्यवस्था मिलाइएको बताए ।

सबै बिरामीलाई एकै पटकभन्दा फरकफरक समयमा आएमा उपचार सहज हुने उनको भनाइ छ । अस्पताल आसपासका बिरामी दिउँसो २ बजेपछिको समयमा अस्पताल आउँदा भीड कम हुने उनको भनाइ छ ।

सबैलाई सजगता अपनाउन उनले अपिल गरे ।सङ्घ सचिव केशव अधिकारीले औषधि आपूर्ति गर्न सम्झौता गरेका कम्पनीलाई आवश्यकताअनुसार औषधि उपलब्ध गराउन नसके सम्झौता खारेज गरिने जानकारी दिँदै आपूर्तिका लागि लाग्न आग्रह गरिएको बताए ।

चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अत्यावश्यकबाहेक बिदा दिन रोकिएको उनको भनाइ छ । अन्य बिरामी फरक ठाउँमा सजगताका साथ उपचार गराइएको उनले बताए । जिल्लाका पालिकाले रोग फैलिएपछि शिक्षण संस्था बन्दसमेत गर्न थालेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?