+
+
प्रविधि :

सहकारीलाई सफ्टवेयरको स्वाद चखाउने विष्णु

‘भारतीय कम्पनीको रजगज हटाउन एम बैंक सफ्टवेयर कम्पनी खोले’

काठमाडौंको बानेश्वरको एउटा कोठाबाट सुरु भएको एम बैंकले हाल ७०० सय भन्दा बढी सहकारीलाई मोबाइल बैंकिंङ सेवा दिएको छ । १२ हजार लगानीमा सुरु भएको संस्था अहिले झन्डै ५० करोड रुपैयाँ मूल्यको भएको छ र ३८ जनाले काम गरिरहेका छन् ।

सहदेव चौधरी सहदेव चौधरी
२०८० साउन २७ गते १४:२०

२७ साउन, काठमाडौं ।  काठमाडौंका विष्णु महर्जनले भारतमा सूचना प्रविधि पढ्दा थाहा पाए, नेपालको सूचना प्रविधिको क्षेत्रमा भारतीय कम्पनीहरुले निकै ठूलो व्यवसाय गरिरहेका छन् । त्यति बेलैदेखि उनले नेपालमा आईटी कम्पनी खोल्ने सपना देखेका थिए ।

सन् २००७ मा आईटीमा स्नातक गरेपछि उनी नेपाल फर्किएर अन्नपूर्ण फाइनान्समा काम गर्न थाले । त्यहाँ दुई वर्ष काम गर्दा उनी आईटी आईटी डिपार्टमेन्ट नै खडा गरे । त्यसपछि उनी नारायणी नेशनल फाइनान्समा काम गर्न पुगे । काठमाडौँको नेशनल फाइनान्स र चितवनको नारायणी फाइनान्सको मर्जर हुँदै थियो। दुई फरक-फरक स्थान र सफ्टवेयर भएका फाइनान्सलाई एउटै सफ्टवेयरमा समावेश गर्ने कामको नेतृत्व उनले नै गरे ।

मर्जरपछि बनेको कम्पनीमा पनि उनले विभागीय प्रमुखका रुपमा काम गरे । त्यसपछि निर्धन उत्थान लघुवित्तमा पुगे । निर्धन उत्थानको देशैभरि १८६ वटा शाखा थिए। ती सबै शाखालाई केन्द्रसँग आवद्ध गर्नु चुनौतीपूर्ण काम थियो । उनले शाखा कार्यालयका तथ्यांक केन्द्रीय कार्यालयमा ल्याउन धेरै मिहिनेत गर्नुपर्‍यो । प्रत्येक शाखाबाट सबै डेटा र सफ्टवेयरहरू सार्नु पर्‍यो।

निर्धनमा आईटी डिपार्टमेन्ट नै थिएन । त्यो काम गर्न उनलाई एक वर्ष नै लाग्‍यो । त्यतिबेला निर्धन उत्थानले देशभरका शाखामा इन्टरनेट जोड्न टेन्डर नै आह्वान गरेको थियो । उनी भन्छन्, ‘निर्धनले आफ्नो सबै ब्राञ्चको लागि इन्टरनेट चाहियो भनेर टेन्डर आह्वान गर्‍यो। किनकी हामीलाई सबै डेटा क्षेत्रबाट केन्द्रमा सार्नु थियो। त्यतिबेला हाम्रै लागि भनेर वर्ल्डलिंकले ७७ वटै जिल्लामा इन्टरनेट पुर्‍यायो’ विष्णुले भने ।

वित्तीय क्षेत्रपछि उनले नेपालमा सफ्टवेयरहरु बनाउने भारतीय कम्पनीको प्रमुख नै भएर काम गरे । त्यसपछि उनी सफ्टवेयरको उपभोक्ता मात्र नभएर निर्माता नै भए ।

उनी बैंक तथा वित्तीय संस्थाहरूले मागेको डिजाइन अनुसार सफ्टवेयर बनाउनतिर अग्रसर भए । खासगरी बैंक तथा वित्तीय संस्था भन्दा पनि सहकारीहरूलाई डिजिटाइज्ट कसरी गर्ने भन्‍नेतर्फ ध्यान दिएको महर्जन बताउँछन् ।

