+
+

क्षमा शान्तिको स्रोत हो

व्यवहारशैली कस्तो हुनुपर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १५:४७

जीवनको दर्पण हो व्यवहार,

 आनीबानीको प्रयोग हो व्यवहार ।

व्यवहारले नै बनाइदिन्छ संस्कार,

जन्मन्छ यसैबाट पहिचान र अनुहार ।।

व्यवहारले कतिसम्म फरक पार्छ ?

महात्मा बुद्ध ध्यानमग्न थिए । एउटा क्रुद्ध छिमेकी उनलाई गाली गर्दै उनको कुटीमा पुग्यो । न्वारानदेखिको बल निकालेर उसले सकेजति गाली बक्यो ।

गाली गर्दा गर्दा जब ऊ थाक्यो, बुद्धले उसलाई छेउउमा बसाउनुभयो र भन्नुभयो, ‘तिमीसँग मेरो कुनै पनि गुनासो छैन । मेरो एउटा सानो प्रश्न छ, के म प्रश्न राख्न सक्छु ?’

‘हुन्छ छिटो सोधिहाल’ उसले उत्तर दियो ।

बुद्धले सोध्नुभयो, तिम्रो घरमा कहिलेकाहीँ पाहुना आउँछन् कि आउँदैनन् ?“

उसले भन्यो, “किन नआउनु आउँछन् नि पाहुना । पाहुना नआउने कसैको घर हुन्छ र ? बुद्धले अगाडि सोध्नुभयो, “तिम्रो घरमा आउने पाहुना कुनै न कुनै कोसेली या उपहार लिएर आउने गर्छन् होला, होइन ?

आक्रोशयुक्त हाउभाउमै उसको प्रतिक्रिया आयो, “हो, किन र ?“ “मानिलिओ कि तिम्रो घरमा आएका पाहुनाले लिएर आएको कोसेली जसका लागि भनेर ल्याएको हो, त्यो व्यक्ति अर्थात् तिमीले स्विकारेनौ भने त्यो कोसेली कसले लान्छ ?

“जसले ल्यायो उसैले लान्छ, कुन चाहिँ ज्ञानको कुरा हो “हो, अहिले तिमी मेरो अतिथि हौ । मलाई भेट्न आउँदा तिमी जुन गाली नामक कोसेली लिएर आएका छौ, त्यो मैले स्विकारिनँ भने कसले फिर्ता लानुपर्ला ?“ र ?

“भगवान् ! त्यो त मैले नै लिएर जानुपर्छ ।“ क्रुद्ध व्यक्ति तुरून्तै ठन्डा भयो ।

एक कदम अघि बढ्न पक्कै सकिन्छ

माथिको घटनामा भने झैं हामी बुद्ध बन्न नसकौला तर बुद्ध बन्ने यात्रामा एक कदम अघि बढ्न भने पक्कै सक्नेछौं । गलत व्यवहार प्रदर्शन गर्नेहरू अक्सर भन्ने गर्छन्, के म बुद्ध हो र ? कि म भगवान् हो ? गल्ती त भइहाल्छ नि ।“

हो, गल्ती सबैबाट हुन्छ तर गल्तीबाट पाठ नसिकेर गल्तीलाई अभिनयले ढाकछोप गर्न खोज्नु मूर्खता हो । हेक्का रहोस्, आज गरेको गल्तीबाट पाठ सिकेर भोलि पुनः त्यो गल्ती नदोहोरÞ्याउनु नै बुद्धत्वतर्फको यात्रा हो । व्यवहारमा हुने गल्ती घटाउन सफल हुनु नै सुसंस्कारी हुनु हो । यसो गर्न नसक्ने मानिस समाजमा दुर्जन भनेर जानिन्छ ।

वेदव्यासले भन्नुभएको छ, “दुर्जन मानिस अरूसँग त के भद्रभलादमी वा सज्जनहरूसँग समेत अशिष्ट व्यवहार गर्छ । सज्जनलाई समेत दुर्जन भन्दै हिँड्छ । यस्तो अशिष्टताको पराकाष्ठासम्म पुग्छ तर कुलीन वा शालीन व्यक्तिले रिसाएको बखत पनि दुर्वचन बोल्दैन । भनिन्छ, उखुलाई जति निचोरे पनि गुलियो नै रस निस्कन्छ ।

