+
+

केरा खेती विनाश गर्ने रोगको नयाँ प्रजाति नेपालमा भेटियो

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० भदौ ३ गते २०:१६

३ भदौ, काठमाडौं । नेपालमा व्यावसायिक रुपमा धेरै खेती गरिने केराको प्रजातिलाई विनाश गर्न सक्ने नयाँ रोगको प्रजाति फेला परेको छ । कृषि वैज्ञानिकहरुको एक टोलीले एक महिना लगाएर गरेको खोज अनुसन्धानमा सुदूरपश्चिम प्रदेशको कैलालीमा ‘पानामा’ रोगको ‘टीआर–फोर’ नामक हानिकारक प्रजाति केरामा लागेको पुष्टि गरेको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायले गरेको अन्वेषणमा यस्तो तथ्य पत्ता लागेको वैज्ञानिक डा. राम खड्काले अनलाइनखबरलाई जानकारी दिए ।

वैज्ञानिकहरु सुरज वैद्य र खड्कासहितको टोलीलले साउन १० गते शंकास्पद लक्षण पछि एक किसानको फार्मको केरामा लागेको रोगको नमूना काठमाडौं ल्याएर जाँच गरेको थियो ।

काठमाडौंमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा केरामा लाग्ने पुरानो रोग ‘पानामा’ को नयाँ प्रजातिको लक्षण देखिएपछि वैज्ञानिकहरुले त्यसको जाँच सिङ्गापुरमा गराएका थिए । सिङ्गापुरबाट १ भदौमा आएको प्रयोगशाला रिपोर्टमा ‘पानामा टीआर–फोर’ रोग पुष्टि भएको डा‍. खड्काले बताए ।

‘हामीले १० साउनबाट थालेको अध्यायनको नतिजाले नेपालको जी–नाइन’ प्रजातिको केरालाई बिनासै गर्न सक्ने ‘पानामा टीआर–फोर’ रोग नेपालमा भित्रिएको पुष्टि भएको छ,’ उनले भने ।

के हो केरामा लाग्ने यो रोगको प्रजाति ?

वैज्ञानिकहरुकाअनुसार केरामा यो प्रजातिको रोग लाग्नु भनेको केरा नै विनाश हुनु हो । यसअघि सन् १९७४ मा अष्ट्रेलियामा यो रोगको पहिलो प्रजाति ‘पानामा’ फेला परेको थियो । उक्त रोगका कारण अष्ट्रेलियासहित, अफ्रिकाका सबै केरा खेती सखाप भएको वैज्ञानिक खड्का बताउँछन् । तत्कालीन केराका प्रजातिहरु यो रोगसँग लड्न नसकेपछि वैज्ञानिकहरुले रोगलाई यथावत नै छाडेर केराको नयाँ प्रजाति ‘जी–नाइन’ आविष्कार गरेर व्यावसायिक केरा खेतीलाई पुनर्जीवन दिएका थिए ।

विश्वभर व्यावसायिक केरा खेतीमा ‘जी–नाइन’ जातको प्रयोग थालिएपछि अन्य रैथाने केरा यही रोगका कारण मासिएको उनी बताउँछन् । ‘पानामा’ रोग नेपालमा १५ वर्ष अघि भित्रिएको र त्यसले नेपालको रैथाने मालभोग जातको केरा नष्ट गरेको नार्कले जनाएको छ ।

नेपालको रैथाने केरामा सो रोग रहेपनि अहिले व्यावसायिक रुपमा भइरहेको केरा खेतीको ८० प्रतिशत हिस्सा ओगट्ने ‘जी नाइन’ जातको केरामा नयाँ रोग देखिएको थिएन ।

वैज्ञानिकहरुले विश्वमा व्यावसायिक केरा खेतीका लागि विकास गरेको ‘जी–नाइन’ जातको केरामा पहिलो पटक १९९६ मा इन्डोनोसियामा यो रोग पुष्टि भएको थियो । भारतमा सन् २०१५ मा यो रोग देखिए पनि नेपालमा भने हालसम्म नदेखिएको डा. खड्का बताउँछन् ।

केरामा पर्ने असर

नार्कका वैज्ञानिकहरुका अनुसार नेपालमा अहिले व्यावसायिक रुपमा ‘जी–नाइन’ जातको केरा खेती भइरहेको छ । राष्ट्रिय फलफूल विकास केन्द्रले २०७६ सालमा गरेको अध्ययनमा नेपालको १६ हजार ६१५ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । ४ वर्ष अघिको सो तथ्याङ्‍कमा वार्षिक २ लाख ७८ हजार ८९० टन केरा उत्पादन हुने भनिए पनि अहिले सो बढेको अनुमान छ । नेपालमा भएका केरा खेतीमध्ये करिब ८० प्रतिशत ‘जी–नाइन’ प्रजातिका छन् ।

यो प्रजातिमा नयाँ रोग लागेको खण्डमा केराको फेदैदेखि पात पहेंलो हुने र अन्तमा रुखै ढल्ने वैज्ञानिक खड्का बताउँछन् । ‘यो एउटा यस्तो हानिकारक रोग हो जसले केरा सबै नै सखाप बनाउन सक्छ,’ खडकाले भने । बेलैमा यो रोग नियन्त्रण गर्न सकिएन भने नेपालमा व्यावसायिक केरा खेती मासिने जोखिम आफूहरुको अध्यायन र अन्तर्राष्ट्रिय घटनाहरुमा देखिएको खड्काले दाबी गरे ।

के छ निदान ?

रोग पुष्टि भएपछि कैलालीका ती किसानलाई रोगबारे बताइएको र सरकारी नियकालाई पनि जानकारी गराइएको नार्कले जनाएको छ । नार्कको काम अन्वेषणात्मक भएका कारण यसबारे सोमबार विस्तृतमा जानकारी दिएर देशैभरका सरकारी निकाय र कृषकलाई सूचित गर्ने तयारी गरिएको पनि डा. खड्काले बताए ।

तर, नेपालको केरा जोखाउने हो भने तत्काल रोग देखिएको ठाउँ सिल गरेर निर्मलीकरण गर्ने र त्यहाँबाट प्लान्ट प्रजाातिको ओसार पार तथा मानविय गतिविधि रोक्नु पर्ने वैज्ञानिकहरुले बताएका छन् ।

सरकारले यसबारे बेलैमा कदम नचाले यो रोगले भयवह अवस्था सृजना गर्ने वैज्ञानिकहरुको अनुमान छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?