+
+

शहरमा छैन साइकल संस्कार

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० भदौ ८ गते १४:११

काठमाडौं । ‘जापानीहरु किन लामो आयु बाँच्छन् ?’

यसबारे सर्वत्र चासो र चर्चा हुने गर्छ । साथै उनीहरुमध्ये अधिकांशको ज्यान चुस्त र छरितो देखिन्छ । पुट्ट पेट निस्किएका वा औधी मोटा जापानी फेला पार्नु दुर्लभजस्तै हुन्छ । उनीहरुको छरितो र फूर्तिलो ज्यान, दीर्घजीवनबारे विभिन्न खोज-अध्ययन पनि भएका छन् ।

त्यसले केही साझा निचोड निकालेको छ । पोषिलो र ताजा खानपान, व्यायाम, हार्दिकतापूर्वक सामाजिक सम्बन्ध, सकारात्मक चिन्तन अनि सक्रिय दिनचर्या । सक्रिय दिनचर्याको एउटा हिस्सा हो, साइक्लिङ पनि ।

लक्जरी गाडी उत्पादनका लागि विश्वमै ख्याति छ जापानको । जापानी नागरिकहरुको आर्थिक र सामाजिक स्थिति गाडी चढ्न नपुग्ने खालको छैन । यद्यपि उनीहरु धेरैजसो साइकल प्रयोग गर्छन् । कार्यालय जाँदा, किनमेलमा निस्कँदा, स्कुल-कलेज आउजाउ गर्दा, रेस्टुरेन्टसम्म पुग्नु पर्दा जापानीहरु साइकलमै यात्रा गर्छन् ।

यसरी कतै आउजाउ गर्नुपरे साइकल चलाउने भएकाले उनीहरु चुस्त, फूर्तिलो र तन्दुरुस्त छन् । चिकित्सकहरुका अनुसार फटाफट हिंड्दा, दौडिंदा वा साइकल चलाउँदा समग्र शरीरको समुचित व्यायाम हुन्छ ।

अब नेपालको स्थिति हेरौं । खासगरी सहरी क्षेत्रमा हिंडडुल गर्ने वा साइकल चलाउने प्रवृत्ति हराउँदैछ । पाँच मिनेटको बाटो हिंड्नु पर्दा पनि हामी नाक खुम्च्याउँछौं । आफ्नो कार्यक्षेत्र, विद्यालय वा कतै आउजाउ गर्नु परे हामीलाई हिंड्न असहज लाग्छ । साइकल चढ्न पनि हच्किन्छौं ।

किन ?

यसमा एउटा मात्र कारण छैन । एक त मानसिकता, पैदल हिंड्यो वा साइकल प्रयोग गर्‍यो भने विपन्न ठान्ने गरिन्छ । दोस्रो पैदल मार्ग वा साइकल लेन  छैन, सहरी क्षेत्र खासगरी काठमाडौंमा सहज रुपमा हिंड्डुल गर्ने पैदलमार्ग छैन । साइकल लेनको त कुरै नगरौं ।

र, तेस्रो साइकल संस्कार छैन । साइकल चढ्नुपर्छ वा कार्यालय, विद्यालय, किनमेलका लागि आउजाउ गर्दा साइकल प्रयोग गर्नु हितकारी छ भन्ने संस्कारको विकास भएको छैन ।

यावत् कारणले हामीकहाँ साइकल चढ्ने जमात् छैन । बरु पाँच मिनेटको यात्रा गर्दा वा सागसब्जी किन्नका लागि पनि मोटरसाइकल चढ्ने प्रवृत्ति व्यापक छ । शारीरिक श्रम नगर्ने, ऐश आराम मात्र रोज्ने र जथाभावी खानपान गर्ने बानीले गर्दा अधिकांश नेपाली दीर्घरोगले सताइएका छन् । मोटोपन त ‘घर घरको कहानी’ जस्तै सर्वत्र भइसकेको छ ।

युवा उमेरमै पेटको आकार बढ्नु, दीर्घरोगले गाँज्नुको पछाडि मूलत: दुईवटा कारण रहेको चिकित्सकहरु औंल्याउँछन् । एक, जथाभावी खानपान । दुई, ऐश–आरामपूर्ण दिनचर्या । नेपाली समाजमा यो उखान त्यसै प्रचलित भएको होइन, ‘स्वादे जिब्रो, अल्छे तिघ्रो ।’

