+
+
ब्लग :

आन्तरिक पर्यटन यात्राले सिकाएका सडक सुरक्षाका पाठ

सोचें, विशिष्ट मानिएका व्यक्तिको यात्रामा सहजताका लागि यति धेरै ख्याल गरिंदो रहेछ त। यसरी नै सर्वसाधारणको यात्रालाई पनि सहज बनाइँदो हो त हामी सबैले हाम्रा दुर्गम सडकमा पनि सहज र सुरक्षित यात्राको अनुभव गर्न सक्नेथियौं।

भगवती सेढाई भगवती सेढाई
२०८० साउन २४ गते १७:१७

व्यस्त जीवनमा पारिवारिक यात्रा भन्ने बित्तिकै मन रोमाञ्चित हुन्छ। एक सडक सुरक्षाको अध्येताको हिसाबले जब सडक यात्राको बारेमा योजना बनाइन्छ, तब सडक सुरक्षालाई पनि जोडेर हेरिनेरहेछ।

आफ्नो यात्राभर सुरक्षाका उपायहरू अपनाएर यात्रा गरे दुर्घटनाको जोखिम कम हुन्छ। यही तथ्यलाई आधार मान्दै उत्सुकताका साथ स-परिवार काठमाडौंबाट नेपाल र चीनको नाका कोरलासम्मको आन्तरिक पर्यटक बनेर एक साताव्यापी अविस्मरणीय यात्राका क्रममा अनुभव र अनुभूति समेटेर यो आलेख तयार गरेकी छु।

हाम्रो यात्रा काठमाडौंबाट पर्यटकीय बसबाट गर्ने निधो गरियो किनभने यी बसहरू सडक दुर्घटनाको हिसाबले बढी सुरक्षित मानिन्छन्। काठमाडौंबाट उत्साहित हुँदै वातानुकूलित सुविधा (ए.सी.) भएको बसबाट यात्रा गरिरहँदा यात्रामा मुग्लिन नपुग्दै नराम्रोसँग ठेस लाग्न पुग्यो।

धुलाम्मे खाल्डाखुल्डी बाटोमा जेठ महिनाको उखरमाउलो गर्मीमा पनि चालकले सकेसम्म सुरक्षाका उपायहरू लगाएर बस चलाएको देख्दा मनमनैबाट चालकमाथि धेरै श्रद्धा जागेर आयो। तर चालक कक्षमा भने चालकलाई निद्रा लाग्छ भनेर एसी सुविधा रहेनछ।

धुलाम्मे सडकमा पनि झ्याल खोलेर बस चलाउन ड्राइभर बाध्य थिए। बाटोमा उडेको धुलोले चालक मुग्लिनबाट डुम्रेसम्म पुग्दा चिन्न नसकिने भइसकेका थिए। उनको कालो रङ्गको टिसर्टले खैरो रूप लिइसकेको थियो। यात्रु बस्ने कक्षमा भने एसी खोलेका कारणले झ्यालहरू बन्द थिए र त्यति धुलो पसेको थिएन।

आफूलाई धुलोले त्यति नसिंगारे पनि अन्य सवारी साधनका यात्रुहरूको अवस्था देख्दा मनमा धेरै प्रश्नहरू उब्जिए।

चालकले सही तरिकाले साधन चलाएर मात्र सडक सुरक्षा हुँदैन। यसमा सडकको अवस्थाले महत्व राख्छ। सडक सुरक्षाबारे सोच्दासोच्दै सकुशल पोखरा पुगियो। मनमनै पशुपतिनाथसँग पुकारें, आगामी दिनमा यही सडकमा यात्रा गर्दा सडककै अवस्थाका कारणले दुर्घटनामा पर्नु नपरोस्। भगवान पुकार्नु बाहेक अरु विकल्प हामी यात्रुसँग के छ र ?

पोखराबाट माथिल्लो मुस्ताङसम्म यात्रा गर्न सार्वजनिक यातायात रोज्ने कि भाडाको गाडी ? हामीबीच केहीबेर गलफत्ती चल्यो। हामीले बहसको क्रममा सडक सुरक्षा र खर्चलाई केन्द्रमा राख्यौं। सार्वजनिक बसबाट गएमा प्रतिव्यक्ति लगभग २५ सयमा पुगिनेरहेछ।

सहज र सुरक्षित यात्राका लागि कुनै पनि सम्झौता नगरी पोखराबाट उपल्लो मुस्ताङको बाटोको बारेमा राम्रो ज्ञान भएका चालकले चलाएको स्कर्पियो गाडीमा फेवाताल नजिकबाट हाम्रो यात्रा सुरु भयो।