व्यवहार होस् त हाम्रो पोसाक जस्तो

विद्वान् फ्रान्सिस बेकनको व्यवहारशैली सिकाउने तरिका निकै रोचक छ । बेकन भन्नुहुन्छ, हाम्रो व्यवहार हाम्रो पोसाक जस्तो हुनुपर्छ । न त यो अति नै खुकुलो भएर अडिने नसक्ने होस्, न त यो अति नै कसिलो भएर हलचल गर्न वा निहुरिनै नसकिने होस् । जिउमा ठिक्क हुने र शरीरलाई सजिलो पार्ने पोसाक जस्तै हाम्रो व्यवहार हुनुपर्छ ।

मपाईवाद, लिंडेढिपी, जिद्दीपना र अति कट्टरता यी चार मानवीय व्यवहारका धमिरा हुन् । मेरो गोरुको बाह्रै टक्का’ यस्तो व्यवहार कसैलाई पनि र कसैसँग पनि पाच्य हुँदैन । यस्ता कठोर पक्ष छाडेर व्यवहारमा सरल पक्षलाई समावेश गर्नुपर्छ ।

कसिलो लुगा लाएपछि एक त चल्नफिर्न गाह्रो हुन्छ, अर्को कतिखेर उघ्रिने हो थाहा हुन्न । कसिलो लुगा जस्तै कसिलो व्यवहार पनि कतिखेर अतिमा पुगेर टुङ्गिन्छ थाहा हुन्न । तसर्थ व्यवहार जोसुकैसँग होस्, अति कसिलो गर्नुहुँदैन ।

खुकुलो लुगा कुनै पनि बेला खुस्किएर अङ्ग देखिने हुन सक्छ । व्यवहारको खुकुलोपन पनि यस्तै हुन्छ । खुकुलो व्यवहारले अनुशासनहीनता, अविश्वास र मूल्यहीनता जन्माउन सक्छ । खुकुलो व्यवहारले व्यक्तिको मूल्य, मर्यादा र महत्त्व ह्वात्तै घटाउँछ । पिँधबिनाको लोहोटा कुन बेला कता ढल्छ, ठेगान हुन्न ।

अति खुकुलो व्यवहारले सम्बन्धलाई कमजोर बनाउँछ । घृणा, अविश्वास, बेवास्ता, उपहास, बहिष्कार आदि यसै प्रवृत्तिका उपज हुन् । तसर्थ व्यवहार सन्तुलित हुनुपर्छ, न अति कसिलो न अति खुकुलो ्र

व्यवहारशैलीमा क्षमाशीलता

गल्ती गर्नु मानवीय स्वभाव हो । क्षमा गर्नु ईश्वरीय स्वभाव हो । गल्ती पटकपटक दोहोरÞ्याउनु चाहिँ दानवीय स्वभाव हो । सायदै त्यस्तो मान्छे नहोला, जसको हातबाट गल्ती नहोस् । मनुष्य एक प्रकारले गल्तीको ’पुतला’ हो । हाम्रो व्यवहारमा क्षमाशीलता अभिन्न आयामका रूपमा रहनुपर्छ ।

मानवलाई दानवमा खस्न नदिनका लागि भनेर हुन सक्छ, भगवान्ले क्षमाशीलताको आविष्कार गरेको हुनुपर्छ । क्षमा मानव चोलाको सर्वश्रेष्ठ आभूषण हो । गल्तीरूपी फलामलाई क्षमारूपी पारसमा स्पर्श

गराएपछि त्यो सुन बन्छ । आत्मदर्शी महापुरूषको भनाइमा व्यक्तिको व्यवहारको शोभा भनेकै क्षमाशीलता हो ।

एक निजी जीवनमा क्षमा शान्तिको स्रोत हो । सामाजिक जीवनमा क्षमा नैतिक अनुशिक्षण हो । यही क्षमा आध्यात्मिक जीवनमा अपरिहार्य साधना हो । भगवान् ईशामसी ’क्षमा’का ज्वलन्त प्रतिमूर्ति हुनुहुन्थ्यो । “तिमीलाई कसैले गालामा हिर्कायो भने फेरि अर्को गाला थापिदेऊ ।“ यहाँसम्मको क्षमादान मनुष्यमा हुनुपर्छ भन्ने जिससको सन्देश विश्वास गर्न असजिलो होला तैपनि यो परमसत्य हो ।

