+
+

ट्रम्पलाई राष्ट्रपति चुनाव अगावै रिपब्लिकनले हराउलान् ?

एजेन्सी एजेन्सी
२०८० साउन ३१ गते १२:१०

डोनाल्ड ट्रम्पविरुद्ध तीनवटा आपराधिक मुद्दा दर्तापछि उनलाई फेरि धोकाधडीको मुद्दा दर्ता गरियो । फ्लुटोन काउन्टीका न्यायाधिवक्ताले उनीविरुद्ध सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आपराधिक गिरोह परिचालन गरेको भन्दै मुद्दा दर्ता गरेका हुन् ।

ट्रम्पसहित अन्य १८ जनाले संघीय सरकारको माफिया र राज्यविरुद्ध धोकाधडी सम्बन्धी रिको कानुन उल्लंघन गरेको अभियोजन दर्ता भएको हो ।

जर्जियामा ट्रम्पले भीडको नेतृत्वको रुपमा व्यवहार गर्दै त्यहाँका राज्य प्रमुखलाई चुनाव रद्द गर्दै निर्वाचन सामग्री जफत सम्बन्धी छलफलमा ह्वाइटहाउस आउन दबाब दिएका थिए । ट्रम्पसहित उनका निकटवर्तीहरु मार्क मिडोज, न्युयोर्कका तात्कालीन मेयर रूडोल्फ जिलानी सहितलाई आपराधिक मुद्दा दर्ता भएको हो ।

राज्यविरुद्ध धोकाधडी र षड्यन्त्रको मुद्दा पनि विचाराधीन छ । चुनावमा धाँधलीसहित राज्यका कर्मचारीलाई आफ्नो शपथविपरीतको काम गर्न दबाब दिएको विषयमा उनले मुद्दा खेपिरहेका छन् ।

उनीविरुद्ध संघीय कानुनअन्तर्गत चार वटा आपारधिक मुद्दा चलिहरेको छ ।  यसले उनको आगामी राष्ट्रपतीय निर्वाचनको यात्रा, व्यक्तिगत  र व्यवसायिक जीवनमा पक्कै प्रभाव पार्नेछ । तर उनले यी मुद्दा केही पनि नभएको झैं गरिरहेका छन् ।

उनीविरुद्ध विचाराधीन यी मुद्दाले ट्रम्पको ह्वाइटहाउसमा योग्यताका सवालमा, उनको विचार र व्यवहारका सम्बन्धमा र अमेरिकी लोकतन्त्रका सवालमा प्रश्न खडा भएका छन् ।

यी प्रश्नका उत्तर अदालतबाट भन्दा पनि मतदाताबाट आउनेछन् । रिपब्लिकनका मतदातासामु दुई विकल्प छन् । पहिलो राष्ट्रपति निर्वाचनको प्रारम्भिक मतदानमा सही नेतृत्व छनोट गरेर मुलुक र पार्टीको भविष्य अझै सुन्दर बनाउने  । दोस्रो, ट्रम्पलाई फेरि शक्ति सुम्पिएर मुलुक र पार्टीको भविष्य थप डामाडोल पार्ने ।

एकैछिन ट्रम्पले पहिलोपटक राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिएदेखि आठवर्षको अवधिलाई पर राखेर अमेरिकी जनतासमक्ष उनीविरुद्ध चलिरहेका कानुनी झमेलाबारे चर्चा गरौं । राष्ट्रपतीय निर्वाचनको दौरान अमेरिकी जनतासँग मत माग्दै गर्दा उनीमाथि विभिन्न फौजदारी अभियोगमा मुद्दा छ ।

आफ्नो मुद्दाबारे समर्थकलाई ट्रम्प भन्छन्, ‘यो अभियोग तिमीहरुलाई पनि हो । उनीहरु मलाई मौन राख्न चाहान्छन् किनभने मैले तिमीहरुलाई उनीहरुको षड्यन्त्रवविरुद्ध मौन हुन दिएको छैन।’

ट्रम्पले आफ्नो अहंकार महत्वाकांक्षालाई बारम्बार जनहित र समर्थकका लागि भनेर प्रचार गरिरहेका छन् । ट्रम्प त्यस्ता व्यक्ति हुन् जसले लोकतन्त्रप्रति मानिसको विश्वास घटाउने काम गरे  ।

