+
+
फिल्म र समाज :

हिन्दू राष्ट्रवादलाई बेच्न सफल सनी देओलको ‘गदर २’

हीरा विश्वकर्मा हीरा विश्वकर्मा
२०८० भदौ ४ गते १२:१९

म पाकिस्तानमा एक महिना बसेको छु, त्यो बसाइ हरेक हिसाबले अत्यन्त आत्मीय रह्यो । हिन्दूहरुको अतिथि देवो भवः भन्ने जुन भनाइ छ, मुस्लिम देश भए पनि त्यसलाई वास्तविक अर्थमा उनीहरुले लागू गरेको मेरो ठम्याइ हो ।

एक महिनाको अवधिमा मैले त्यहाँको सहरी तथा ग्रामीण जीवन देख्न र केही हदसम्म अनुभूति पनि गर्न पाए । संयोगले एउटा गाउँ उनीहरुको स्वतन्त्रता दिवस १४ अगस्टमा पनि भाग लिएँ । त्यहाँ रहँदा मलाई लागेन उनीहरु कुनै पनि प्रकारका हिंसालाई बढावा दिने नागरिक हुन् । तर मलाई धेरै आश्चर्य लाग्छ खासगरी हिन्दी सिनेमाहरुले भारत र पाकिस्तानको मनमुटावलाई यति बढाइचढाइ प्रस्तुत गर्छन् कि मानौं भारतीयहरुका लागि पाकिस्तान सबैभन्दा ठूलो राक्षस हो ।

मेरो एक महिनाको बसाइको क्रममा त्यहाँका एक जना मित्रले भनेका थिए- ‘भारत र पाकिस्तानका शासकहरु दुवैले कश्मीर समस्यालाई कहिल्यै पनि सल्टाउन चाहँदैनन्, किनभने कश्मीरको समस्या सल्टिने बित्तिकै दुवै देशका शासकलाई लड्ने मूल विषय नै बाँकी रहँदैन । अतः त्यो समस्यालाई ज्यूका त्यूँ राख्न नै उनीहरुले साधन स्रोत खर्च गरिरहेका छन् । त्यही स्रोत अन्य विकास निर्माणमा लगाएको भए आज पाकिस्तान र भारत अर्कै देश हुन्थे ।’

यही पृष्ठभूमिलाई आधार मानेर ११ अगस्टमा रिलिज भएको बलिउड फिल्म ‘गदर २’ हेरें । यसको मूल कथावस्तु मैले अनुभव गरेकै क्षेत्रमा केन्द्रित छ । तर त्यो भन्दा बढी यो अहिलेको मोदीको हिन्दू राष्ट्रवादलाई यसले मज्जाले नै बेच्न सफल भएको छ । किनभने भारत पाकिस्ताको विभाजन भएको पनि ७६ वर्ष भइसक्यो अर्थात् लगभग दुई पुस्ताले अलग देशको अभ्यास गरिरहेका छन् । तर तेस्रो पुस्तामा आइरहँदा सन् १९४७ को अवस्था त अहिले निश्चय पनि छैन । कश्मीरको सवाललाई छोड्ने हो भने दुई देशबीच अरु कुनै ठूला सवालहरु छैनन् । तै पनि किन यही चरम दुश्मनीकै कथाहरुलाई अहिले पनि भारतीय मनोरञ्जनको बजारले खरिद गरिरहेको छ । सोचनीय विषय हो यो ।

हीरा विश्वकर्मा

गदरको अर्थ विद्रोह हुने रहेछ, अंग्रेजीमा यसलाई म्युटिनी भनिंदो रहेछ । अतः विद्रोह हुँदा हत्या, हिंसा र मारकाट नहुने कुरै भएन, गदर १ मा पनि यही थियो भने २२ वर्षपछि पनि त्यही कुरालाई देखाउँदा त्यसमा केही नयाँपन त ल्याउनै पर्‍यो । यसरी २२ वर्षको अन्तरालमा बुनिएको कथा भए पनि यसका कथाकार तथा निर्देशक अत्यन्त सफल छन् ।

