News Summary
Generated by OK AI. Editorially reviewed.- तितो र टर्रो स्वाद भएका खानेकुराले पाचन प्रणाली सुधार, रोग प्रतिरोधक क्षमता वृद्धि, र रगतमा ग्लुकोज नियन्त्रणमा मद्दत गर्छन्।
हाम्रो खानपान कत्तिको आनन्ददायक रह्यो भन्ने कुरा खानाको स्वादले निर्धारण गर्छ । हाम्रो जिब्रोलाई मिठो लाग्ने खानेकुरा खाँदा हाम्रो मुड राम्रो बनिरहेको हुन्छ भने नमिठो खानेकुरा खाँदा मुड बिग्रिन्छ ।
गुलियो, अमिलो, नुनिलो, पिरो, तितो, टर्रो स्वादहरूले हाम्रो जिब्रो र स्वास्थ्यमा फरक-फरक प्रभाव पार्छन् । तितो र टर्रो स्वाद भएका खानेकुराहरू प्रायः कम रुचाइन्छ, तर यी खानेकुराहरू स्वास्थ्यका लागि लाभदायक भएको दावी गरिन्छ ।
परम्परागत चिकित्सा विधि, जस्तै: आयुर्वेदले तितो र टर्रो खानेकुराले स्वास्थ्यलाई फाइदा गर्ने उल्ल्ख गरेको छ । तर, के यी खानेकुराहरू वास्तवमै स्वास्थ्यका लागि राम्रा छन् त ?
तितो र टर्रो खानेकुरा के हुन् ?
तितो र टर्रो स्वाद भएका खानेकुरामा विभिन्न सागसब्जी, फलफूल, जडिबुटी र मसलाहरू पर्छन् । तितो स्वाद भएका खानेकुराहरूमा करेला, तितेपाती, मेथी, काँचो बेसार, कुनै-कुनै साग, निम, विभिन्न जडीबुटी आदि धेरै कुरा छन् ।
त्यस्तै टर्रो खानेकुरामा हर्रो, कालो चिया, डन्डेलियन र क्याफिनयुक्त पेय पदार्थहरू पर्छन् । अमला र कागतीमा पनि अमिलोको अलवा टर्रोपना पनि हुन्छ । यी खानेकुराहरूको स्वाद जिब्रोमा तुरुन्तै असहज लाग्न सक्छ, तर यिनमा पाइने रासायनिक यौगिकहरूले शरीरमा विभिन्न सकारात्मक प्रभाव पार्छन् ।
१. पाचन प्रणालीमा सुधार
तितो खानेकुराले पाचन प्रणालीलाई उत्तेजित गर्छन् । तितो स्वादले पाचन रसहरू, जस्तै पित्त र हाइड्रोक्लोरिक एसिडको उत्पादनलाई बढावा दिन्छ, जसले खाना पचाउन र पोषक तत्त्वहरू अवशोषण गर्न मद्दत गर्छ । जस्तो आयुर्वेदमा करेला र मेथीलाई पाचन सुधार गर्न प्रयोग गरिन्छ ।
टर्रो खानेकुराहरू, जस्तै कागती र अमलाले पेटमा अम्लता सन्तुलन राख्न र पाचन एन्जाइमहरूलाई सक्रिय बनाउन सहयोग गर्छ । यी खानेकुराहरूले कब्जियत, अपच र ग्यासको समस्यालाई कम गर्न सक्छन्।
२. रोग प्रतिरोधक क्षमता वृद्धि
तितो र टर्रो खानेकुराहरूमा एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोबियल गुणहरू हुन्छन्, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । जस्तो, निम र तितेपातीमा एन्टिब्याक्टेरियल र एन्टिभाइरल गुणहरू हुन्छन्, जसले सङ्क्रमणबाट बचाउन मद्दत गर्छ । टर्रो स्वाद भएको अदुवाले श्वासप्रश्वाससम्बन्धी समस्याहरू र चिसो-रुघाखोकीलाई कम गर्न सहयोग गर्छ।
३. रगतमा ग्लुकोजको मात्रा नियन्त्रण
