+
+
Shares

जेनजी आन्दोलनपछि चर्चामा साहसी महिला

नेताहरूले घरमा थुपारेका नगदलगायत सम्पत्तिलाई आन्दोलनको वेदीमा खरानी बनाइयो। पार्टीका इमानदार नेता–कार्यकर्ता त्यही खरानी टक्टक्याउन विवश छन्।

धर्म गौतम धर्म गौतम
२०८२ भदौ ३१ गते १०:३२

आइतवार अपराह्नपछि सामाजिक सञ्जालहरूमा तीन महिला सर्वाधिक चर्चामा रहे। नेपाली किशोर तथा युवाहरूले मूलत: मुलुकमा व्याप्त अनियमितता तथा भ्रष्टाचारविरुद्ध हाँकेको आन्दोलनको उत्कर्षमा प्रधानमन्त्री बन्न पुगेकी ७३ वर्षीया पूर्वप्रधानन्यायाधीश, नेपालको ४२औं तथा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्की त चर्चामा हुने नै भइन्; सँगसँगै चर्चामा आइन् अर्की महिला पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ। नवनियुक्त प्रधानमन्त्री कार्की जस्तै सुमना श्रेष्ठको पनि परिचय दिइरहनुपर्दैन। सबैजसो नेपालीले पहिलेदेखि नै दुवैलाई चिन्दै र जान्दै आएका छन्। महान्यायाधिवक्ता नियुक्त भएकामा बेलुकीपख चर्चा पाउनेमा तेस्रो महिला भइन् सविता भण्डारी। उनी पनि पहिलो महिला महान्यायाधिवक्ता हुनपुगेकी छन्।

२०७३ असारमा प्रथम नेपाली महिला प्रधानन्यायाधीशका रूपमा सुशीला कार्की मुलुकभर परिचित हुन पुगिन्। पछि सरकारले उनका विरूद्ध महाभियोग लगाएपछि उनको चर्चा झन् चुलियो। महाभियोगलाई पन्साएर सुरक्षित अवतरण हुन उनी सफल भइन्। भित्री कुरा के थियो जानकारहरूलाई नै थाहा होला; बाहिर हल्ला चले अनुसार प्रधानन्यायाधीश कार्कीले भ्रष्टाचार मुद्दामा सत्तासीन नेताहरूलाई कर्‍यापझ्याप पार्ने तयारी गरिरहेको आकलन गरेर उनका विरुद्ध महाअभियोग प्रस्ताव अघि बढाइएको थियो।

विशेष परिस्थितिमा राष्ट्रपतिबाट नवनियुक्त प्रधानमन्त्री कार्कीले शपथ ग्रहण गर्नु पूर्वदेखि नै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलगायत पार्टीका परिवर्तनको आँधीबेरी बुझ्न असफल नेताले संसद् विघटन संविधानसम्मत भएन भन्दै विषवमन गर्न आफ्ना झोले परिचालन गर्न थालेपछि परिवर्तनकामी जनता पनि सजग भएर उभिन थालेको देखेर मुलुक थप द्वन्द्वमा पो जान्छ कि भन्ने भय पैदा नभइरहेको होइन। तर ती पुराना दलभित्रका जागरूक युवा नेताहरूले आफूलाई परिस्कृत गरेर जनतामाझ आउने बयान जारी गर्न थालेपछि परिस्थिति केही साम्य भएको छ।

उता प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष दुवै उपस्थित हुन नरुचाएको नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी भएकी रास्वपाकी केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले अंकमाल गरेर नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिएदेखि नै उनीमाथि मानिसको थप ध्यानाकर्षण भएको थियो। उनी मन्त्री बन्नेवालाछिन् भन्ने हल्ला समेत सामाजिक सञ्जालमा आएपछि उनले त्यसको खण्डन पनि गरिन्। रास्वपा नछाड्ने कुरा समेत दोहोर्‍याएकी थिइन्। तर लगत्तै उनले पार्टीबाट अलग भएको घोषणा मात्र गरिनन् बरु अरू पार्टीभित्र रहेका परिवर्तन पक्षधर सदस्यहरूलाई समेत यथास्थितिका पक्षधरलाई पार्टीबाट हटाउन र त्यसो गर्न नसके आफैं पार्टीबाट अलग भएर परिवर्तनको पक्षमा लाग्न आह्वान समेत गरिन्।

जबजको केन्द्रीय तत्व भनेको लोकतान्त्रिक प्रतिस्पर्धा हो। तर, ७० वर्षे उमेर हद र दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने महाधिवेशनले गरेको निर्णयलाई कमरेड ओलीले अस्ति गोदावरीमा धोती लगाउँदा कसैले विरोध जनाउने हिम्मत गर्‍यो ? ओलीको लहलहैमा सबै ‘म पनि झोले’ भन्नमै रमाए

