 
																			४ भदौ, चितनव । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा शव बोकेको जिपसहित सात वटा सवारी साधनलाई ठक्कर दिने बसका चालकले लागु पदार्थ सेवन गरेको पुष्टी भएको छ ।
टिकौली जंगलमा गएको साउन ३१ गते भएको दुर्घटनामा संलग्न गैंडाकोटको अक्सफोर्ड कलेजको बस चालकले लागुपदार्थ सेवन गरेर सवारी चलाएको पुष्टि भएको हो । चितवन मेडिकल कलेजको प्रयोगशालामा बस चालक नवलपुरको गैंडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियार (भरत) को स्वास्थ्य परीक्षण गर्दा उनले लागु पदार्थ सेवन गरेको पुष्टि भएको हो
कलेजका विद्यार्थी बोकेर टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको बसले शव बोकेर देवघाटतिर आउँदै गरेको ना २ च ८४४६ नम्बरको बलेरोलाई ठक्कर दिएको थियो । शवसँगै बसेका केही ब्यक्तिहरु, शवयात्रामा आएका ६ वटा मोटरसाइकललाई बसले ठक्कर दिँदा २० जना घाइते भएका थिए ।
चालक परियारको टीएचसी परीक्षणका क्रममा लागु पदार्थ ( गाँजा) सेवन गरेको पोजेटिभ देखाएको प्रहरीले जनाएको छ । उनले कहिले गाँजा खाएका थिए भन्ने कुरा एकीन नभए पनि परीक्षणमा उनले लागु पदार्थ सेवन गरेको देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीले पछिल्लो समयमा कुनै दुर्घटना भएमा शङ्का लागेको अवस्थामा मादक पदार्थ सेवन र लागू पदार्थ सेवन जाँच गराउने गरेको छ ।
प्रहरीले दुर्घटना गराउने परियारलाई सवारी अङ्गभङ्गअन्तर्गत मुद्दा चलाएको छ ।
दुर्घटनामा परेका घाइते मध्ये ५ जना उपचार पछि घर फर्किएका छन् भने, २ जनाको भरतपुर अस्पतालमा, ७ जनाको पुरानो मेडिकल कलेजमा, ५ जनाको चितवन मेडिकल कलेजमा र १ जनाको काठमाण्डौंको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।
घाइते सबैको कलेजले नै उपचार गर्ने भनी जिम्मा लिइसकेको छ । रत्ननगर नगरपालिका वडा नं. १४ पारिजातचोकका कृष्णबहादुर तामाङको शव बोकेर दाहसंस्कारका लागि जाँदै गरेका ४ जना छोरा मध्ये ३ जना घाइते भएका थिए । बुवाको किरिया गर्नुपर्ने छोराहरु अहिले अस्पतालमा छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4