+
+

नेपालले भारतलाई बेच्यो २ सातामा ६ लाख ७० हजार किलो गोलभेंडा

८० लाख मूल्य बढीको गोलभेंडा निर्यात

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० भदौ ४ गते १९:५०

४ भदौ, काठमाडौं । नेपालको गोलभेंडामा लगाइएको प्रतिबन्ध फुकुवा भएपछि दुई सातामा ६ लाख ७० हजार किलो गोलभेंडा भारत निकासी भएको छ ।

यद्यपि यो विवरण सरकारी निकायमा निर्यातको प्रक्रिया पूरा गरेर भएको निर्यातको मात्रै हो । व्यवसायीहरुका अनुसार भन्सार प्रक्रिया पूरा नगरी यो भन्दा धेरै परिमाणको गोलभेंडा भारत निर्यात भएको अनुमान गरिएको छ ।

आफ्नो बजारमा गोलभेंडाको मूल्य उच्च भएपछि २१ साउनमा भारतले नेपालको गोलभेंडा माथिको प्रतिबन्ध फुकुवा गरेको थियो । त्यसयताको १ भदौसम्म वीरगञ्ज, काँकडभिट्टा, भैरहवा भन्सार भएर गोलभेंडा निर्यात भएको त्यहाँका भन्सार कार्यालयहरुले बताएका छन् ।

तीन भन्सार कार्यालयको विवरण हेर्दा १ भदौसम्म ६ लाख ६९ हजार ६८० किलो गोलभेंडा नेपालबाट निर्यात भएको छ । कुल मूल्य ८० लाख ३६ हजार १६० रुपैयाँ हुन आउँछ । भन्सार कार्यालयहरुको विवरणअनुसार नेपालबाट निर्यात भएको गोलभेंडाको औसत निर्यात प्रतिकिलो मूल्य १२ रुपैयाँ रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयकाबाट यस अवधिमा सबै भन्दा धेरै गोलभेंडा भारत निकासी भएको भन्सारका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए । वीरगञ्जबाट ७३ लाख ६९ हजार ४३५ रुपैयाँ बराबरको ६ लाख ३७ हजार ६८० किलो गोलभेंडा निर्यात भएको छ ।

यस्तै, मेची भन्सार कार्यालय काँकडभिट्टाबाट २५ हजार किलो गोलभेंडा भारत निर्यात भएको छ । भन्सार प्रमुख रामप्रसाद रेग्मीकाअनुसार निकासी भएको गोलभेंडाको मूल्य ३ लाख रुपैयाँ हारारीको छ ।

भैरहवा भन्सारबाट जम्मा ७ हजार किलो गोलभेंडा भारत निर्यात भएको छ । जसको मूल्य एक् लाख रुपैयाँ हाराहरीको छ । भन्सार प्रमुख मनीराम पौडेलकाअनुसार यो नाका भएर गोलभेंडाको निर्यात भर्खरै सुरु भएको हो ।

अहिले वीरगञ्ज र भैरहवाबाट गोलभेंडाको निर्यात नियमित रहेपनि मेची भन्सारबाट भने रोकिएको छ । भारततर्फ नै गोलभेंडाको उत्पादन बढेको र उल्टै भारततर्फबाट गोलभेंडा आयात हुन थालेको भन्सार प्रमुख रेग्मीले बताए ।

भारतमा गोलभेंडाको मूल्य खुद्रामै भारु २ सय रुपैयाँ नाघेपछि नेपालको गोलभेंडाको आयात खुला भएको थियो । त्यस अघि पनि नेपालबाट भारतमा गोलभेंडा लुकीछिपी भारत गइरहेका थिए ।

व्यवसायीहरुकाअनुसार सुरुआती समयमा प्रतिकिलो १० रुपैयाँ देखि भारतमा गोलभेंडा निर्यात हुन थालेका थिए । तर, साउन अन्तिमसम्म आउँदा गोलभेंडाको निर्यात मूल्य प्रतिकिलोमै १३० रुपैयाँ नेपालीसम्म रहेको व्यवसायीहरु बताउँछन् ।

नेपालबाट निर्यात हुँदा नेपालतर्फ कुनै मूल्य नलाग्ने भएपनि भारतको भन्सारमा लाग्ने शुल्कका कारण व्यवसायीहरुले खरिद मूल्य न्यून घोषणा गरिएको हुनसक्ने आकलन गरिएको छ ।

गोलभेंडा व्यवसायी सामर्थ ढुंगानाकाअनुसार नेपालले अधिकतम् प्रतिकेजी १२० रुपैयाँसम्ममा गोलभेंडा भारतमा बिक्री गरेको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?