+
+

जापान र दक्षिण कोरियाको दीर्घकालीन मिलन होला ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १३:११

अधिकांशले असम्भव भनेका धेरैकुरा अमेरिका र चीनले प्राप्त गरेका छन् । यसको पछिल्लो उदाहरण यो अमेरिकाले जापानी प्रधानमन्त्री फुमियो किसिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सियोक योललाई सँगै राखेर गरेको वार्ता पनि हो ।

बाइडेनसहित तीन राष्ट्रका प्रमुखबीच पहिलोपटक एक्लाएक्लै वार्ता भएको हो । यो भेटलाई केहीले कुटनीतिक भने र केहीले यो भेट अमेरिकी अन्य नेताका लागि आश्चर्यको विषय बनेको बताएका छन् ।

दक्षिण कोरिया र जापान छिमेकी मुलुक हुन् भने उनीहरु लामो समयदेखि अमेरिकी गठबन्धनमा आवद्ध छन् । तर यी दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध छैन । चीनको बढ्दो कुटनीतिक गतिविधिपछि अमेरिकाले पनि  पूर्वी एशियामा आफ्नो सम्बन्धलाई नयाँ ढंगबाट नवीकरण गर्न चाहेको छ ।

यही प्रयत्नकै कारण ऐतिहासिक तिक्ततालाई दशकदेखि आपसी तिक्तता मेट्न नसकेका जापान र दक्षिण कोरियाका राष्ट्रप्रुमख बाइडेनसँगको वार्तामा सँगै बसे ।

वार्तामा सँगै बस्ने उनीहरुको कदमलाई बाइडेनले प्रशंसा गरेका छन् । उनीहरुको राजनीतिक साहस प्रशंसायोग्य रहेको उनको भनाइ छ । ‘हाम्रो मुलुकहरु बलियो, सुरक्षित र आपसी हितका लागि एकतावद्ध हुनेछ । हाम्रो संयुक्त विश्वास यही छ’, बाइडेनले भनेका छन् ।

यता दक्षिण कोरियाका राष्ट्रपति युनले यो भेटलाई ऐतिहासिक दिन भनेका छन् । भेटपछि उनीहरुले चीनका गतिविधिविरुद्ध संयुक्त वक्तव्य जारी गरे । तीन राष्ट्रप्रमुखको वक्तव्यमा भनिएको छ, ‘हिन्द प्रशान्त महासागर र साउथ चाइना सीको सामुद्रिक क्षेत्रमा चीनको खतरनाक र आक्रामक व्यवहारको हामी निन्दा मात्रै गर्दैनौँ त्यसको विपक्षमा उभिनेछौँ ।’

तीन नेताले  संयुक्त सैन्य अभ्यास गर्ने, संकटको समयमा आपसी संवाद गर्ने र तीन मुलुकबीच नियमित वार्षिक सम्मेलन गर्ने सहमति गरेका छन् । जर्ज डब्लु बुसको पालामा जापान र दक्षिण कोरियाबीचको सम्बन्ध सुधारमा प्रयत्न गरेका कुटनीतिज्ञ तथा जर्जटाउन विश्वविद्यालयका प्राध्यापक डेनिस वाइल्डरले यो भेट निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । ‘क्याम्प डेभिडको यो भेट निकै राम्रो प्रयास हो । जापान र दक्षिण कोरियालाई लामो समयदेखि एकै ठाउँ राखेर वार्ता गर्ने अमेरिकी प्रयत्न बल्ल सार्थक भएको छ’, उनले भने ।

हालैका महिनामा जापानी प्रधानमन्त्री किसिदा र दक्षिण कोरियाली राष्ट्रपति युनले आपसी तिक्तता बिर्सदै सम्बन्ध सुधार गर्ने र अमेरिकासँगको सम्बन्ध थप कसिलो बनाउने प्रयत्न गरेका छन् । उनीहरुले यसो गर्नुको पछाडिको कारण भने चीन हो । चीनले गर्ने गतिविधिका विरुद्ध उनीहरुको साझा चासो छ । त्यही चासो र चिन्ताले उनीहरुलाई एकै स्थानमा ल्याएको कुटनीतिज्ञहरु बताउँछन् ।

अमेरिकाले जापान र दक्षिण कोरियासँगको सम्बन्धलाई निकै महत्व दिएको ह्वाइट हाउसले बताएको छ । ‘सन् २०१५ यता उनीहरुलाई पहिलोपटक राष्ट्रपतिको रिट्रिटमा सामेल गराइएको हो । यसले के दर्शाउँछ भने जापान र दक्षिण कोरियासँगको सम्बन्धलाई अमेरिकाले विशेष महत्व दिएको छ ।

जापान र दक्षिण कोरियालाई सँगै वार्तामा बस्न किन समय लाग्यो  ?