जरुरी छ साइकल संस्कार

इन्धन खपत नहुने, पर्यावरणलाई क्षति नपुग्ने, तुलनात्मक रुपमा दुर्घटनाको जोखिम पनि अत्यन्तै न्यून हुने, खर्च पनि नलाग्ने भएकाले साइकल चलाउनु अति लाभदायक छ । र, सबैभन्दा बढी लाभदायक छ, शारीरिक तन्दुरुस्तीका लागि ।

विश्वका उन्नत मुलुकका कति यस्ता सहर छन्, जहाँ अधिकांशले साइकल चलाउँछन् । जापान, डेनमार्क, स्वीडेनजस्ता मुलुकले साइकललाई प्राथमिकताका साथ प्रयोग गर्छन् । तर हामीकहाँ साइकल संस्कृति फस्टाएको छैन ।

साइकल चलाउँदाका फाइदा

दैनिक २० मिनेट साइकल चलाउँदा शारीरिक रुपमा फिट हुन्छ । साथै मांसपेशी बलियो हुन्छ । यसले समग्र शरीरको कसरत गराउँछ । साइकल चलाउँदा पर्याप्त क्यालोरी खर्च हुन्छ र तौल नियन्त्रणमा सहयोग पुग्छ ।

अर्को यसले शरीरका जोर्नीमा लचकता ल्याउने र मांसपेशी बलियो बनाउने, हड्डी मजबुदत बनाउनुका साथै ढाड र गर्दनको दुखाइबाट टाढा राख्न मद्दत गर्छ । साथै शरीरमा पाचन पक्रिया बलियो बनाउँछ । साथै मानसिक रुपमा स्वस्थ हुने दिमागको सोच्ने स्तर बढाउने र दीर्घरोगबाट टाढा राख्न मद्दत गर्छ ।

त्यस्तै अमेरिकास्थित विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अध्ययनअनुसार स्वच्छ वातावरणमा नियमित साइक्लिङ गर्ने व्यक्तिमा अरूको तुलनामा दिमागी शक्ति बढी हुने देखाएको छ । साथै साइकल चलाउँदा शरीरमा ब्रेन सेलको निर्माण हुने बताएको छ । त्यस्तै, साइकल इन्धनबिना चल्ने भएकाले वातावरण प्रदूषणबाट समेत बच्न सकिन्छ ।

दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजार क्यालोरी खपत हुन्छ । तपाईंको पाचन प्रणाली सुधार हुन्छ । त्यसपछि आफूलाई मन परेको खानाको मज्जा लिन सकिन्छ । यसमा इन्धन आवश्यक पर्दैन । त्यसैले तपाईंको स्वास्थ्य मात्रै नभएर वरपरको वातावरणलाई स्वच्छ राख्न पनि यसले भूमिका खेल्छ ।

यस्तै स्वस्थलाई महत्व दिएर साइकलिङ कल्चरको विकास गर्ने पहिलो देशको रुपमा नेदरल्याण्ड्सलाई मानिन्छ । जहाँ साइकललाई दोस्रो यातायात वा सवारीको रुपमा प्रयोग गरिन्छ । ‘त्यहाँ अन्य ठूल्ठूला सवारी साधन चलाउनेलाई जस्तै साइकल चलाउनेका लागि पनि व्यवस्थित पूर्वाधार निर्माण गरिएको छ । जस्तै साइकल मार्ग, पार्किंग, साइकलको लागि छिटो रुट वा गन्तव्यमा विकास गरिएको छ,’ यातायातविज्ञ आशिष गजुरेल भन्छन् । विकसित देशमा यसलाई दीर्घकालीन यातायातको रुपमा विकास गर्न सकिने साधनको रुपमा पनि लिएको उनले बताए । यसबाहेक जापान, डेनमार्क, स्वीडेन, जर्मनी, अष्ट्रिया, बेलायत, चीनलगायत अन्य विकसित साइक्लिङ कल्चर छ ।

‘अहिले मानिस मासिक पैसा तिरेर जिम, जुम्बा, एरोबिक गर्न जान्छन् । यसको सट्टा बरु समय मिलाएर कम्तीमा २० मिनेट साइकल चलाउन सके यी ठाउँमा धाउनु नपर्ने गजुरेल सुझाउँछन् । विकसित देशमा जस्तै पूर्वाधारको विकास गर्न सके साइकलप्रति मानिसको आकर्षण हुने उनी बताउँछन् ।

‘नेपालमा साइकल कि त गरिबले आफ्नो दैनिकीका लागि, कि त धनीले रमाइलोका लागि साइकल चलाउँछन् भन्ने मानसिकता छ । यसले पनि मध्यम वर्गले साइकल चलाउँदाको फाइदा भएर पनि त्यसलाई महत्व नदिएको देखिन्छ,’ गजुरेल भन्छन् ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?