सिक्वेल भन्ने बित्तिकै परिवेश तथा कथाको दिशा उस्तै–उस्तै भए पनि मुख्य कलाकारबाहेक अरु नयाँ वा अर्कै हुन सक्छन्, जस्तो कि फिल्म ‘गोलमाल’का सिरिज । तर गदर २ त्यस्तो छैन । उही परिवेश र कथालाई एउटै परिवारभित्र घटेको समयको अन्तरालबीचको कथालाई रोचक ढंगले प्रस्तुत गरिएको छ । गदर १ को कथामा भारत विभाजनको क्रममा हिन्दू र मुस्लिमबीच भएको साम्प्रदायिक दंगामा फसेकी मुस्लिम युवतीको ज्यान बचाउनका लागि एक जना शिख युवक (सनी देओल)ले रगतको सिन्दूर लगाई दिन्छन् र अब उनी शिखणी भई भन्दै उसलाई बचाउने मात्र नभई विवाहसमेत गर्छन् । एउटा छोरोसमेत जन्मिन्छ ।

उता पाकिस्तान सरेका सखीना (अमिषा पटेल)का पिता असरफ अलि (अमरिश पुरी)ले आफ्नी छोरीलाई जसोतसो पाकिस्तान बोलाउँछन् र त्यतै राखेर अरुसँगै विवाह गरिदिने प्रपञ्च गर्छन् ।

आफ्नी श्रीमतीलाई पाकिस्तानमै अड्काएको अवस्थामा श्रीमतीलाई विभिन्न प्रकारको लडाइँ लडेर तारा सिंह अर्थात् सनी देओलले भारत ल्याउँछन् । अहिले हलमा चलिरहेको गदर २ को कथा पनि ठ्याक्कै गदर १ जस्तै छ । फरक के भने पहिले आफ्नी फसेकी श्रीमतीलाई लिन तारा सिंह पाकिस्तान जान्छन् । भने गदर २ मा आफ्ना फसेका छोरा जितलाई लिन त्यहाँ जान्छन्, जुन युद्ध र हर्कत श्रीमतीलाई लिन जाँदा गरेका हुन्छन्, लगभग त्यही हर्कत अलि फरक शैलीमा गरेर छोरोलाई मात्र फर्काउँदैनन्, छोराका लागि पाकिस्तानी बुहारी पनि ल्याउँछन् । कथा यत्ति हो ।

तर कथालाई जुन रुपमा बुनिएको छ र प्रस्तुत गरिएको छ त्यो आफैंमा जबरजस्त छ भन्दा फरक पर्दैन । गदर २ को कथामा भारत र पाकिस्तानको बीचमा भइरहने सानातिना लडाइँका लागि जोखिमपूर्ण ठाउँमा तारा सिंहले सैनिकका लागि हातहतियार ट्रकमा लिएर गएका हुन्छन् । उता पाकिस्ताका सेनाले भीषण आक्रमण गर्छन् र तारा सिंह पनि अन्य सैनिकहरुसँग बेपत्ता हुन्छन् ।

यता परिवारमा रहेका आमा छोरालाई उनी पाकिस्तानको कुनै जेलमा रहेको जानकारी दिइन्छ, अनि नक्कली पासपोर्ट र भिसा लिएर असफाकको नाममा जिते पाकिस्तान छिर्ने र आफ्नो बुबालाई खोज्ने क्रममा उनी पनि जेल पर्छन् ।

यता तारा सिंहलाई कुनै माझीले बचाएको हुन्छ तर उनी कोमामा गएको हुँदा चाँडै घर फर्किन सक्दैनन्, जब घर फर्किन्छन् तब थाहा पाउँछन् उनका छोरा पाकिस्तानमा कैद छन् । उनी पनि छोरालाई बचाउन पाकिस्तान पुग्छन् र अनि सुरु हुन्छ भीषण लडाइँ ।

पुरानो गदरलाई जोड्ने महत्वपूर्ण कडी थिए अमरिश पुरी जो धेरै पहिले दिवंगत भइसकेका छन् । उनलाई तारा सिंहलाई मद्दत पुर्‍याएको दोषमा फाँसी दिइएको देखाइन्छ । यसले पनि गदर २ लाई सान्दर्भिक तथा रोचक बनाएको छ । गदर १ को बहुचर्चित आइकोनिक दृश्य भनेको तारा सिंहले भीडलाई नियन्त्रण गर्नका लागि उखेलेको ह्याण्ड पम्प, गदर दुईमा पनि यो दृश्यको समायोजन गरिएको छ, जब धार्मिक भीडले उनलाई लखेट्दै जान्छ तब उनी ह्याण्ड पम्पको नजिक पुग्छन् ।