जापान र दक्षिण कोरिया पुरानो घाउका कारण सँगै बस्न नसकेका हुन् । कतिपय भन्छन् उनीहरु शत्रुता बोकेका छिमेकी हुन् । दोस्रो विश्वयुद्धताका जापानका सेनाले दक्षिण कोरियाली महिलाहरुलाई अपहरण गरी यौनदासी बनाएको कारण दुई मुलुकबीच सम्बन्ध राम्रो भएन ।

यता जापानले सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्विपमा गरेको उपनिवेशीकरणबारे माफी नमागेको विषयले पनि उनीहरुको तिक्तता झाँगिएको हो । दक्षिण कोरियाको यी सवालमा जापानले भनेको छ, ‘हाम्रा दुश्कर्म र गल्तीबारे विभिन्न सन्धी तथा सम्झौतामा हामीले क्षमायाचना गरेका छौँ ।’

यी दुई मुलुकको सम्बन्धलाई सामान्य स्थितिमा फर्काउने प्रयत्न जेंगा खेलझैँ छ । जेंगा निकै संवेदनशील ढंगबाट खेलिने खेल हो । सन्तुलनमा सानो त्रुटी भएमा पुरै संरचना गर्ल्याम गुर्लुम ढल्छ । त्यसैले जापान र दक्षिण कोरियाको सम्बन्धलाई पनि त्यस खेलसँग तुलना गरिएको हो । पूर्वी एशियाली यी मुलुकको आपसी सम्बन्ध अहिले बलियो झैँ देखिए पनि एउटा सानो त्रुटि भएमा फेरि सबै प्रयत्न असफल हुनेछ ।

टोकियो र सोलको सम्बन्धमा सन् २०१८ पछि सन् १९६० को दशकमा भन्दा पनि चिसोपना देखिएको छ । दोस्रो विश्वयुद्ध ताका जापानले जबर्जस्ती श्रम गराएको भन्दै दक्षिण कोरियाले मुद्दा हालेपछि दुई मुलुकको सम्बन्ध थप चिसिएको थियो । तर त्यो चिसिएको सम्बन्धलाई सामान्य स्थितितर्फ फर्काउनका लागि गत मार्चदेखि पहल भएको थियो ।

सम्बन्ध सुधारको कोशेढुंगा बनेको बैठक

राजनीतिक जोखिम मोलेरै जापान र दक्षिण कोरियाली मुलुकका नेता अहिले एकै कक्षमा बैठक गर्ने स्थितिमा आएका छन् । आफ्नो मतभिन्नता र घरेलु राजनीतिमा देखापर्ने सम्भावित असरलाई पर सार्दै उनीहरुले एकै ठाउँमा बसेर वार्ता गरेका हुन् । उनीहरु यो युग व्यवहारिक राजनीतिको हो भन्ने विषयमा सहमत देखिन्छन् र आफ्ना सामुन्ने खतरा मडारिरहेको भान उनीहरुलाई परेको छ । एशियामा चीनको आक्रामक भूमिकाले उनीहरुलाई चिन्तित बनाएको छ ।

लोकतान्त्रिक मान्यतामा चलिरहेको टापु ताइवान आफ्नो भएको जिकिर बेइजिङ्ले गरिरहेको छ । भलै, त्यसलाई चीनसँग गाभ्नका लागि उसले हालसम्म कुनै बल भने प्रयोग गरेको छैन । तर ताइवानको हवाइ इलाकामा चीनको सैन्य शक्ति प्रदर्शन र घुसपैठ निकै सामान्यझैँ हुन थालेको छ ।

अर्कोतर्फ उनीहरुलाई उत्तर कोरियाको जोखिम पनि उत्तिकै छ । जसले सन् २०२२ यता आक्रामक रुपमा सयौँ आणविक हतियारको परीक्षण गरिसकेको छ । उसले जापान र दक्षिण कोरियालाई लक्षित गर्दै क्षेप्यास्त्र समेत प्रहार गरेको छ । युक्रेनमा जारी द्न्द्वका कारण पनि राष्ट्रिय सुरक्षालाई दक्षिण कोरिया र जापान दुबैले उच्च प्राथामिकतामा राखेका छन् ।

जापान र दक्षिण कोरियाको समान चासो र चिन्ताले उनीहरु नजिकिने प्रयत्न गरिरहेका बखत बाइडेन उनीहरुलई एकै स्थानमा राखेर बैठक गराउन सफल भएका हुन् । कुटनीतिक मामिलाका जानकार एन्ड्रु यी भन्छन्, ‘जापान र दक्षिण कोरियाका राष्ट्रप्रमुखलाई सँगै राखेर अमेरिकाले गरेको त्रिपक्षीय वार्ता तीन दशकयताकै महत्वपूर्ण कदम हो । यो वार्ता उनीहरुको सम्बन्ध सुधारका लागि एक कोशेढुंगा हुनेछ ।’

यो त्रिपक्षीय वार्ताले राष्ट्रिय सुरक्षाका सवाल, हिन्द प्रशान्त महासागर क्षेत्र र उत्तर पूर्वी एशियामा देखापरेको  चुनौतीको सामूहिक सामनाका लागि गति पैदा गरेको उनको बुझाइ छ । संयुक्त वक्तव्य मार्फत अमेरिका, जापान र दक्षिण कोरियाले बैठकको उपलब्धिलाई बलियो बनाउन खोजेको उनले बताए ।

