+
+
एउटा चिकित्सकको टर्रो अनुभूति :

बिरामीको मृत्युको भयले उपचारमा कठिनाइ

डा. बालकृष्ण शाह डा. बालकृष्ण शाह
२०८० भदौ ६ गते १९:२७

ईक्लेम्पसिया र प्रि–इक्लेम्पसियाको कारण वर्षेनी लगभग ६३ हजार मातृमृत्यु हुने गरेको छ, विश्वभरमा । मातृमृत्यु दरको यो कहालिलाग्दो अंकचित्रले अत्याउन सक्छ । यसको मूख्य कारण के हो त ?

अमेरिका र बेलायतमा इक्लेम्पसियाबाट हुने मातृमृत्यु क्रमस ५ दशमलव ६ प्रतिशत र ११ दशमलव ८ प्रतिशत रहेको छ ।

भारतमा पनि ईक्लेम्पसियाको कारणले गर्दा २३ प्रतिशतसम्म मातृमृत्यु हुने देखिएको छ । नेपालमा पनि यस्तै अवस्था होला भनेर सहजै अनुमान लगाउन सकिन्छ । नेपाल मातृमृत्यु अध्ययन २०७८ ले कुल मातृमृत्युको १२ प्रतिशत मृत्युको कारण उच्च रत्तचाप तथा यसका जटिलता (ईक्लाम्पसिया) पाइयो ।

जबकि यो तथ्य प्रसूति गराउने महिला वा उनका परिवारलाई हुँदैन । जब दुर्भाग्यवस् उनीहरुमा यस्तो समस्या देखिन्छ, चिकित्सकलाई पनि निर्णय गर्न कठिन हुन्छ कि उपचार गर्ने वा नगर्ने भनेर । प्रसूति गराउने क्रममा उनीहरुको ज्यान जान सक्छ । गर्भवतीको ज्यान किन गयो त ? यसबारे सबैलाई भित्री कुरा थाहा हुँदैन । उनीहरुलाई त के मात्र थाहा हुन्छ भने चिकित्सकको लापरवाहीले गर्भवतीको मृत्यु भयो ।

उनका परिवार, नातेदार, सर्वसाधरण सबैले भन्ने त्यही हो, ‘प्रसूति गराउन जाँदा चिकित्सकले लापरवाही गरेका कारण सुत्केरीको मृत्यु भयो ।’ यसरी चिकित्सकले गंभिर आरोप खेप्नुपर्ने हुन्छ । यस्तो आरोप लाग्छ भन्ने जान्दा जान्दै कुन चिकित्सकले चाहिँ त्यस्ता गर्भवतीलाई भर्ना लिनु कति जोखिमपूर्ण हुन्छ होला ?

चिकित्सकले कुनैपनि बिरामीलाई मार्न खोज्दैनन् । आफुले हेरचाह गरिरहेको बिरामीको मृत्यु हुँदा कुनैपनि चिकित्सक खुसी हुनै सक्दैन । संभव भएसम्म चिकित्सकले बिरामीलाई बचाउने यत्न गर्छन् । तर, प्रयास गर्दा गर्दै पनि सबै उपचार सफल हुँदैन । कतिपय बिरामीको उपचारकै क्रममा मृत्यु हुनपुग्छ ।

जब यसरी बिरामीको मृत्यु हुन्छ, तब चिकित्सकमाथि आरोप मात्र होइन हातपातसम्म हुन थाल्छ । अस्पताल तोडफोड हुन थाल्छ । चिकित्सकको सर्वत्र आलोचना हुन थाल्छ । उपचारका क्रममा बिरामीको मृत्यु भए क्षतिपूर्ति माग्ने प्रवृत्ति व्यापक छ । यसले उपचारमा खटिएका ती चिकित्सकलाई कति मानसिक पीडा हुन्छ होला ? यसको कसैले लेखाजोखा गर्दैन ।

सत्य के हो भने, बिरामीको मृत्यु हुनुमा कतिपय जटिलता हुन्छ । बिरामीको स्वास्थ्यस्थिती कस्तो थियो वा छ ? त्यो कति जोखिमयुक्त हुनसक्छ ? यसबारे सर्वसाधरणलाई थाहा नै हुँदैन ।

गएको साउनको अन्तिम हप्ता मकहाँ यस्तै महिला प्रसूतिका लागि ल्याइयो । उनलाई ३० हप्ताको आफ्नो पहिलो गर्भमा उच्च रक्तचाप र मुर्छा पर्ने समस्या (ईक्लेम्पसिया) थियो । यस्तो जटिलता जान्दा जान्दै कसरी उनको उपचार सुरु गर्ने ? भर्ना लिने कि नलिने ? एकदमै द्विविधा थियो ।

तर, त्यसो भन्दैमा आफ्नो मानविय स्वभावले भाग्न पनि नदिने रहेछ । आफु सुरक्षित रहन पनि यस्ता जटिल अवस्थाका बिरामीहरुलाई अन्यत्र पठाउने गरिन्छ । मैले त्यसो गर्न सकिन । अन्ततः मनमा गाँठो बनाएरै भएपनि उपचार सुरु गरें । शल्यक्रिया गरियो । उनको कोखबाट छोरोको जन्म भयो, एक किलो ४ सय ग्रामको । सुत्केरीको अवस्था पनि केही राम्रो भयो । उनका श्रीमान र देवर खुसी भए । म पनि आनन्दको सास फेर्दै घर आएँ ।

राति करिब १० बजे अस्पतालबाट फोन आयो । फोनमा भनियो, संगीता (नाम परिवर्तन) अर्थात त्यही ईक्लेम्पसिया भएको सुत्केरीको रक्तश्राव भइरहेको छ ।

यो सूचना मात्र थिएन । मेरो लागि ठूलो आँधीतूफान थियो । रक्तश्रावसँगै रक्तचाप पनि बढेको थियो । रगत मगाइयो । जानेको जति सबै औषधि दिइयो । रक्तश्राव सजिलै रोकिएन । २ पोका रगत दियौं । रातको तीन बजेपछि बल्ला अवस्थामा सुधार आयो ।

मनले ढुक्क हुँदै भन्यो, ‘धन्न भोलि अस्पताल तोडफोड नहुने भो ।’ चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भन्ने व्यहोराको खबर छापिने भयबाट मुक्त भइयो । क्षतिपूर्ति स्वरुप लाखौं तिर्नु नपर्ने भयो । अस्पतालले कसैलाई जागिरका लागि वाचा नगर्नुपर्ने भयो ।

वास्तवमा हामी चिकित्सकले संभव भएसम्म, आफ्नो बलबुतोले भ्याएसम्म राम्रै गर्ने प्रयास गरिरहेका हुन्छौं । तर, बिरामीको जटिलताले कहिले काहीँ हाम्रो कार्यक्षमतामाथि नै औंला उठाउने वातावरण बनाइदिन्छ । हामीमाथि नै धारे हात लगाउने अवस्था बनाइदिन्छ ।

त्यसैले बिरामीको अवस्था के थियो, के भयो, किन भयो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । हाम्रो जस्तो मुलुकमा स्वास्थ्य सचेतना खासै छैन । रोग र त्यसका जटिलताबारे मान्छेलाई जानकारी छैन । त्यही कारण व्यापक रुपमा स्वास्थ्य सचेतना जगाउन जरुरी छ । जरुरी छ, सर्वसाधरणलाई पनि आधारभूत स्वास्थ्य जानकारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?