पोखराको भाइरल बाग्लुङ सडक खण्ड पुग्नेबित्तिकै चालकले भने, ‘मैले यो सडकमा १८० किलोमिटर प्रतिघन्टाको गतिमा चलाएको थिएँ। त्यति स्पीडमा चलाउँदा यो गाडी त थरर्र हल्लियो।’

उनले गाडी हल्लिएको कुरा गरिरहँदा मेरो भने मुटु हल्लिरहेको थियो। मैले विस्तारै चालकसँग कुरा गर्न थालें। आफूलाई सडक सुरक्षामा कार्यरत व्यक्तिको रूपमा चिनाएँ। ६० किलोमिटर प्रति घण्टाभन्दा बढी गतिमा नचलाउन विनम्र अनुरोध गरें। चालक सकारात्मक नै देखिए। तर पनि डर एकनास लागिरहेको थियो, धन्न अरुले भनेको सल्लाह मान्ने चालक रहेछन् र हाम्रो स्कर्पियो गाडी कम गतिमै अगाडि बढ्यो।

हाम्रो चालक त ठिक्कको गतिमा दौडिए। तर अरु सवारी साधन हामीलाई ओभरटेक गर्दै हुत्तिइरहेका थिए। उनीहरूले डरलाग्दो गरी सवारी चलाउँदा हाम्रो रोमाञ्चक यात्रा बिथोलिइरहेको थियो।

मेरो डर र शंकाले कागबेनी नजिकै पुग्दासम्म सही रूप लिइसकेको थियो। हामीलाई ओभरटेक गर्ने गाडी र विपरीत दिशाबाट आएको गाडीहरू ठोक्किएर नराम्रो दुर्घटना भइसकेछ।

दुर्घटनाको कारण थियो- तीव्र गति। सानो गल्तीको ठूलो परिणाम भोग्नुपर्‍यो।

सचेत हुनुपर्ने र गराउनुपर्ने काम नै यही थियो। सडक खराब हुनु एउटा कुरा हो र त्यसमाथि प्रतिस्पर्धाको सोच थप खराब र घातक बन्यो।

बाटो काट्दै जाँदा डाँडाकाँडाको रमणीय भूबनोट, एक आधा घण्टाको अन्तरालमा देखिने परिवर्तित प्राकृतिक स्वरूपयुक्त सुन्दर नेपालको बनोटले हामीलाई पुलकित पार्दै थियो। ठाउँठाउँमा पहिले नै दुर्घटना भएर कच्याककुचुक परेर थन्किएका सवारी साधनले हाम्रो यात्राको रोमाञ्चकतालाई बिथोलिरह्यो।

बाटोमा बिग्रेका गाडीहरूलाई केही चालकहरूले गाडी मुनि छिरेर बनाइरहेका देखिए। कोही गाडी मेकानिक्स नपाएर अघिल्लो दिनदेखि बीच बाटोमा अलपत्र थिए। हामी चढेको गाडीको पनि बाटोमा ब्रेक फेल भयो। तीन घण्टा पछि मेकानिक्स आए। जेनतेन मर्मत गरेर अगाडि बढियो।

सडक सुरक्षाबारे सयौं पटक उठाएको नियमित सवारी साधनको यान्त्रिक जाँच र अटोल्यान्डको अवधारणाको औचित्य पुष्टि भएको भान भयो।

पोखराबाट कोरला नाकासम्म पुग्दा बाटोमा रहेका ठूला ठूला ढुंगाहरूलाई यात्रु र चालक मिलेर हटाउँदै अगाडि बढियो। हाम्रो एकतर्फी यात्रा दुई दिनमा तय भएको थियो।

फर्किंदै गर्दा एकजना प्रहरीको उपल्लो दर्जाको व्यक्ति सवारी भएको देख्ने मौका मिल्यो। तर अचम्मको कुरा उहाँको सवारी हुने भएकाले त्यहाँको बाटोमा रहेका ठूला ठूला ढुंगाहरू पन्छाइसकिएको र खाल्डाहरू पनि पुरिएका रहेछन्।

सोचें, विशिष्ट मानिएका व्यक्तिको यात्रामा सहजताका लागि यति धेरै ख्याल गरिंदो रहेछ त। यसरी नै सर्वसाधारणको यात्रालाई पनि सहज बनाइँदो हो त हामी सबैले हाम्रा दुर्गम सडकमा पनि सहज र सुरक्षित यात्राको अनुभव गर्न सक्नेथियौं।