भगवान् श्रीकृष्ण गीतामा भन्नुहुन्छ, “क्षमा मानवको दैवी सम्पदा हो (गीता ११÷४) ।“ वैदिक तथा उपनिषदिक उपदेशकहरू सबैले क्षमालाई मानव व्यवहारमा एउटा दिव्यगुण भनी उपमा दिएका छन्।

आदि शङ्कराचार्यको अभिमतानुसार अप्रतिकारको भावना नै क्षमा हो । यो तिरस्कार र प्रतिकारभन्दा पूर्णतः भिन्न गुण हो र यो विशिष्ट गुण हो ्र यो मानव व्यवहारमा अनिवार्य हुनुपर्छ ।

व्यवहारशैली यस्तो हुनुपर्छ

–     न कसिलो, न खुकुलो, यस्तो रणनीतिलाई व्यवहार कुशलता भनिन्छ । परिवार, सङ्गठन या समाज जहाँसुकै पनि व्यवहार कुशलताको आवश्यकता हुन्छ ।

–    वास्तवमा व्यवहारशैली यस्तो हुनुपर्छ, “व्यवहार मेरो दृष्टिकोण अरूका“ अर्थात् “मैले अरूलाई राम्रो लाग्ने किसिमको व्यवहार गरे भने त्यसले म, तपाईं र हामी सबैलाई खुसी तुल्याउँछ ।“

–     जीवनद्रष्टाहरूले भनेका छन्, “यदि अरूले तिमीसँग मित्रतापूर्ण व्यवहार गरून् या मित्रतापूर्ण दृष्टिले हेरून् भन्ने चाहन्छौ भने सर्वप्रथम तिमी आफूले अरूलाई मित्रतापूर्ण दृष्टिले हेर्नुपर्छ ।”

–   सुखदायी जिन्दगी जिउन चाहने व्यक्तिले व्यवहारमा शालीनता समावेश गर्न बिर्सनुहुँदैन । दूर्व्यवहार रोपेर सुख कहाँ फल्छ र ?

–   असल व्यवहार गर्नेहरू अरूले दुःख दिने मनसायले गरेको व्यवहारमा पनि उत्तेजित हुँदैनन् । अरुका व्यवहारका कारण यस्ता व्यक्ति आफ्नो शान्ति भङ्ग हुन दिँदैनन् । अरूको नराम्रो व्यवहारप्रति तुरून्तै प्रतिशोध गरिनहाल्ने यिनको विशेषता हुने गर्छ । हाम्रो व्यवहार यस्तै हुनुपर्छ ।

–   कार्लाइल भन्नुहुन्छ, “महान् व्यक्ति आफ्नो महानताको परिचय साना मान्छेहरूसँग गरिने व्यवहारद्वारा दिने गर्छन् ।“

संस्कारीको ख्याति

लोकमापूरयते यशसा साधुसंमतः । र्मार्थाविति भूतानां बन्धुतामुपगच्छति ।। रान् सुकृतिनो लोकान् पुण्यकर्मा प्रपद्यते । स्मात् सद्वृत्तमनुष्ठेयमिदं सर्वेण सर्वदा ।।

–आयुर्वेद

संस्कार र सद्वृत्तिका नियमहरू पालना गर्ने व्यक्ति यो नमाजलाई आफ्नो प्रभाव, प्रताप र सत्कर्मले भरिभराउ बनाइदिन्छ । स्तो व्यक्ति उच्च प्रतिष्ठित र प्रबुद्ध वर्गबाट सम्मानित भएर रहन्छ । कस्तो व्यक्तिले समस्त प्राणी र समाजबाट धर्म र अर्थ (आर्थिक समृद्धि) द्वारा बन्धुत्व प्राप्त गर्छ । यस्ता व्यक्तिको पुण्यले मृत्युपश्चात् नि ख्याति जीवित रहन्छ । तसर्थ मान्छे भएर जन्मिसकेपछि स्कार र सद्वृत्तिको पालना निरन्तर गर्नुपर्छ ।

(डा. राजु अधिकारीको पुस्तक ‘संस्कारी बन्ने काइदा’बाट । डा. खासगरी जीवनशैली, वैज्ञानिक अध्यात्म तथा योग प्रशिक्षक, पुस्तक लेखक हुन् । उनको यो पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?