+
+

डोनाल्ड ट्रम्पलाई चिठी मार्फत विष पठाएकी महिलालाई झण्डै २२ वर्ष जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते ५:३८

१ भदौ, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमार्फत जैविक हतियार (विष) पठाएको आरोपमा क्यानडाकी एक महिलालाई अदालतले झण्डै २२ वर्षको जेल सजाय सुनाएको छ । ५६ वर्षीया पास्कल फेरियरलाई अदालतले २६२ महिना* (झण्डै २२ वर्ष) जेल सजाय सुनाएको हो ।

सन् २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरिएको एक घातक चिठी ह्वाइट हाउस पुग्नुभन्दा अगाडि नै सुरक्षाकर्मीले बरामद गरेका थिए । सो चिठीमा रिसिन नामको विष रहेको पत्ता लागेको थियो । लगत्तै उनी पक्राउ परेकी थिइन् ।

फेरियरले अदालत समक्ष आफूले जैविक हतियार ट्रम्पलाई पठाएको स्वीकारसमेत गरेकी थिइन् । तर उक्त जैविक हतियार ट्रम्पसम्म पुग्न नपाएकोमा आफू दुःखी भएको उनले बताएकी थिइन् ।

फेरियरले जेल सजाय भोगिसकेपछि अमेरिकाबाट निर्वासनमा पठाइने र यदि अमेरिका फर्किए पनि कडा निगरानीमा राखिने बीबीसीले जनाएको छ ।

अडेरको बीउमा पाइन्छ रिसिन

रिसिन विषाक्त प्रोटिन हो । यो अडेर (अरन्डी) को बिउमा पाइन्छ । यसमा तेलको मात्रा बढी हुन्छ । अडेरको तेल औषधिको रुपमा प्रयोग हुन्छ ।

बीउबाट तेल निकालिसकेपछिको पिनामा ५ देखि १० प्रतिशत रिसन नामको विष पनि हुन्छ । निश्चित प्रक्रिया पूरा गरी त्यसबाट विष निकालिन्छ । त्यो प्रक्रिया सरल भएकाले अमेरिकाले त्यसको रेसिपीलाई इन्टरनेटमा प्रतिबन्ध लगाइदिएको छ ।

त्यो विष सेवन गरेमा वा नाकको माध्यमबाट शरीरमा प्रवेश गरेमा मानिसमा ज्वरो आउने, रुखाखोकी लाग्ने, फोक्सोमा पानी जम्ने र मानिसको मृत्यु पनि हुनसक्ने जोखिम रहन्छ ।

(*यसअघि समाचारमा २६२ दिन उल्लेख भएकाले सच्याइएको छ । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?