चार दिन अगाडि बिहानको झिसमिसेमा फेवाताल नजिकबाट सुरु गरिएको हाम्रो यात्रा चौथो दिनको बेलुका साढे सात बजे उही भाइरल सडकमा आइपुग्यो। हामीले भाइरल सडक हेर्‍यौं। यहाँ त सामान्य सडक सुरक्षा मापदण्ड पनि पूरा गरिएको रहेनछ।

सडकमा रहेका सिमेन्टका मिडियनहरूमा रिफ्लेक्टरहरूको उचित प्रयोग भएको रहेनछ। हाम्रो चालकले भने अनुसार त्यसैका कारण बेलुकाको समयमा चालकहरूले मिडियन देख्दैनन् र त्यसैमा ठोक्किन्छ। यसैको कारण कैयौं डरलाग्दा दुर्घटना पनि भइसकेका रहेछन् यहाँ ।

यात्राका क्रममा धेरै पाठ सिकियो। तर केही पाठ र अनुभव विशेष रहे।

हाम्रा सडकमा रहेका खाल्डाखुल्डी उचित समयमा मर्मत गरेमा उक्त खाल्डाखुल्डीहरूले ठूलो रूप लिन पाउँदैनन्। सडकको आयु लामो बनाउन सकिन्छ। जसको फलस्वरूप आर्थिक भार पनि कम हुन्छ।

बाटोमा रहेका नालाहरूको उचित ख्याल गरी सफा गरेमा पनि सडकको आयु लम्ब्याउन सकिन्छ।

लामो दूरीका गाडीहरू यात्रामा निस्कँदा अनिवार्य यान्त्रिक जाँच गर्ने व्यवस्था मिलाउनुपर्दछ।

लामो दूरीको बाटो निर्माण गर्ने बेलामा नै सवारी साधनको मर्मत गर्ने स्थानको निर्क्योल गरी गाडी मर्मत गर्ने स्थानहरू अनिवार्य रूपमा स्थापना गर्नुपर्दछ।

सवारी चालकलाई सडक सुरक्षाको बारेमा सचेत गराउनका लागि ठाउँ–ठाउँमा अनुगमन संयन्त्रको विशेष व्यवस्था मिलाउनुपर्छ।

हामीले सुरक्षित सडक निर्माणमा विशेष ध्यान दिनुपर्छ। कहिल्यै नभुलौं- सडक सञ्जालले गन्तव्यलाई जोड्ने मात्रै होइन, सुरक्षित पुर्‍याउनु पनि पर्छ।

सार्वजनिक यातायातको उचित व्यवस्था गर्ने हो भने हाम्रो पर्यटन उद्योगमा धेरै टेवा पुग्छ।

सार्वजनिक बसहरूमा एक यात्रुका हैसियतले चालकलाई सुरक्षित गति र तरिकाले चलाउन अनुरोध गर्ने अवस्था त छैन तर निजी प्रयोगका लागि चर्को रकम तिरेर भाडामा लिएको गाडीको चालकलाई राम्रो तरिकाले सम्झाएर सुरक्षित किसिमले यात्रा गरौं भनेर अभिप्रेरित गर्न सके पनि धेरैको यात्रा सुरक्षित हुनसक्छ।

त्यसको उल्टो अत्यधिक गतिमा चलाएर अरूलार्इ ओभरटेक गर्न चालकलाई उक्साउने यात्रुहरू दुर्घटनामा परेको स्वयंले देखेको कुरा हो।

यात्रा जति रोमाञ्चक भए पनि त्यही रोमाञ्चकतामा त्रास थपिएपछि यात्रा गर्नुको कुनै मजा बाँकी रहन्न। जीवन रहे न यात्रा सुखद हुने हो। जीवनै रहेन भने केको यात्रा ? नीति, नियम र सरकारी संयन्त्रले गर्ने–गराउने काम जति छन् त्यति नै महत्वपूर्ण छन् हाम्रा आफ्नै सतर्कता पनि। आफू पनि सतर्क बनौं। विस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न।

यात्रु भएर मीठो बोलौं र चालकलाई भनौं- दाइ घरमा को को छन् ? के गर्छन् ? चालक पनि मान्छे हो। उसलाई यात्रुको रूपमा आफैंले हैरानी दिएर होइन प्रेमले आनन्द दिएर मजाले यात्रा गरौं। यसबाट पनि गन्तव्य धेरै हदसम्म सुरक्षित हुन सक्छ। जहाँ जाँदै हुनुहुन्छ शुभयात्रा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?