News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा आयुर्वेदिक फार्मेसीका लागि दक्ष जनशक्ति उत्पादन नहुँदा औषधि उत्पादन र गुणस्तरमा चुनौती छ।
- नेपालमा हाल ११ जना आयुर्वेद फार्मेसी स्नातक दर्ता भएका छन्, ती सबैले भारतबाट डिग्री प्राप्त गरेका हुन्।
आधुनिक चिकित्सा विज्ञानभन्दा हजारौं वर्ष पुरानो इतिहास बोकेको चिकित्सा प्रणाली हो आयुर्वेद । नेपालमा आयुर्वेदिक चिकित्सक उत्पादन गर्ने तथा केही आधारभूत कार्यक्रमहरू भएका छन् । तर, आयुर्वेदिक औषधिको गहिरो ज्ञानसहित उत्पादन, विक्री, वितरण र भण्डारणका लागि निपुण जनशक्ति उत्पादन हुन सकेका छैनन् ।
आयुर्वेदमा स्नातक तहको फार्मेसी गरेका केही जनशक्तिहरू नेपालमा दर्ता भए पनि तिनीहरू अधिकांशको पठनपाठन भारतमा हुन्छ । नेपालमा यस्ता कार्यक्रमहरू अहिलेसम्म उपलब्ध छैनन्।
नेपालमा सञ्चालन हुने आयुर्वेदिक कम्पनीहरूमा पनि एलोप्याथिक औषधि विज्ञान पढेका फार्मासिस्टहरू कार्यरत छन् । यदि उनीहरू आयुर्वेदको गहिरो ज्ञानसहितका जनशक्ति हुन्थे भने उत्पादित औषधिहरूको गुणस्तर अझ उच्च हुने थियो । सायद यही आवश्यकता महसुस गर्दै भारतमा आयुर्वेदिक फार्मेसीको पठनपाठन तीव्र गतिमा विस्तार भएको छ । यदि नेपालमै पर्याप्त दक्ष जनशक्ति उत्पादन हुन सकेको भए, वनस्पतिमा आधारित औषधिहरूको अनुसन्धान र उत्पादनमा पनि ठूलो प्रगति हुने थियो ।
नेपालमा सीटीज्ञईभीटीले सन् २०१८ मा डिप्लोमा तहको आयुर्वेदिक फार्मेसीका लागि पाठ्यक्रम निर्माण गरेको थियो, तर अहिलेसम्म कुनै कार्यक्रम सञ्चालनमा आएको छैन। नेपालको राष्ट्रिय स्वास्थ्य नीति (सन् १९९५, संशोधित २०१९) ले परम्परागत स्वास्थ्य प्रणालीलाई राष्ट्रिय स्वास्थ्य सेवामा समावेश गर्ने लक्ष्य राखेको छ ।
तर आयुर्वेदिक फार्मेसीका लागि जनशक्ति विकासमा अझै ठूलो खाडल छ । नेपाल सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने ऐन पारित गरिसकेको छ । यसले वि.फार्म (आयुर्वेद) कार्यक्रमको सुरुवात पहिलो चरणमै गर्नुपर्ने आवश्यकता देखाउँछ ।
नेपालका त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल, काठमाडौं, पोखरा, गण्डकी र मनमोहन प्राविधिक विश्वविद्यालयले साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक फार्मेसी कार्यक्रम सञ्चालन गरेका छन् ।
यी संस्थाहरूले सञ्चालन गर्ने स्नातक फार्मेसी कार्यक्रमहरू मुख्यत: एलोप्याथिक औषधिमा केन्द्रित छन् ।
यद्यपि फार्माकोग्नोसी जस्ता विषयहरूले औषधीय वनस्पतिबारे आधारभूत ज्ञान प्रदान गरे पनि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हिमाली जडीबुटी औषधि सम्बन्धी विषयलाई करिब १७ प्रतिशत पाठ्यभारमा समावेश गरी केही प्रगतिशील कदम उठाएको छ । यद्यपि, यसले पनि आयुर्वेदिक औषधि, परम्परागत योग वा चिकित्सकीय प्रोटोकलको वैज्ञानिक र गहिरो अध्ययन पर्याप्त रूपमा प्रदान गरेको छैन ।
