+
+
रेस्टुरेन्ट :

फिल्स : स्वादिलो, स्वास्थ्यवर्द्धक र सुरम्य

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १४:०३

ललितपुर झम्सिखेलस्थित ‘फिल्स’ रेस्टुरेन्ट तपाईंको लागि यसकारण खास हुन सक्छ कि त्यहाँ तपाईंले आफ्नो मुडअनुसारको ठाउँमा बसेर मनप्रिय खानेकुराको स्वाद लिन सक्नुहुनेछ ।

जस्तो, तपाईंलाई अलि शान्त ठाउँ चाहिएको छ, जहाँ पुस्तकहरु पढ्दै खानेकुरा चाख्न पनि पाइयोस् । या त तपाईंलाई नोस्टाल्जिक बनाउने ठाउँ चाहिएको छ, जहाँ पुराना दिनहरुको याद गर्दै जिब्रोको स्वाद फेर्न पाइयोस् । यी सबै उपलब्ध छ, फिल्समा ।

विद्यार्थी होस् वा बुढापाका, सबैका लागि सहज र उपयोगी छ यो रेस्टुरेन्ट । तपाईं एक्लै बसेर पनि त्यहाँ रमाउन सक्नुहुनछ वा साथीभाइको जमघटमा पनि । परिवारसहित जानुहुन्छ वा दौंतरीका साथमा, त्यहाँ पुगेपछि मन खिन्न हुनेछैन । किनभने आफूले चाहेअनुसारको माहोलमा तपाईं मस्त रमाउन सक्नुहुनेछ ।

ब्रेकफास्टदेखि अनेकथरी व्यन्जन

पहिले कुरा गरौं, परिकारको ।

फिल्सले खासगरी बिहान र दिवा समयको खाना–नास्ता पस्किने गर्छ । यहाँको मेनुमा थरीथरीका ब्रेकफास्टदेखि दिवा भोजनसम्म छन् । ब्रेड, अण्डासहितको ब्रेकफास्ट यहाँको मेनुमा प्राथमिकतासाथ समेटिएका छन् । ब्रेड, केक, कुकिज यहाँ नै तयार हुन्छ ।

त्यसपछि तपाईंले दिवा भोजन अर्थात् मध्यान्हको खानेकुरा पाउन सक्नुहुनेछ । त्यसमा पूर्ण शाकाहारीदेखि मासुका विभिन्न व्यन्जन फिल्सको मेनुमा छ ।

बिहान सात बजेबाट खुल्ने फिल्सले सुरुमा ब्रेकफास्ट पस्किन्छ भने मध्यान्ह एक बजेदेखि तपाईंले अरु थुप्रै परिकारको स्वाद लिन सक्नुहुनेछ । दिवा खानामा किङ मसरुम ग्रिल्ड, चिकेन ग्रिल्ड, पोर्क आइटम बढी रुचाइएको छ । फिल्सको परिकारलाई थप पृथक र स्वादिलो बनाएको छ, होममेड ससले ।

त्यसो त यहाँ विभिन्न पेयको पनि स्वाद लिन सकिन्छ, कफीदेखि ककटेलसम्म ।

फिल्सको विशेषता भनेको यहाँको विशेष व्यन्जन र आन्तरिक सज्जा नै हो । हरियाली एवं शान्त वातावरण, पारिवारिक माहोल र स्वस्थ्यवर्द्धक परिकारका लागि फिल्स एउटा उपयुक्त गन्तव्य हुन सक्छ ।

९० को दशकको झझल्को

सामान्यतया चलनचल्तीका रेस्टुरेन्ट जस्तो एकैनासको छैन यहाँभित्रको माहोल । कतै तपाईंले पुस्तकालय भेट्नुहुनेछ भने कतै ९० को दशकको झल्को दिने साजसज्जा ।

खासगरी यस रेस्टुरेन्टले पाँचवटा सेक्सनमा विभाजन गरिएको छ । जसै तपाईं रेस्टुरेन्टमा प्रवेश गर्नुहुन्छ, अलि फराकिलो र खुला कक्षमा पुग्नुहुनेछ । यस अघिल्तिर तपाईंले कफी र यस्तै पेय देख्नसक्नुहुनेछ । यो कक्ष खासगरी कफी एवं नास्ताकै लागि हो ।

त्यसकै सम्मुखमा यस्तो कक्ष छ, जसले तपाईंलाई नोस्टाल्जिक बनाउन सक्छ । किनभने यसको साजसज्जा नै ९० को दशकको थिममा छ । सानो श्यामश्वेत टिभी, टेप रेकर्डर, फोन सेट जस्ता संशाधनदेखि तस्वीरहरुले समेत त्यो बेलाको झल्को दिन्छ । यदि तपाईं आफ्ना आमाबुवा वा हजुरआमा–हजुरबुवासँग पुग्नुभएको छ भने यो कक्ष तपाईंका लागि विशेष लाग्नेछ ।

तपाईं दिनभरको कामको थकान लिएर विश्रामको लागि पुग्नुभएको छ वा एक्लै बसेर समय व्यतीत गर्न चाहनुहुनुन्छ भने तपाईंका लागि पुस्तकालय थिममा तयार कक्ष उपयोगी हुन सक्छ । यो पुस्तकालयकै साजसज्जामा तयार छ, जहाँ तपाईं पढ्दै कफी वा अरु परिकारको स्वाद लिन सक्नुहुनेछ । यहाँ तपाईंले निकै चाखलाग्दा र महत्वपूर्ण पुस्तकहरु फेला पार्न सक्नुहुन्छ । यो कक्ष साउन्ड प्रुफ छ, ताकि बाहिरको हो–हल्लाले ध्यान भंग नगरोस् ।