सामान्य रूपले हेर्दा पार्टीका निश्चित नीति तथा कार्यक्रमहरूमा साथीहरूसँग मत नमिलेपछि सुमनाले आफूलाई त्यस संगठनबाट अलग गर्न गरेको निर्णयलाई उस्तो आश्चर्यजनक वा महत्वको घटनाका रूपमा हेरिरहनुपर्ने होइन तर विगत लामो समयदेखि पुराना दलहरूमा शीर्ष नेताहरूले गरेको मनोमानीमा लामो समयदेखि असन्तुष्ट रहे पनि ती दलभित्रका परिवर्तनका पक्षधर मानिंदै आएका युवा नेताहरू कसैले विद्रोह नै गर्न भने सकिरहेका थिएनन्। उनीहरूले विद्रोहमा उत्रिने हिम्मत गरेको भए पनि त्यो पार लाग्थ्यो लाग्दैनथ्यो त्यो आफ्नो ठाउँमा छ तर उनीहरूले त्यस्तो विद्रोहलाई परिणाममुखी बनाउन सकेको भए मुलुकले आजको पीडा भोग्नुपर्ने अवस्था आउने थिएन।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीमा तिनका शीर्ष नेताहरू क्रमश: शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका विरोधमा बोल्यो कि पोल्योको अवस्था थियो। तुलनात्मक रूपमा कांग्रेसमा शेखर कोइराला मुखर भएर नै नेतृत्वको आलोचना गरिरहेका भए पनि उनका कुरातिर नेतृत्वले कुनै ध्यान दिएको थिएन। यथार्थमा कांग्रेसभित्र देउवासँग भन्दा पनि उनकी पत्नी आरजु राणा देउवासँग नेता–कार्यकर्ता बढी रुष्ट थिए। यस अर्थमा आफ्नो पार्टीमा गरेको सुमनाको विद्रोहले बढी चर्चा पाएको हो।

सुमनाले पार्टी छाडेर ठीक गरिन् वा बेठीक भन्ने कुरा उनको निजी मामला हो। त्यसमा अरूले चासो दिइरहनुपर्ने विषय होइन तर उनले पार्टी नेतृत्व एकपछि अर्को गल्ती गर्दै जाने र त्यसलाई अरूले काँध थापिदिइरहनुपर्ने कुरा असह्य भएर पार्टी छाड्नु परेको बताएपछि उनका कुरामा अरूको ध्यान जानु स्वाभाविक हो।

सुमना रहेको पार्टी नेतृत्वले के गल्ती गर्‍यो, ती गल्ती सच्याउन लगाउन सुमनाले के गरिन् भन्ने विषयमा पनि अरूले चासो राखिरहनुपर्ने होइन तर सुमनाले जे व्यथा पोखिन् त्यो प्राय: सबैजसो पार्टीमा देखिन्छ तर उनले जस्तो अन्यत्र पार्टीमा विद्रोह नभइरहेको अवस्थामा उनको निर्णय अरूलाई साहसिक लागेर नै त्यतातिर अरूको ध्यान गएको हो।

सामान्यत: देशलाई कसरी अग्रगमनमा लैजाने भन्ने विषयमा दर्शन, सिद्धान्त, नीति तथा कार्यक्रमहरूमा समान विचार भएका नागरिकहरूको एकीकृत जमात हो राजनीतिक दल। कुन दलका नीति, दर्शन, सिद्धान्त के हुन् भन्नेतिर अहिले नजाऊँ। जसले जतिसुकै गन्थन रचे पनि वर्तमानमा चलेका दुई कुरा छन्— एक राजनीतिमा लोकतन्त्र र अर्थ व्यवस्थामा खुला बजार नीति।

नेपालका सबै दल लोकतन्त्रमा विश्वास राख्छौं भन्छन्। तिनले बनाएको संविधानमा तदनुकूल व्यवस्था गरिएको छ। तिनले संविधानलगायत तिनका घोषणा-पत्र आदिमा समाजवाद उन्मुख आदि जे लेखे पनि व्यवहारत: सबैले खुला बजार अर्थनीति लिएका छन्। यसको उदाहरण सरकारका आवधिक योजना र तिनका वार्षिक नीति तथा कार्यक्रम हेरे पुग्छ। एउटा दलले नीति कार्यक्रम तर्जुमा गर्छ तर दुई–चार महिनामा सरकारमा अर्को दल आउँछ अनि त्यही नीति तथा कार्यक्रमलाई निरन्तरता दिन्छ। टेक्नोक्रेटहरूले तयार गरेको वार्षिक बजेटको निश्चित ढाँचा (टेम्प्लेट) छ, जुन दल भए पनि त्यही भरेर ल्याउँछन् र सदनमा पेश गर्छन्। बहुमतले त्यही पारित गर्छ। खेल खत्तम! अब भन्नुस् सबै पार्टीको नीति, सिद्धान्त व्यवहारत: एकै छ नभनेर के भन्ने ?