यस्तै, लोकतन्त्रको आधारस्तम्भ स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई प्रभावित बनाए । ट्रम्पले बारम्बार संवैधानिक जिम्मेवारीविरुद्ध धोकाधडी गरे ।

ट्रम्पको पराजयबाट उनीझैं उनका समर्थक पनि आक्रोशित र निराश हुनसक्छन् । तर ट्रम्पमाथि लागेको अभियोग र उनको अभिव्यक्ति सुन्दा के प्रस्ट हुन्छ भने उनी आफ्नो स्वार्थका लागि मात्रै सरोकार राख्छन् ।

उनले राज्यका गोप्य दस्तावेज आफ्नो निजी निवासमा पुर्‍याए । त्यसमा आणविक विषय र हमलाका गोप्य कागजात थिए । त्यस विषयमा पटक-पटक प्रश्न गर्दा उनले अस्वीकार गर्दै आए । त्यति मात्रै गरेनन्, यो आरोप पुष्टि हुन नदिनका लागि आफ्ना सहयोगी र विश्वासपात्रमार्फत त्यस दस्तावेज राखिएको बाकसलाई ध्वस्त बनाउने काम गरे। न्याय तथा कानुन मन्त्रालयको आदेशपछि समेत उनले सीसीटिभी फुटेज हटाउने काम गरे ।

निर्वाचनको परिणामपछि उनले उपराष्ट्रपति र उच्चपदस्थ अधिकारीको प्रयोग गर्दै मतदानको नतिजा अस्वीकार गर्दै आफूलाई विजेता घोषणा गर्न अग्रसर भए ।

ह्वाइटहाउसमा रहनका लागि उनले लाखौं अमेरिकी मतदाताको अपमान गरे । त्यतिमात्रै होइन फर्जी मतदाता खडा गरेर आफ्नो पक्षमा मतदानका लागि कर्मचारीहरुलाई सहयोगीमार्फत दबाब दिए ।

उदाहरणका लागि उनले फ्लुटो काउन्टीमा निर्वाचनका खटिएका कर्मचारीलाई हाकाहाकी बाइडेनको पक्षमा फर्जी मत खसाएको आरोप लगाए । त्यहाँ खटिएकी रुबी फ्रीम्यानले भनेकी छिन्, ‘मलाई ट्रम्पले बाइडेनको पक्षमा फर्जी मतले मतपेटिका भर्ने एक व्यवसायिक स्क्यामर भने ।’

यस्तै ट्रम्पको पोर्नस्टारसँग विवाहेत्तर सम्बन्ध रहेको कुरा पनि बाहिरियो । राष्ट्रपतीय निर्वाचनका दौरानमा उक्त विषय खुलासा भए खतरा हुने प्रक्षेपण उनको थियो । त्यसलाई दबाउनका लागि एक लाख ३० हजार डलर दिएको विषय पनि सार्वजिनक भयो ।

उनको अपराधको सूचीमा जेन क्यारोमाथि भएको यौन र्दुव्यवहारमा ट्रम्प नैतिक रुपमा जिम्मेवारी रहेको विषय र कर छलीका विषय समेत समेटिँदैछन् ।

फौजदारी अपराधको अभियोजन श्रृंखलाकाबीच ट्रम्पले रिपब्लिकनलाई आफूलाई चयनका लागि दबाब दिइरहेका छन् । उनको यो दबाबले पार्टीमा ध्रुवीकरण बढ्दैछ । रिपब्लिनलाई अब आफ्नो एजेण्डा अनुरुप पार्टीलाइ नयाँ रुप दिनुपर्नेछ । तर यदी उनीहरुले ट्रम्प समक्ष आत्मसमर्पण गरे ट्रम्प फेरि राष्ट्रपतिको उम्मेदवार बनेर विजयी भएमा त्यसले पहिले पार्टीलाई क्षति पुर्‍याउने छ र मुलुकलाई ध्वस्त बनाउनेछ ।

कानुन मन्त्रालयले फौजदारी मुद्दा चलाएको राष्ट्रपतिबाट मुलुकमा कानुनी राज्यको अपेक्षा गर्न सकिंदैन । कथमं ट्रम्प निर्वाचित भइहालेमा उनले पहिलो कामनै आफूविरुद्धको सबै अभियोजन स्थगितको निर्देशन पक्का दिनेछन् ।