एम बैंक एप प्रयोग गरी सहकारीको खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर गर्न सकिने छ। नेपाल भरका जुनसुकै बैंकमा सहकारीको खाताबाट पैसा ट्रान्सफर गर्न सकिन्छ ।

उनले त्यो बहुराष्ट्रिय कम्पनीमा एक वर्षजति काम गरे। उनी भन्छन्, ‘कम्पनीको सबै काम भारतमै हुन्थ्यो। भारतबाट ग्राहकलाई राम्रो सेवा दिन सक्दैनथ्यो। काठमाडौंमा कोही पनि इन्जिनियर थिएन । सबै काम भारतबाटै हुन्थ्यो। तर हामीलाई भने सधैं ग्राहकबाट दबाब आउथ्यो।’

उनी अगाडि भन्छन्, ‘ग्राहकले धेरै कष्टमाइजेसन बनाउन लगाउनु हुन्थ्यो। जुन कुरा नेपालमा बसेर सम्भव नहुने । हामी सधैं  ग्राहकको निशानामा पर्थ्यौ ।त्यसपछि हामीलाई लाग्यो आफ्नै सफ्टवेयर बनाउने कम्पनी भए गज्जब  हुन्थ्यो। किनकी इन्डियन कम्पनी नेपालमा आएर सफ्टवेयर बनाउन सक्छ भने हामीले नै त्यो काम किन गर्न सक्दैनौ ? ’

अनि सुरू भयो सहकारी एम बैंक सफ्टवेयर 

भारतीय बहुराष्ट्रिय कम्पनीले नेपालमा बैंक तथा वित्तीय क्षेत्रहरूलाई लक्षित गरेर काम गरिरहेका थिए । भारतीयहरूले उतैबाट सफ्टवेयरहरू बनाएर नेपालमा रजगज गरिरहेको तर सेवा भने फिटिक्कै नदिएको महर्जनको दाबी छ ।

‘उनीहरूले नेपाली क्लाइन्टलाई सुरूमा सस्तोमा सेवा दिने र पछि प्रत्‍येक कष्टमाइजको चार्ज लगाउने गर्थे । भारतीय कम्पनीहरूको एकछत्र रजगज थियो। यसलाई हटाउन मन थियो र हामीले आफैले सन् २०१६ मा कम्पनी खोल्यौ।’

विष्णुसँगै भारतीय कम्पनीमा काम गरेका सञ्जय महासेठले मिलेर आफ्नै कम्पनी स्थापना गरे । कम्पनीको नाम उनीहरूले एम बैंक राखे र सेवा चाहिँ सहकारी लक्षित बताए । सुरूमा उनीहरू मध्यबानेश्वरमा एउटा कोठा भाडामा लिएर अफिस सञ्चालन गरे ।

पहिलो काम उनीहरूले एसएमएस बैंकिङ सफ्टवेयर बनाए । त्यसलाई नजिकैको भार्गभ सहकारीमा प्रयोग गरे । त्यो सफल भएपछि मोवाइल बैंकिङ सुरु गरेको विष्णु बताउँछन् ।

उनीहरूले पहिलो सेवा धनगढीको नवजीवन सहकारीलाई दिए । त्यसपछि दमकको कन्काइ विकास बैंकमा मोबाइल बैंकिङ सेवा प्रदान गरे । पहिलो पटक मर्कन्टाइलको पूमरीसँग सहकार्य गर्दै सफ्टवेयर बनाएको उनी बताउँछन्। हाल एम बैंकसँग पूमरी जस्तै ३८ वटा सफ्टवेयरहरू रहेको छ ।

लकडाउनमा एम बैंकिङ थप परिमार्जन

 पहिला- मोबाइल बैंकिङमार्फ टपअप र रिचार्ज मात्रै हुन्थ्यो । कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला मानिसहरू घरबाहिर निस्किन डराए । त्यतिबेला उनीहरुले घरबाटै वित्तीय कारोबार गर्न मिल्ने गरी सफ्टवेयरहरु बनाए ।