कांग्रेस प्रजातान्त्रिक समाजवादी हो भनेर के हेरेर मान्ने? एमालेमा मार्क्सवाद, लेनिनवाद र जबज कहाँ देखिन्छ? आजका कुनै पनि पार्टीमा दर्शन, सिद्धान्त, नीति भन्ने कुनै तत्व छैन। त्यसैले पार्टीहरूमा गुटबन्दी मौलाएको हो

कुनै पार्टीमा नीति कार्यक्रम आदिका बारेमा गहन छलफल हुन्छ जस्तो देखिंदैन। सरल शब्दमा भन्दा दर्शन, सिद्धान्त, नीति भन्ने कुनै तत्व कुनै पार्टीमा छ होला जस्तो लाग्दैन। त्यसैले पार्टीहरूमा गुटबन्दी मौलाएको हो। नीति सिद्धान्त भए पो त्यसको आधारमा गोलबद्ध हुने हो, त्यो नभएपछि त व्यक्तिको रुचि र चाहना अनुसारको गुट त बन्ने नै भयो। व्यक्तिको स्वभाव र रुचि अनुसारका गुट भएपछि आफ्नो गुट कसरी बलियो बनाउने भन्ने कसरतमा लाग्नै पर्‍यो। हालसम्म पार्टीहरूमा देखिएको प्रवृत्ति यही होइन त?

कांग्रेस प्रजातान्त्रिक समाजवादी हो भनेर के हेरेर मान्ने? एमालेमा मार्क्सवाद लेनिनवाद र जबज कहाँ देखिन्छ ? अरू कुरा छाडौं जबजको केन्द्रीय तत्व भनेको लोकतान्त्रिक प्रतिस्पर्धा हो। ७० वर्षे उमेर हद र दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने महाधिवेशनले गरेको निर्णयलाई कमरेड ओलीले अस्ति गोदावरीमा धोती लगाउँदा कसैले विरोध जनाउने हिम्मत गर्‍यो ? ओलीको लहलहैमा सबै ‘म पनि झोले’ भन्नमै रमाए।

कांग्रेस, माओवादी, राप्रपा, मधेशवादी सबैको ताल उही हो। सबै पार्टीमा नेता, कार्यकर्ता शीर्ष नेताका झोले हुन् भन्नु गलत आरोप लगाउनु होइन। झोले संस्कृतिले कमाउ धन्दालाई प्रश्रय दियो। नेताहरूले घरमा थुपारेका नगद लगायतका सम्पत्तिलाई आन्दोलनको वेदीमा खरानी बनाइयो। पार्टीका इमानदार नेता–कार्यकर्ता त्यही खरानी टक्टक्याउन विवश छन्। अन्तरिम सरकारले ती सम्पत्ति कुम्ल्याउनेहरूको अपराध अनुसार तिनलाई न्यायिक कठघरामा उभ्याएर दण्डित गरी थान्को लगाउन सकेन भने परिश्रमी नेता–कार्यकर्ताले सफा गरेको पार्टी कार्यालयको मुख्याशनमा जम्न मोसो पुछ्दै तिनै शीर्ष कहलाइएकाहरू नआउलान् भन्न सकिन्न।

यस्तै वातावरणमा पार्टीको सहमहामन्त्री र पार्टीको तर्फबाट सरकारको मन्त्री समेत भइसकेकी रास्वपाकी सुमना श्रेष्ठले पार्टी नै परित्याग गर्ने गरी गरेको विद्रोहले मानिसको ध्यान खिचेको हो। दुई–चार दिनअघि नै सेनाको मुख्यालयमा दुर्गा प्रसाईं र रास्वपा पनि पछिल्लो आन्दोलनको स्टेकहोल्डर हो भन्ने कुरा उठेको हल्ला चलेसँगै सुमनाले दुर्गा र रास्वपा कसरी युवाहरूको आन्दोलनका स्टेकहोल्डर भए भनेर प्रश्न उठाउँदै युवा आन्दोलनलाई नबिटुल्याउन सबै पक्षलाई आह्वान गरेकी थिइन्। त्यसले नै उनको मनोभाव दर्शाइरहेको थियो।

जति लामो दाम्लो बाटे पनि गाँठो एउटै भने जस्तो जे–जस्तो विषयमा नेतृत्वसँग असहमति जनाउँदै सुमनाले पार्टी परित्याग गरेकी छन् त्यसलाई साहसको काम मान्नै पर्दछ। आफ्नो अन्तरात्माले गलत देखेको कुरालाई सही हो, ठीक छ भन्दै निहित स्वार्थका लागि कुनै दलमा टाँसिइरहनुभन्दा अलग भएर रहनु सर्वथा असल हो। उनले गरेको निर्णयको विरुद्धमा केही झोलेहरूले नकारात्मक टिप्पणी गर्न थालेको अवस्थामा सुमनाको निर्णयलाई पार्टी सभापति रवि लामिछानेले सहज रूपमा लिएर जुन लोकतान्त्रिक चरित्र प्रदर्शन गरेका छन् त्यसको पनि मुक्तकण्ठले प्रशंसा गर्नुपर्दछ। लामिछानेले भनेका छन्- हाम्रो पार्टीमा लागेर कसैको व्यक्तित्व विकास भयो भने त्यो हाम्रा लागि खुशीको विषय हो।

बाँकी कुरा सुमनाले नै बेहोर्ने हो।

लेखक
धर्म गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?