तब त्यत्रो ठूलो भीड उनीसँग डराएर भाग्छ । पहिलो फिल्ममा यो दृश्य आइसकेको हुँदा यसलाई दोहोर्‍याउने गल्ती निर्देशकले नगरे पनि अरु दुईवटा आइकोनिक दृश्य यो गदर २ मा सिर्जना गरिएको छ । त्यो हो वयल गाडाको चक्का उचालेर प्रहार गर्नु र घनले जीपलगायतलाई पछार्नुका साथै घनले नै पाकिस्तानी सैनिकहरुको गर्धन छिनाउनु । यी दुवै दृश्यहरुले दर्शकलाई सनी देओलको एक्सनले दिने मनोरन्जन भरपुर दिएको छ ।

यो फिल्मका खलनायक एक जना पाकिस्तानी जनरललाई देखाइएको छ, जो एकप्रकारले टाइप कास्ट भइसकेको जस्तो लाग्छ । किनभने शाहरुख खानको पठानमा पनि उनलाई सोही रुपमा देखाइएको थियो । भारतमा रहेका मुस्लिमहरु शान्तिपूर्वक रहेका छन् भन्ने अवस्थालाई पाकिस्तानी जनताबीचमा नकारात्मक रुपमा अर्थात् प्रताडनामा छन् भन्ने देखाउन भारतीय मुसलमानले लखनऊमा हामी शान्तिपूर्वक रहेका छौं भनेर भन्दा उनलाई निर्घात कुटिन्छ । यो दृश्यलाई अतिरञ्जित वनाइएको देखिन्छ ।

तारा सिंह शिख भएका हुँदा यो हिन्दू र मुस्लिमबीचको लडाइँको रुपमा देखाउनु जरुरी थिएन । तर निर्देशकले तारा सिंह र उनका छोरा जिते पाकिस्तानी प्रहरी तथा सेनाहरुसँग लड्दा हिन्दू मन्त्रहरु गुन्गुनाएका छन्, जुन मोदी र योगीलाई खुसी पार्नबाहेक फिल्ममा प्रयोग गर्न आवश्यक थिएन । तर जे भए पनि आम भारतीय र पाकिस्तानीहरु भाइचारा र शान्ति चाहन्छन् भन्ने दृश्यहरु फिल्ममा निकै ठाउँमा भावुक तरिकाले देखाइएको छ । जितेले पाकिस्तान मेरो ननिहाल हो भन्नु र पाकिस्तानी केटी जितेसँग जुनसुकै मूल्य चुकाएर भारत आउनुले यो फिल्म भारत र पाकिस्तानलाई जोड्ने कडी हो भन्ने पनि देखाउँछ । तर जुन प्रकारले पाकिस्तानलाई उसकै भूमिमा पसेर भारतीय बाबुछोराले परास्त गर्छन् त्यसले भने दुई देशबीचको सौहार्द्धता बढाउँदैन ।

उस्तै भाषा, संस्कृति भएका भारत र पाकिस्तान मिलेमा यो सम्पूर्ण दक्षिण एसियाले त्राण पाउँथ्यो त्यसमा नेपाल पनि उत्तिकै लाभान्वित हुन्थ्यो । यदि यी दुई देशको बीचमा भाइचारासहितको मेलमिलाप भएमा हामी पनि दक्षिण पूर्वी एसियाली देशहरुको संगठन आसियान जस्तै सम्वृद्धिको बाटोमा लाग्न सक्थ्यौं । तर भारत पाकिस्तानको विभाजन भएको ७६ वर्षपछि पनि भारतीय दर्शकहरुले यस्तो फिल्मलाई ब्लकबस्टर बनाउनुले यी दुई देशको मित्रतामा अझै कति वर्षसम्म फाटो आइरहने हो, थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?