News Summary
Generated by OK AI. Editorially reviewed.- तारेका खानाहरूमा ट्रान्स फ्याट र उच्च क्यालोरीले मोटोपन, मुटुरोग र मधुमेहको जोखिम बढाउँछन्।
- फ्राइड फूड्स छोड्दा अनावश्यक तौल घट्छ र मुटुको स्वास्थ्यमा सुधार आउँछ।
- तारेका खानाहरू छोड्दा पाचन प्रणाली सुधारिन्छ र छाला स्वस्थ र चम्किलो हुन्छ।
पछिल्लो समय मानिसहरूले आफ्नो स्वादमा सम्झौता गर्न नचाहने प्रवृत्ति बढ्दो छ । बजारमा विभिन्न स्वादिष्ट तारेका खानाहरूका स्टलहरू देख्दा आफूलाई रोक्न गाह्रो पर्छ । घरमा पनि पिरो, मसलेदार वा चटपटे खाने इच्छा हुँदा समोसा, पकौडा, चिप्स, फ्रेन्च फ्राइजजस्ता तारेका भुटेका खानाहरू नै रोजाइमा पर्छन् ।
यी फ्राइड फूड्स हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेका छन् । तर, यिनको स्वास्थ्यमा पर्ने नकारात्मक असरहरू बारेमा वैज्ञानिक अध्ययनहरूले धेरै प्रमाणहरू दिएका छन् । उदाहरणका लागि, तारेका खानाहरूमा ट्रान्स फ्याट, स्याचुरेटेड फ्याट र उच्च क्यालोरी हुने हुँदा मोटोपन, मुटुरोग र मधुमेह जस्ता समस्या बढाउँछन् ।
यदि हामीले यी खानाहरूलाई आफ्नो खानपानबाट पूर्णरूपमा हटायौं भने शरीरमा सकारात्मक परिवर्तनहरू आउँछन्, जसले मानसिक र शारीरिक स्वास्थ्य सुधार्छ तथा छालालाई पनि स्वस्थ राख्छ ।
१. अनावश्यक तौल घट्छ
तारेका खानाहरूमा चिल्लोको मात्रा अत्यधिक हुन्छ, जसले शरीरमा अनावश्यक क्यालोरी जम्मा गर्छ र तौल बढाउँछ । यी खानाहरू उच्च क्यालोरी र ट्रान्स फ्याटले भरिएका हुन्छन्, जसले मोटोपनको जोखिम बढाउँछ । यदि नियमित रूपमा तारेका खानाहरू छोडियो भने क्यालोरीको सेवन घट्छ । शरीरले सञ्चित चिल्लोलाई ऊर्जाको रूपमा प्रयोग गर्न थाल्छ । यसले गर्दा मोटोपनसँग सम्बन्धित अन्य समस्या जस्तै जोर्नी दुखाइ र थकान पनि कम हुन्छ ।
२. मुटुरोगको जोखिम कम
तारेका खानामा ट्रान्स फ्याट र स्याचुरेटेड फ्याट भरपूर हुन्छन्, जसले शरीरमा खराब कोलेस्ट्रोल बढाउँछ र राम्रो कोलेस्ट्रोल घटाउँछ । यसले उच्च रक्तचाप, मोटोपन र मुटुरोगको जोखिम बढाउँछ । यदि फ्राइड फूड्स पूर्णरूपमा हटाइयो भने मुटुको स्वास्थ्यमा सुधार आउँछ, जसले हृदयघात, स्ट्रोक र मुटु फेलियरको खतरा घटाउँछ ।
३. अक्सिडेटिभ स्ट्रेसबाट राहत मिल्छ
तारेका/भुटेका खानाहरूले शरीरमा अस्वस्थ चिल्लो र अक्सिडेटिभ कम्पाउन्डहरू जम्मा गर्छन्, जसले कोशिकाहरूलाई क्षति पुर्याउँछ र तनाव बढाउँछ । यसले मधुमेह, क्यान्सर र बाथजस्ता रोगहरूको जोखिम बढाउँछ । तारेका खानाहरूले मोटोपन, हृदयरोग, टाइप २ मधुमेह र आन्द्राको समस्या निम्त्याउछ । जब यी खानाहरू छोडिन्छ तब शरीरका क्षति भएका कोषहरूको मर्मत प्रक्रिया राम्रो हुन्छ ।
४. पाचन प्रणालीमा सुधार
तारेका खानाहरू पचाउन गाह्रो हुन्छन्, जसले एसिडिटी, कब्जियत, ग्यास र आन्द्राको समस्या निम्त्याउछ । क्लिभल्याण्ड क्लिनिकका अनुसार, यी खानाहरूले रिफ्लक्स र सुन्निने समस्या बढाउँछ । तारेका खानाहरूले इरिटेबल बोवेल सिन्ड्रोम वा एसिड रिफ्लक्स भएकाहरूलाई असुविधा दिन्छ । जब यस्ता खानाहरूबाट टाढा रहिन्छ तब पाचन प्रणाली राम्रोसँग काम गर्छ, पोषक तत्वहरू राम्रोसँग अवशोषित हुन्छन् र आन्द्राको ब्याक्टेरियाको सन्तुलन सुधारिन्छ । यसले गर्दा समग्र स्वास्थ्यमा फाइदा पुग्छ, जस्तै फास्ट फूड छोड्दा मुड सुधारिन्छ ।
५. छाला स्वस्थ र चम्किलो हुने
धेरै तारेका खानाले छालामा डन्डिफोर, र्याश र तेलीय समस्या बढाउँछन् । साथै समयभन्दा पहिले बुढ्यौलीका लक्षणहरू देखाउँछन् । तारेको खाना छोड्दा छालाको प्राकृतिक चमक फर्किन्छ र उमेरका प्रभावहरू ढिलो देखा पर्छन् । यसले गर्दा आत्मविश्वास पनि बढ्छ ।
६. मधुमेहको जोखिम कम र लिपिड प्रोफाइलमा सुधार
तारेका खानाहरूमा असन्तृप्त र ट्रान्स फ्याट धेरै हुन्छ, जसले रक्त लिपिड स्तरलाई नकारात्मक प्रभाव पार्छ र मधुमेहको जोखिम बढाउँछ । तारेका खानाहरूले मुटुरोग, स्ट्रोक र समयभन्दा पहिले मृत्युको जोखिम बढाउँछ । जब यिनको सेवन कम गरिन्छ तब लिपिड प्रोफाइल सुधारिन्छ, रगतमा चिनीको स्तर नियन्त्रणमा रहन्छ र मधुमेहको खतरा घट्छ । तारेका खानाहरूको नियमित सेवनले दीर्घकालीन रोगहरू बढाउँछ, तर छोड्दा मुटुरोग र मधुमेहको जोखिम कम हुन्छ ।
प्रतिक्रिया 4