+
+

कोशीमा बजेट पास गरेर विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

हरि अधिकारी हरि अधिकारी
२०८० साउन २८ गते २०:५९

२८ साउन, विराटनगर । कोशी प्रदेश सरकारले भदौ १ गतेबाट प्रदेशसभाको बैठक बोलाउने तयारी गरेको छ । गत असार १५ गतेदेखि स्थगित भएको तेस्रो अधिवेशनको बैठक भदौ १ गतेबाट बोलाउने तयारी गरेको हो ।

भदौ १० सम्म बजेट पास गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएका कारण सरकारले विश्वासको मत लिनुअघि बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको मुख्यमन्त्री उद्धव थापाले बताए ।

२१ असारमा तत्कालिन सभामुख बाबुराम गौतमसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थापा सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका थिए । तर त्यसपछिको सरकार गठन प्रक्रियामा सभामुख गौतमले राजीनामा दिएर समर्थन गरेपछि थापा पुन मुख्यमन्त्री नियुक्त भए भने गौतम हाल आर्थिक मामिला तथा योजनामन्त्री छन् ।

कोशी प्रदेशका तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेठ ३१ गते अध्यादेशमार्फत आर्थिक वर्ष २०८०–८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट पेश गरेका थिए । जसमा चालु तर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार विनियोजन गरिएको छ । १५ असारमा पदमुक्त हुनुअघि कार्कीले १४ असारमा बजेट अध्यादेश प्रदेशसभामा टेबुल गरेका थिए ।

६० दिनभित्र प्रतिस्थापन विधेयक पारित नभए अध्यादेश निष्क्रिय हुने संवैधानिक व्यवस्थाका कारण अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक १० भदौसम्म पारित गर्नुपर्छ ।

भदौ १० गतेभित्रै प्रतिस्थापन विधेयक पारित गर्ने मुख्यमन्त्री थापाले बताए । सबै दलको सहमतिमा संशोधनसहित प्रतिस्थापन गर्ने तयारी भएको शुक्रबार पत्रकार सम्मेलनमार्फत बताएका थिए ।

बजेट प्रतिस्थापन गरेपछि मात्रै विश्वासको मत लिने उनको तयारी छ । तत्कालिन मुख्यमन्त्री कार्कीले संसदमा पेश गरेको अध्यादेश विरुद्ध प्रदेशसभा सचिवालयमा दुई वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेश सभामुखविहीन भएको अवस्थामा प्रदेशसभाको बैठक उपसभामुख सिर्जना दनुवारले सञ्चालन गर्नेछिन् ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी भदौ १० गतेसम्म बजेट पास गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएका कारण संसदमा सरकारले ल्याउने प्रतिस्थापन विधेयक पर्खिएको बताउँछन् ।

विधेयक ल्यउँदा अध्यादेशको प्रावधानलाई तोडमोड गर्न नहुने उनको भनाइ छ । ‘बजेट चाहिँ भदौ १० गतेभित्र पास हुनुपर्छ, हाम्रो सरकारको पालामा आएको बजेट हो, बजेट होलिडे पनि हुन नदिने हाम्रो पनि दाहित्व हो’, उनले भने, ‘तर उहाँहरुले अनावश्यक र अनुचित ढंगले बजेटमा तोडमोड गरेर असान्दर्भिक अव्यवहारिक बजेट ल्याए त्यति बेला के गर्ने भन्ने विषयमा सल्लाह गर्छाै ।’

बजेट पास गर्न सहज, विश्वासको मत लिन कठिन

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता गठबन्धनमा कठिन बहुमत ४७ मत छ । तत्कालिन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत जुटाएका कारण प्रदेशसभा सभामुखविहीन छ ।

उपसभामुख सिर्जना दनुवार छिन् । बजेट प्रतिस्थापन विधेयकमाथिको छलफलको अध्यक्षता दनुवारले नै गर्नेछिन् । त्यसपछि उनी विदामा बस्ने तयारी छ । उपसभामुख विदा बसे प्रदेशसभामा सत्ता पक्षको बहुमत पुग्ने सम्भावना कठिन हुनेछ ।

कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी मुख्यमन्त्रीको पक्षमा ४७ सांसद छन् । नेकपा एमालेका ४० र राप्रपाका ६ जना उनको विपक्षमा छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?