राष्ट्रिय सुरक्षामा खलल पुर्‍याएका व्यक्तिबाट राष्ट्रिय हितका सवालमा विश्वसनीय हुनुपर्ने कुनै आधार छैन । ट्रम्पको कार्यकालमा कुनै पनि गोप्य दस्तावेज वा कुनै पनि संवाद सुरक्षित हुनेछैन ।

उनले संसदमा आक्रमण गराएर मुलुकको लोकतान्त्रिक छविको धुलीसात गरे । धोखाधडी मार्फत आफ्नै मुलुकको लोकतान्त्रिक जगमाथि आक्रमण गर्ने व्यक्ति चुनावमा फेरि उठ्ने कुरा नैतिक होइन ।

ट्रम्पले यो नैतिकता नदेखाए पनि रिपब्लिकनले देखाउनुपर्नेछ ।

अहिले ट्रम्पविरुद्धका मुद्दा अदालतमा विचाराधीन छ । अदालतले दुवै पक्षलाई बोलाएर बहस जारी राखेको छ । यो प्रणालीले अमेरिकी न्यायिक प्रणालीलाई थप बलियो बनाउनेछ । ट्रम्पले भनेझैं यी प्रक्रियाले राजनीतिको ध्रुवीकरण बढाउने नभएर तथ्यलाइ स्थापित गर्नेछ ।

त्यसैले, अदालतले ट्रम्पका तर्क र उनका विरुद्ध बयान र प्रमाणलाई गहन रुपमा केलाइरहेको छ । पेश गरिएका प्रमाणका आधारमा अदालतले को  दोषी वा निर्दोषको फेसला सुनाउनेछ ।

ट्रम्प पनि दोषी प्रमाणित नहुन्जेलसम्मका लागि निर्दोष नै हुन् । तर आठ वर्षको अवधिमा चारपटक फौजदारी अभियोग किन भोग्नुपर्‍यो यसको जवफा उनले दिनैपर्छ ।

यो प्रश्नको जवाफ उनले आफ्नो मतदातलाई दिनुपर्नेछ । पार्टीमा उनको पकड देखिन्छ तर यो सधैं रहन्छ भन्ने हुँदैन । पार्टीभित्रको प्रारम्भिक मतदानमा उनी अझै पनि अन्य उम्मेदवार भन्दा अघिनै छन । ५४ प्रतिशतले उनैलाई मतदान गर्ने सर्वेक्षण सार्वजनिक भएको छ ।

ट्रम्पविरुद्धका मुद्दा डेमोक्र्याटलाई फाइदा पुर्‍याउनका लागि भएको तर्क कतिपय रिपब्लिकनले गरिरहेका छन् । ट्रम्पले पनि जबरजस्त रुपमा यही विषय स्थापित गर्ने भरमग्दुर प्रयत्न गरेका छन् ।

यो मुद्दाको परिणामले राजनीतिक असर पुर्‍याउन सक्छ । तर यो राजनीति गर्ने विषय भने होइन । लोकतान्त्रिक व्यवस्था रक्षाको वकालत गर्ने कानुन व्यवसायी क्रिष्टी पार्करको भनाइ छ, ‘राजनीतिक व्यक्ति माथिको अभियोजन राजनीतिक उद्देश्य प्रेरित भन्ने हो भने यसले उनीहरुलाई आफूले गरेका गलत काममा जवादेही कहिल्यै बनाउनेछैन । कुनै पनि समाजमा यस्तो कुरा गरियो भने न त त्यहाँ कानुनी राज स्थापना हुनेछ न त कानुनका नजरमा सबै समान हुन्छ्ने भन्ने उक्ति काम लाग्नेछ।’

ट्रम्पले रिपब्लिकनका लागि सधैं झुठो विकल्पमात्रै दिने गरेका छन् । मलाई समर्थन नगरेको खण्डमा ह्वाइटहाउसमा विपक्षीको राज हुनेछ । एक स्वस्थ राजनीतिक दल  एकै व्यक्तिमात्रै भरपर्दैन । आफ्नो दल र मुलुककै नाम खराब गर्नेसँग त झनै भरपर्नु हुँदैन । स्वस्थ लोकतान्त्रिक राज्यमा एक-अर्कालाई स्वस्थ हिसाबले चुनौती दिने र मुलुकलाई सही दिशा दिनसक्ने दलहरुबीच प्रतिस्पर्धा हुनैपर्छ । यसपटक रिपब्लिकनका मतदातालाई पार्टी र मुलुकको स्वास्थ्य सुदृढीकरणका लागि उपयुक्त अवसर छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?