विष्णु भन्छन्, ‘मानिसहरू घरबाट बाहिर ननिस्किने अवस्थामा पनि प्रविधिले साथ दियो हामीलाई । त्यसपछि हामीले सबैलाई सजिलो होस् भनेर सहकारीबाट बैंकमा पैसा पठाउने सफ्टवेयर थप गर्‍यौं। त्यसमा ई-सेवा, खल्ती, आईएमई पेलगायतका राष्ट्रबैंकबाट मान्यता प्राप्त गेटवेहरूबाट सहकारीबाट बैंकमा पैसा पठाउन मिल्ने बनायौं।’

एम बैंकले बनाएको एपको प्रयोगले सहकारी संस्थाका सदस्यलाई आफ्नो निक्षेप जम्मा गर्न तथा भुक्तानी गर्नलाई लाइनमा बस्नु पर्ने अवस्थालाई कम गर्दै गएको छ।

अहिले यो सफ्टवेयरको प्रयोग बैंक र सहकारी दुबैले गरिरहेका छन् । एम बैंकले बनाएको एपको प्रयोगले सहकारी संस्थाका सदस्यलाई निक्षेप जम्मा गर्न तथा भुक्तानी गर्न लाइन बस्ननपर्ने बनाएको छ ।

‘अहिले त सहकारीबाट बैंकमा र बैंकबाट सहकारीमा पनि पैसा पठाउन र पाउन सकिन्छ’,  उनले भने, ‘यसले धेरै जनता र सहकारीका ग्राहकलाई राहत भएको छ । अहिले सहकारीबाट फोन पे पनि गर्न मिल्छ । ’

अब चाँडै नै नेपाल क्यूआर, स्मार्ट क्यूआर लगायतका नयाँ नयाँ प्रविधि थप गर्दै जाने विष्णुले बताए । ‘पहिले मानिस राजस्वको पैसा, ब्लूबुकको नवीकरण, बैकमा पैसा झिक्न र राख्‍न लाइन लाग्थे। अहिले सबै मोबाइलबाटै हुन थालेको छ । मानिसहरूले खानेपानी, विजुलीबत्तीको बिल पनि अनलाइनबाटै तिर्न थालेका छन्’ विष्णुले थपे ।

डिजिटल साक्षरता नै मुख्‍य चुनौती

सहकारीमार्फत कारोबार गर्नेहरूमा मोबाइल बैंकिङबारे कम सचेतना रहेको विष्णुले पाएका छन् । ग्रामीण क्षेत्रका बासिन्दालाई मोवाइल एप चलाउन सिकाउनु चुनौतीपूर्ण भएको उनी स्वीकार गर्छन् । त्यसका लागि सचेतना कक्षा आवश्यक पर्ने उनी बताउँछन् ।

सहकारीलाई मोबाइल बैंकिंङसँग जोड्ने हाम्रो टेक्नोलोजीको मोबाइल बैंकिङ प्लेटर्फम  ‘एम बैंक’ आठौं वर्षमा प्रवेश पुग्‍यो ।

सात वर्षअघि मध्यबानेश्वरको एउटा कोठाबाट सुरु भएको कम्पनीसँग हाल ७०० सय भन्दा बढी सहकारीलाई मोबाइल बैंकिंङको सेवा दिएको छ ।

१२ हजार रुपैयाँ लगानीमा सुरु भएको संस्था अहिले झन्डै ५० करोड रुपैयाँको पुगेको छ । यो कम्पनीमा हाल ३८ जनाले काम गर्छन् ।

आगामी दिनमा धेरै भन्दा धेरै सहकारीलाई प्रविधिमैत्री बनाउने लक्ष्य रहेको एम बैंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनको भनाइ छ ।

उनका अनुसार एम बैंक एप प्रयोग गरी सहकारीको खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर गर्न सकिन्छ । नपाल भरका जुनसुकै बैंकमा सहकारीको खाताबाट पैसा ट्रान्सफर गर्न सकिन्छ ।

एम बैंक एपमा आहिले आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, नेट, टिभी, रिचार्ज गर्न सकिन्छ।

लेखकको बारेमा
सहदेव चौधरी

समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?