एक तलामाथि उक्लिएपछि तपाईं यस्तो कक्षमा प्रवेश गर्न सक्नुहुनेछ, जहाँ कुनै पनि जमघट, उत्सव, जन्मदिन मनाउनका लागि उपयुक्त हुनेछ । फिल्सको साजसज्जाले तपाईंलाई वास्तवमै नयाँपन महसुस गराउनेछ ।

स्वादिलो पनि स्वस्थ्यवर्द्धक पनि

प्रसन्ना राज्यलक्ष्मी राणा भन्छिन्, ‘स्वस्थ्यवर्द्धक खानेकुरा मीठो हुँदैन भन्ने आम बुझाइ छ तर त्यो गलत हो ।’ उनी फिल्सकी सञ्चालिका हुन् । उनका अनुसार फिल्समा धेरै कुरा ताजा र होममेड छ, जो स्वादिलो मात्र नभई स्वस्थकर पनि हुने भयो ।

कुकिजदेखि अरु खानेकुरामा जरुरी अरु थुप्रै कुरा यही रेस्टुरेन्टमै तयार गरिन्छ, बाहिरबाट ल्याइँदैन । रेस्टुरेन्टमा जरुरी कतिपय सागसब्जी त्यही छतमा उत्पादन गर्ने उनको योजना छ ।

रेस्टुरेन्टले ब्रेड, कुकिजसँगै भेजिटेरियन परिकारलाई पनि प्राथमिकता दिएको छ । यहाँ च्याउ, टोफुलगायतका विशेष परिकार बन्ने गर्छ । ‘कति मान्छेहरु भेज मात्र खाने हुन्छन्, कतिले ब्रतको बेला माछामासु खाँदैनन्,’ राणा भन्छिन्, ‘उनीहरुका लागि हामीले भेजका विभिन्न आइटम राखेका छौं ।’

 

कसरी सुरु भयो ?

प्रसन्ना राज्यलक्ष्मी राणा स्वदेशमै केही गर्न चाहन्थिन् । तर के गर्ने ? ठ्याक्कै कुनै जुक्ति फुरेको थिएन । थाइल्यान्डमा बसेर ‘इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट’मा स्नातकसम्मको पढाइ सकेपछि उनी नेपाल फर्किएकी थिइन् । थाइल्यान्डमा बस्दा उनले रेस्टुरेन्ट खासगरी कफी कल्चर निकै फस्टाएको देखिन् । अझ रमाइलो त के भने त्यहाँका अधिकांश कफी सपमा पुस्तकालय पनि हुने । कफी पिउँदै आफूलाई मन लागेका पुस्तक पढिरहेका देखिन्थे ग्राहकहरु ।

त्यसो त कलेज–विश्वविद्यालय पढ्नेहरु पनि फुर्सदको समयमा त्यही कफी सपमा पुग्ने गर्छन् । अनि कफीको चुस्कीसँगै किताब पढ्ने गर्छन् । प्रसन्नालाई यस्तै शैलीको कफी सप खोल्ने सोच आयो ।

त्यसबेला नयाँ बानेश्वरस्थित आइप्लेक्स मलमा उनले एउटा ठाउँ पनि पाइन् । त्यही उनले ‘द कफी रुम’ खोलिन् । ‘थाइल्यान्ड र नेपालको धेरै कुरा मिल्छ, त्यही भएर हामीले थाइल्यान्डकै जस्तो खानेकुरासहितको कफी सफ सुरु गर्‍यौं,’ उनले सुनाइन्, ‘त्यहाँ ब्रन्च कल्चर बढी फस्टाएको छ । त्यस्तै शैली हामीले यहाँ सुरु गरेका थियौं ।’

तर सोचेजस्तो भएन । यहाँका ग्राहकको स्वाद फरक रहेको उनले भेउ पाइन् । अन्ततः बिस्तारै उनले आफ्नो मेनु परिवर्तन गर्न थालिन् । त्यसलगत्तै कोरोना महाव्याधि फैलियो । कफी सपको व्यापार ठप्प भयो । ‘त्यसबेला कुनै काम भएन, घरमै बस्नुपर्ने,’ प्रसन्ना भन्छिन्, ‘त्यसबेला मैले रेस्टुरेन्ट, हस्पिटालिटी आदिबारे धेरै अध्ययन गरें ।’ साथै यही बेला उनले ‘डिजिटल मार्केटिङ’मा स्नातकोत्तर पनि गरिन् ।

जब कोरोना सन्त्रास मत्थर हुँदै गयो, कफी सपको व्यापार फस्टाउँदै गयो । यसै सिलसिलामा उनले अर्को रेस्टुरेन्ट खोल्ने सोच बनाइन् र त्यसका लागि उपयुक्त लोकेसनको खोजीमा लागिन् । महाराजगञ्ज, बौद्ध, पेप्सीकोला सबैतिर फन्को लगाइन् । तर सोचेजस्तो ठाउँ फेला परेन ।

संयोगले झम्सिखेलमा उनले यस्तो लोकेसन भेटिन्, जुन रेस्टुरेन्टका लागि उपयुक्त थियो । ‘यसलाई हामीले पारिवारिक माहोलमा फरक स्वाद पस्कने योजनासहित रेस्टुरेन्ट बनायौं,’ प्रसन्ना भन्छिन्, ‘यहाँको माहोल र परिकार दुवैले ग्राहकलाई विशेष महसुस गराउँछ भन्ने हाम्रो अपेक्षा छ ।’

तस्वीर, भिडियो : चन्द्रबहादुर आले/विकास श्रेष्ठ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?