यी मुलुकबीच अब छिट्टै, रक्षा कुटनीति र प्रविधिको क्षेत्रमा साझा सम्झौता हुने तयारी छ । उनीहरुले विवादित क्षेत्रमा सामूहिक रुपमा सैन्य शक्ति प्रस्तुत गर्ने र आपसी वार्ताका लागि हटलाइन स्थापना गर्ने तयारी गरेका छन् । वासिंटनले त्रिपक्षीय सम्बन्धलाई दीर्घकालीन रुपमा अघि बढाउने र जापान र दक्षिण कोरियाको सम्बन्धलाई दीर्घकालीन रुपमा स्थिर राख्ने सोचेको छ ।

कुटनीतिक मामिलाका जानकार डियन किम भन्छन्, ‘बाइडेन, युन र किसिदिलाई इतिहास रच्ने अवसर छ । सोल र टोकियो सम्बन्धमा देखापर्ने उतारचढाव भन्दा माथि उठेर यी तीनै राष्ट्रका सरकारले सम्बन्ध सुधारका सामूहिक दृष्टिकोणलाई सक्रियतापूर्वक कार्यान्वयनमा लैजानुपर्छ ।

उग्र वामपन्थी युन र उग्र दक्षिणपन्थी किसिदा आगामी निर्वाचनबाट फेरि नेतृत्वमा आए कसैले पनि हालको उपलब्धीलाई बिगार्न नसक्ने उनको बुझाइ छ । ‘जापान र दक्षिण कोरियाले फेरि उनीहरुलाई चुनेमा बाइडेनको हालको प्रयत्न व्यर्थ हुनेछैन । वार्ताको यी उपलब्धी संस्थागत हुनेछ’, डियनले भने ।

उपलब्धी संस्थागत हुने चुनौती

यदि घरेलु राजनीतिमा यो प्रस्तावको अनुमोदन नभए उनीहरुको सम्बन्ध थप चिसिने छ । यो बैठकको उपलब्धिलाई कायम राख्नका लागि उनीहरुले उपनिवेशकरणको  विगतलाई किनारामा राखेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने उनले बताए ।

यता, जापान र दक्षिण कोरिया दुबै अमेरिकाले झैँ चीनप्रति तिखो टिप्पणी गर्ने पक्षमा सम्भवत: उभिने छैनन् । आफूमाथि उल्टै अप्ठ्यारो पर्ने स्थिति भएको हुनाले सार्वजनिक रुपमा उनीहरुले चीनलाई गालीगलौज गर्ने छैनन् । किनभने चीनका उच्च कुटनीतिज्ञ तथा विदेशमन्त्री वाङ् यीले जापान र दक्षिण कोरिया दुबैलाई चेतावनीको शैलीमा भनेका छन्, ‘पश्चिमाको पछि लागेर जति नै कपाल खैरो बनाए पनि वा नाक लाम्चो बनाउने प्रयत्न गरे पनि तिमीहरु युरोपेली वा अमेरिकी हुन सक्दैनौ । अन्तत: एशियाली मुलुकसँगै सहकार्यको विकल्प हुने छैन।’

खर्च बढ्ने स्थितिसहित राष्ट्रिय सुरक्षामा सहकार्यको प्रस्ताव आएमा संभवत त्यो सम्झौता सायदै हुनेछ । अर्कोतर्फ अमेरिकाको आर्थिक प्रतिबन्धको स्थिति आइपरेमा टोकियो र सोल दुबैलाई चीनसँग वाणिज्य सहकार्यको विकल्प छैन । सोल र टोकियोका ठूला कम्पनी सामसङ र निशान आफ्ना उत्पादनका लागि चिनियाँ जनशक्तिसँग अत्यधिक निर्भर छन् ।

त्रिपक्षीय यो वार्ताबारे बेइजिङले असन्तुष्टि जनाउँदै भनेको छ, ‘पूर्वी एशियाली क्षेत्रमा अमेरिकाले मिनी नेटो गठनको प्रयत्न नगरोस् ।’

यता चीनका विदेशमन्त्री वाङ यीले दक्षिण कोरिया र जापानलाई पूर्वी एशियाली मुलुकहरुको सम्बन्ध पुनर्ताजगीका लागि सहकार्यको प्रस्ताव राखिसकेका छन् । गत जुलाइमा उनले दिएको चेतावनीको भिडिओ निकै भाइरल थियो । जसमा उनले आफ्नो उत्पत्तिको जरो नभुल्न सचेत गराएका थिए ।

यता अमेरिकाले पनि एशियाली मुलुकहरुसँग सम्बन्ध सुधारको यत्न जारी राखेको छ । चीनमा उसले पटक-पटक उच्च कुटनीतिज्ञहरु पठाएको छ भने उत्तर कोरियाका नेता किम जोन उनसँग पनि विना शर्त वार्ताका लागि वासिङ्टनले प्रयत्न गरिरहेको छ । तर आसन्न चुनावका कारण कुटनीतिक दौडधुपको समय घर्किँदै जाँदा प्राप्त उपलब्धीलाई संस्थागततर्फ वासिङ्टन  कसरी अघि बढ्ला धेरैको चासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?