+
+

कमल थापा : राजनीति जोगाउन फेरि राजतन्त्र पुनर्स्थापनाको नारा

डेढ वर्षको उतार चढावपछि फेरि राजतन्त्र पुनर्स्थापनाको नारा लगाउन आइपुगेका कमल थापालाई यसले राप्रपा नेपाललाई टिकाइराख्ने मात्र होइन, फेरि राप्रपामा फर्किने बाटो समेत खोल्न सक्छ ।

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०८० भदौ ७ गते २२:२८

७ भदौ, काठमाडौं । राप्रपा नेपालले फेरि राजसंस्थाको पुनर्स्थापनालाई मुख्य एजेण्डा बनाएको छ । राजसंस्था पुनर्स्थापनालाई पार्टीको एजेण्डा नबनाउने निर्णय गरेका कमल थापा आत्मालोचनासहित फेरि राजावादी भएका हुन् ।

बिहीबार पार्टी केन्द्रीय समिति बैठकमा थापाले देशको वर्तमान अवस्था र पार्टी कार्यकर्ता, सहयोगी तथा शुभचिन्तकको भावनालाई सम्मान गर्दै राजसंस्था पुनर्स्थापनालाई कार्यनीतिक एजेण्डा नबनाउने अडान पुनर्विचार गरेको बताएका छन् । तर उनलाई नजिकबाट चिन्नेहरु भने राजनीति नै संकट उन्मुख भएपछि थापाले फेरि राजतन्त्रकै नारा लगाउने निधो गरेको बताउँछन् ।

यसले थापालाई तत्कालका लागि राप्रपा नेपाललाई जोगाइराख्ने बाटो दिनेछ भने भोलिका दिनमा राप्रपा फर्किने ढोका पनि खोल्नसक्ने नेताहरुको विश्लेषण छ ।

मंसिर २०७८ मा भएको महाधिवेशनमा आफूलाई हराएर राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष चुनिएपछि थापाले दरबार र पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोपित गरेका थिए । पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै छानबिनको माग गर्दै निवेदन दिए । अध्यक्ष लिङ्देनले त्यसको सुुनुवाइ नगरेपछि २५ माघ २०७८ मा गृहजिल्ला हेटौंडा पुगेर थापाले राप्रपाबाट अलग भएको घोषणा गरे ।

उनले ७ फागुन २०७८ मै राप्रपा नेपाल पुनर्गठन गरे । नेताहरुका अनुसार थापाले सुरुमा राष्ट्रिय एकता पार्टी बनाउने भनेर विधानको मस्यौदा समेत तयार पारिसकेका थिए । तर लाम्पा तामाङको नेतृत्वमा दर्ता भएको राप्रपा नेपालको नेतृत्व लिने निर्णयमा पुगे । कुनै समय आफूले यही नामको पार्टी स्थापना गरेर दोस्रो संविधानसभामा २५ सिटको पार्टी बनाएकाले पनि थापाका लागि राप्रपा नेपाल नाम प्रिय थियो । अहिले त्यही नामको दल चलाउँदा पुरानो लिगेसीका नाममा संगठित गर्न सहज पनि हुने उनको विश्वास थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (वायाँ)सँग कमल थापा ।

तर राप्रपा नेपालले कहिल्यै गति लिन सकेन । नेताहरुका अनुसार थापाको चालेको कदम गलत सावित भयो । पार्टी नेताहरुको दबावका बाबजुद सुरुमा उनले राप्रपाको पदाधिकारीदेखि केन्द्रीय समितिमा रहेका आफू निकट नेताहरुलाई बोलाएनन् । जब उनीहरु राप्रपामा सक्रिय भए, थापाले चाहँदा पनि आएनन् ।

थापाले चुनावमा नेकपा एमालेसँग तालमेल गर्ने सोचका साथ राजसंस्था पुनर्स्थापनाकै एजेण्डा छाड्ने तयारी थाले । ७ फागुन २०७८ मा पार्टी पुनर्गठन घोषणाका क्रममा सार्वजनिक घोषणापत्रमै राजसंस्था संविधानको परिधिभित्र र प्रजातान्त्रिक मान्यता अन्तरगत निष्पक्ष र आदर्श अभिभावकका रुपमा रहन सक्नेमा गम्भीर आशंका रहेको उल्लेख गरिएको थियो । २० असार २०८९ मा केन्द्रीय कार्यसमितिको बैठकबाट त्यसको व्याख्या गर्दै हाललाई राजसंस्था पुनर्स्थापना पार्टीको कार्यनीतिक एजेण्डा नहुने निर्णय गराए ।

यसले राप्रपा नेपाल राजावादीहरुको रोजाइको पार्टी रहेन, परिवर्तन पक्षधरले तत्काल स्वीकार्ने अवस्था पनि थिएन । ‘हाम्रो भोट बैंक भनेको राजतन्त्र पक्षधर मतदाता थिए । उनीहरुले राप्रपालाई भोट दिए’ एक नेता भन्छन्, ‘परिवर्तनको पक्षमा रहेकाहरुले प्रमुख दलहरुलाई छाडेर हामीलाई मत दिने सम्भावना नै थिएन ।’ परिणाम, मंसिर २०७९ को चुनावमा राप्रपा नेपालको (समानुपातिक) भोट आयो जम्मा १२ हजार ३४० । थापाले एमालेको चुनाव चिह्न लिएर लडेका थापा स्वयं पनि मकवानपुर– १ मा पराजित भए ।