तितो खानेकुराहरू, विशेषगरी करेला र मेथी, मधुमेह नियन्त्रणमा उपयोगी मानिन्छन् । करेलामा चारान्टिन र पोलिपेप्टाइड-पी जस्ता यौगिकहरू हुन्छन्, जसले रक्तग्लुकोजको स्तरलाई नियन्त्रण गर्छ । मेथीको बीउमा घुलनशील फाइबर हुन्छ, जसले ग्लुकोजको अवशोषणलाई कम गर्छ र इन्सुलिन संवेदनशीलता बढाउँछ। टर्रो खानेकुराहरूले पनि रगतमा ग्लुकोज नियन्त्रणलाई सघाउँछ ।
४. तौल नियन्त्रण
तितो र टर्रो खानेकुराहरूले मेटाबोलिज्मलाई बढावा दिन्छ, जसले तौल नियन्त्रणमा सहयोग गर्छ । तितो खानेकुराहरूले भोकलाई नियन्त्रण गर्छ र अनावश्यक खानाको लालसालाई कम गर्छ । ग्रीन टी र कालो कफीमा रहेको क्याफिन र क्याटेचिनहरूले मेटाबोलिज्मलाई तीव्र बनाउँछ र बोसो जलाउने प्रक्रियालाई प्रोत्साहन गर्छ । टर्रो खानेकुराहरू, जस्तै स्याउको सिरका (एप्पल साइडर भिनेगर), ले पाचन र मेटाबोलिज्मलाई सुधार गर्छ, जसले तौल घटाउन सहयोग पुग्छ ।
५. छालाको स्वास्थ्य प्रभाव
तितो र टर्रो खानेकुराहरूले छालाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । निम र तितेपातीमा एन्टिब्याक्टेरियल र एन्टिफंगल गुणहरू हुन्छन्, जसले डन्डिफोर, दाग र छालासम्बन्धी सङ्क्रमणलाई कम गर्ने आयुर्वेदमा उल्लेख छ। अमला र कागतीमा रहेको भिटामिन सी र एन्टिअक्सिडेन्टहरूले छालालाई चम्किलो बनाउँछ र बुढ्यौलीका लक्षणहरूलाई कम गर्छ।
६. विषाक्त पदार्थको निष्कासन
तितो खानेकुराहरूले कलेजोलाई सक्रिय बनाएर शरीरबाट विषाक्त पदार्थहरू हटाउन मद्दत गर्छ । डन्डेलियन र तितेपातीले कलेजोको कार्यक्षमता बढाउँछ र रक्त शुद्धीकरणमा सहयोग गर्छ । टर्रो खानेकुराहरू, जस्तै कागती पानीले मिर्गौलालाई स्वस्थ राख्छ र शरीरबाट अनावश्यक पदार्थहरू बाहिर निकाल्छ।
सम्भावित जोखिम र सावधानीहरू
तितो र टर्रो खानेकुराहरू स्वास्थ्यका लागि लाभदायक हुने भएपनि तिनको अत्यधिक वा अनुचित प्रयोग गर्दा केही जोखिमहरू हुन सक्छन् ।
१.अत्यधिक तितो खानेकुराहरूले पेटमा जलन, अम्लता वा पेट दुख्ने समस्या निम्त्याउन सक्छ । धेरै कागतीको रसले दाँतको इनामेललाई कमजोर बनाउन सक्छ।
२.केही तितो र टर्रो खानेकुराले औषधिहरूसँग अन्तरक्रिया गर्न सक्छ । धेरै तितो, टर्रो खाँदा महुमेहका बिरामीमा एक्कासी ग्लुकोजको स्तर अतिकम भएर समस्या हुनसक्छ ।
३.तितो र टर्रो खानेकुराले धेरै खाएमा मुख नमिठो बनाउँछ । जबरजस्ती यस्ता खानेकुरा खाँदा बान्ता हुने, खानप्रति अरुचि हुने र अन्य स्वास्थ्य समस्या निम्तिने खतरा हुन्छ।
त्यसैले,
यदि तितो वा टर्रो खानेकुराको बानी छैन भने सुरुमा थोरै-थोरै खाएर बानी पार्न सकिन्छ । अन्य मिठो खानेकुरासँगै यसलाई खान सकिन्छ । जस्तो: करेलाको जुसलाई पानी वा महसँग मिसाएर पिउन सकिन्छ ।
तितो सागसब्जीलाई अन्य स्वादिलो खानेकुरासँग मिसाएर पकाउन सकिन्छ ।
यी खानेकुराहरूलाई दैनिक आहारको हिस्सा बनाउनुहोस्, तर अत्यधिक खानबाट बच्ने ।
कुनै रोग छ र औषधि खाइरहेको अवस्था छ भने यस्ता खानेकुराहरू खानुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ ।
प्रतिक्रिया 4