नेपाल एशियामा ९औं स्थानको जैविक विविधता सम्पन्न देश हो । यहाँ करिब ९ हजार प्रजातिका फूल्ने वनस्पति पाइन्छन् । यसमध्ये धेरैमा औषधीय गुण भएका र सुगन्धित प्रजातिहरू छन्, जसले परम्परागत उपचार प्रणाली र स्थानीय जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याउँछन् । तर बढ्दो माग, जथाभावी संकलन र अपर्याप्त संरक्षणका कारण यी बहुमूल्य स्रोतहरू संकटमा छन्।
यस पृष्ठभूमिमा, नेपालमा समर्पित बी.फार्मेसी (आयुर्वेद) कार्यक्रम सुरु गर्नु अत्यावश्यक छ । यसले शिक्षण, अभ्यास र अनुसन्धानमार्फत चुनौतीहरूको समाधान गर्न सक्षम दक्ष जनशक्ति उत्पादन गर्नेछ । साथै, परम्परागत ज्ञान र आधुनिक औषधिशास्त्र बीचको खाडल कम गर्नेछ ।
बनारस हिन्दु विश्वविद्यालय, गुजरात आयुर्वेद विश्वविद्यालय र दिल्ली फार्मास्युटिकल साइन्सेस एण्ड रिसर्च विश्वविद्यालय जस्ता प्रतिष्ठित संस्थानहरूले यस्तो कार्यक्रम अगुवाइ गरेका छन् । यी मोडेलहरूले देखाउँछन् कि परम्परागत र आधुनिक औषधि विज्ञानको संयोजन मात्र सम्भव नभई अपरिहार्य पनि हो ।
नेपालले पनि योगमाया आयुर्वेद विश्वविद्यालय वा अन्य विश्वविद्यालय र प्रतिष्ठानमार्फत कम्तीमा एउटा संस्थाले तत्काल यो कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यसले औषधीय गुण भएका वनस्पतिहरूको अनुसन्धान, व्यावसायिक खेती र नेपालमै आयुर्वेदिक औषधि उत्पादन विस्तार गर्न सहयोग पुर्याउनेछ । भारत र विश्वभर हाम्रा उत्पादनहरू वितरण योग्य हुनेछन् । तर, यसका लागि पहिलो चरणमा दक्ष जनशक्ति उत्पादन अनिवार्य हो ।
नेपाल आयुर्वेद चिकित्सा परिषद्का अनुसार, हाल नेपालमा जम्मा ११ जना वि. फार्मेसी (आयुर्वेद) स्नातक दर्ता भएका छन्, ती सबैले भारतबाट डिग्री प्राप्त गरेका हुन् । नेपालमा हाल १ हजार ८७५ जना डिप्लोमा तहका आयुर्वेद अभ्यासकर्ता र ३ हजार २६७ जना सहायक आयुर्वेदिक स्वास्थ्य कार्यकर्ता दर्ता भएका छन् । यी तथ्याङ्कले नेपालभित्रै डिप्लोमा र वि. फार्मेसी कार्यक्रमहरू तुरुन्त सञ्चालन गर्नुपर्ने आवश्यकता देखाउँछन् ।
विश्वव्यापी रूपमा आयुर्वेदप्रति चासो बढ्दो छ । विश्व स्वास्थ्य संगठनले भारतमा परम्परागत औषधिको ग्लोबल सेन्टर स्थापना गरेको छ । यसले दक्ष जनशक्ति र वैज्ञानिक पूर्वाधार विकासको तत्काल आवश्यकता देखाउँछ ।
नेपालको अद्वितीय उचाइ भिन्नताले औषधीय वनस्पतिको असाधारण भण्डार उपलब्ध गराएको छ-उच्च हिमाली यार्सागुम्बादेखि समथर क्षेत्रमा पाइने बोझो र नीमसम्म । तर, यी स्रोतहरूको पहिचान, निकासी, त्यसका मापदण्डहरू तय गर्ने र चिकित्सकीय प्रयोगमा दक्ष जनशक्तिको अभावले पूर्ण उपयोग हुन सकेको छैन ।
अन्तत, नेपालको शैक्षिक र स्वास्थ्य प्रणालीमा आयुर्वेदिक फार्मेसी शिक्षाको समावेश अनिवार्य आवश्यकता हो भन्ने कुरा तत्काल बुझ्न जरुरी छ । सबै सरोकारवाला पक्षहरू तथा नेपाल सरकारलाई यस दिशामा कदम चाल्न हामी विनम्र अनुरोध गर्न चाहन्छौं।
प्रतिक्रिया 4