राप्रपाको अध्यक्षको चुनाव हारेपछि राजसंस्थाबारे गरेको टिप्पणी तथा विश्लेषणहरुबारे मौन बसेका राप्रपा नेपालका अध्यक्ष थापाले देशमा आइपर्ने संकटबाट मुक्त तुल्याउन चुनावी राजनीतिभन्दा माथि उठेको नैतिक शक्ति चाहिने र त्यो राजसंस्था हुनसक्ने बताएका छन् ।

आम चुनावपछि माघ २०७९ मा नागार्जुनमा विस्तारित बैठक भयो, जहाँ पार्टीका नेताहरु राजसंस्था पुनर्स्थापनालाई फेरि एजेण्डा बनाउनुपर्ने माग उठ्यो । यदि यसमा नजाने हो भने पार्टीको अस्तित्व नै नरहने आवाज मात्र सुनिएन, नेताहरु पनि लिङ्देन नेतृत्वको राप्रपामा फर्किन थाले । राप्रपाका कतिपय नेताहरुले पनि त्यसो गरिए फेरि सहकार्यको ढोका खुल्नसक्ने संकेत देखाए । ‘कमल थापा एमाले वा कांग्रेस जस्ता पार्टीहरुमा जान सक्ने अवस्था थिएन, राप्रपा नेपाल यथास्थितिमा चल्नै सक्दैन भन्ने प्रष्ट भइसकेको थियो’ थापासँग निकट रहेर काम गरेका एक नेता भन्छन्, ‘आफ्नो राजनीति जोगाउन पनि उहाँलाई आफ्नो निर्णय पुनर्विचार गर्नुको विकल्प थिएन ।’

त्यसैले थापाले देशभरका कार्यकर्ताको धारणा बुझ्न लगाए । अनि देशको अवस्था र कार्यकर्ता तथा समर्थकको चाहनाअनुसार भन्दै संवैधानिक राजसंस्था सहितको प्रजातन्त्रलाई पार्टीको मूल विचार बनाउने निर्णय लिएका छन् । नेपाली राजनीतिमा राजसंस्था सहितको प्रजातन्त्र विचारको प्रतिपादक र सम्वाहक शक्ति राप्रपा नेपाल भएको भन्दै उनले बिहीबार पार्टी बैठकमा भनेका छन्, ‘यो राजालाई पुनः गद्धीमा फर्काउने नारा मात्र होइन, एउटा विचार र सिद्धान्त हो भन्ने मान्यता राप्रपा नेपालले नै कायम गरेको हो ।’

आफ्नो राजनीतिक कार्यपत्रमा थापाले राप्रपाको अध्यक्षको चुनाव हारेपछि राजसंस्थाबारे गरेको टिप्पणी तथा विश्लेषणहरुबारे मौन बसेका राप्रपा नेपालका अध्यक्ष थापाले देशमा आइपर्ने संकटबाट मुक्त तुल्याउन चुनावी राजनीतिभन्दा माथि उठेको नैतिक शक्ति चाहिने र त्यो राजसंस्था हुनसक्ने बताएका छन् । नेताहरुका अनुसार थापाले राप्रपा अध्यक्षको चुनाव हारेपछि राजसंस्थाबारे सार्वजनिक रुपमा टिकाटिप्पणी गर्नु गल्ती भएको महसुस पनि गरेका छन् ।

त्यसैले उनले राजसंस्था पुनर्स्थापनालाई पार्टीको एजेण्डा मात्र बनाएनन्, त्यही नारा दिएर आन्दोलनको घोषणा गरेका छन् । गणतन्त्रको अन्त्य र सम्द्धद्ध सनातन हिन्दू अधिराज्यको स्थापनाका लागि गर्ने भनिएको आन्दोलनमा विचार मिल्ने दल वा समूहसँग मोर्चा बनाउने समेत थापाले बताएका छन् ।

लिङ्देनसँग सहकार्यको सम्भावना कति ?

थापाले राप्रपा सडकमा आए सहकार्य गर्ने र राजेन्द्र लिङ्देनलाई नेता मान्न तयार रहेको समेत बताउने गरेका छन् । यसले राप्रपामा फर्किने ढोका समेत खोल्ने थापाको विश्वास हुनसक्ने नेताहरु बताउँछन् ।

तर राप्रपा अध्यक्ष लिङ्देन अहिलेसम्म कमल थापालाई पार्टीमा स्वागत गरिहाल्ने पक्षमा देखिएका छैनन् । ‘कमजलीले राप्रपा फर्किने बाटो खोल्न निकै प्रयास गर्नुभएको देखिन्छ,’ थापा निकट एक नेता भन्छन्, ‘तर राप्रपाले खासै इन्टरटेन्ट गरेको छैन ।’

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला भने पार्टीलाई पुनर्गठित गर्ने र हस्तक्षेपकारी शक्ति बनाउने दाबी गर्छन् । ‘हामीले पार्टी निर्माणको एउटा कठिन चरण पार गरिसक्यौं,’ उनले भने, ‘अब वैकल्पिक राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा अगाडि बढौं । छिट्टै राप्रपा नेपाल हस्तक्षेपकारी शक्ति बन्छ ।’

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?