+

पारम्परिक चिकित्सा प्रणालीलाई कसरी विज्ञानसम्मत बनाउने ?

२०८१ मंसिर  २३ गते १७:०८ २०८१ मंसिर २३ गते १७:०८
पारम्परिक चिकित्सा प्रणालीलाई कसरी विज्ञानसम्मत बनाउने ?

परम्परागत चिनियाँ चिकित्सा र आयुर्वेदिक चिकित्सा प्रणाली हजारौं वर्ष पुराना उपचार विधि हुन् । यी विधिलाई आधुनिक चिकित्सा प्रणालीको परिप्रेक्ष्यमा मिथ्या विज्ञान भन्ने पनि छन् । कतिपय चिकित्सक र वैज्ञानिकहरूले यी प्रणालीलाई केवल प्लेसिबो प्रभाव भनेर भन्ने गरेका छन् ।

तर परम्परागत चिकित्सा प्रणालीको ऐतिहासिक महत्व, सांस्कृतिक प्रभाव र वैज्ञानिक प्रमाणले यस्तो धारणाको खण्डन गर्छन् । चिकित्सा र विज्ञानको सम्बन्ध बुझ्न पहिले विज्ञान र चिकित्साबीचको भिन्नता बुझ्नुपर्ने छ ।

विज्ञान सत्यको खोजी गर्छ, तर यो पूर्ण छैन । हरेक नयाँ खोजसँग पुराना सिद्धान्तहरू परिमार्जित हुन्छन् । जस्तै- न्युटनको नियमलाई आइन्सटाइनको सापेक्षताको सिद्धान्तले चुनौती दिएको छ । त्यस्तै, वैज्ञानिकता र वैधता समान होइनन् । कुनै उपचार वैज्ञानिक मापनमा सिद्ध नगरे पनि त्यसलाई प्रभावहीन भन्न सकिंदैन ।

चिकित्सा विज्ञानको खोजीमा छैन, यसको मुख्य उद्देश्य भनेको रोगको उपचार गर्नु हो । यदि कुनै उपचारले रोगीलाई लाभ पुर्‍याउँछ भने त्यो उपचार चाहे वैज्ञानिक आधारमा प्रमाणित होस् वा नगरे पनि चिकित्सकका दृष्टिकोणबाट प्रभावकारी मानिन्छ ।

आधुनिक चिकित्सा प्रणालीका कतिपय समर्थकहरूले टीसीएम र आयुर्वेदलाई ‘प्लेसिबो प्रभाव’ भनी दाबी गर्छन् । यी प्रणालीलाई प्लेसिबो मात्र मान्न नसकिने प्रमुख कारण छन् ।

इतिहास

यी प्रणाली हजारौं वर्षदेखि लाखौं मानिसले रोग रोकथाम र उपचारमा उपयोग गर्दै आएका छन् । अझै भनौं ऋषिमुनिहरुले प्रयोग गरेको जडिबुटी र तिनै जडिबुटीको कारण आयु बढाउन सकिने दाबी नकार्न सकिन्न ।

च्यवनप्राश, गुडूची, अश्वगन्धा जस्ता आयुर्वेदिक औषधिले इम्युनिटी बुस्ट गर्ने गुण देखाएका छन् । चिनियाँ औषधि विज्ञानमा अकुपञ्चर र हर्बल मेडिसिनले दीर्घकालीन प्रभावकारिता देखाएको छ । जिन्सेङ र रेइशी मसरुम जस्ता औषधिहरूले वैज्ञानिक रूपमा एन्टिअक्सिडेन्ट र रोगप्रतिरोधात्मक गुण पुष्टि गरेका छन् ।

वैज्ञानिक प्रमाण र अनुसन्धान

चिनियाँ वैज्ञानिक अनुसन्धान : अकुपञ्चरले स्नायुप्रणाली सक्रिय गर्न, रक्तप्रवाह सुधार गर्न र दुखाइ व्यवस्थापन गर्न मद्दत गर्ने वैज्ञानिक प्रमाण छन् । अध्ययनले अकुपञ्चरले न्युरोलोजिकल गतिविधिमा सकारात्मक प्रभाव पार्ने देखाएको छ ।

सन् २००५ मा गरेको अध्ययनले अकुपञ्चरले लिम्बिक प्रणाली र सबकोर्टिकल ग्रे स्ट्रक्चर सक्रिय÷निष्क्रिय गर्दै पीडा र भावनात्मक प्रतिक्रियालाई नियन्त्रित गर्ने देखाएको छ।

सन् २००७ को अध्ययनले अकुपञ्चरले प्रिफ्रन्टल कर्टेक्स र डिफल्ट मोड नेटवर्कजस्ता मस्तिष्कका क्षेत्रबीचको कार्यात्मक सम्बन्ध बढाउने देखाएको थियो । जसले संज्ञानात्मक नियन्त्रण र पीडाको व्यवस्थापनलाई सहयोग पुर्‍याउँछ ।

त्यस्तै वैज्ञानिक झाङले २०१३ मा गरेको अध्ययनमा अकुपञ्चरले स्ट्रोक र पार्किन्सन्स रोगजस्ता न्युरोलोजिकल अवस्थाहरूमा न्युरोप्लास्टिसिटी बढाउने र कार्यक्षमता सुधार गर्ने पाइएको छ । मेङसिन लु २०२३ को अनुसार अकुपञ्चरले दुवै मस्तिष्कीय गोलार्ध (बिल्याटरल सेरेब्रल हेमिस्फेयर)मा कार्यात्मक सम्बन्धको असामान्यतालाई विभिन्न लक्ष्यमार्फत सुधार गर्न सक्छ । यसले स्ट्रोकपछिको मोटर रिकभरी (मांसपेशीको कार्यक्षमता पुनर्स्थापना)मा सहयोग पुर्‍याउँछ ।

सन् २०२३ मा भएको अध्ययनले शिरोधाराले मानसिक तनाव घटाउने र निद्राको गुणस्तर सुधार गर्ने साथै हृदय सम्बन्धी मापदण्डमा पनि सुधार ल्याउँछ भनेर प्रमाणित गरिएको छ । स्वातिले सन् २०१९ मा गरेको  अध्ययनले पञ्चकर्मले रुमाटोइड आर्थराइटिसका लक्षणहरू घटाउन मद्दत पुर्‍याउन सक्छ भनेर देखाउँछ ।

अझै विभिन्न आयुर्वेद औषधि जस्तै बेसार, अश्वगन्धाको प्रभावकारिताको बारेमा धेरै अध्ययन भएको छ । जसले यी जडीबुटीमा एन्टिइन्फ्लेमेटरी र एन्टिक्यान्सर गुण भएको पुष्टि गरिसकेको छ ।

लाखौं व्यक्तिको अनुभवजन्य प्रमाण

आयुर्वेद जस्ता वैकल्पिक चिकित्सा पद्धतिले पनि केही दीर्घकालीन समस्याहरूमा सुधार ल्याएका छन् । यस्ता पद्धतिले पाचन, मानसिक तनाव र शारीरिक अस्वस्थतामा सकारात्मक प्रभाव पार्ने देखिएको छ । यद्यपि यी पद्धतिको वैज्ञानिक प्रामाणिकता केही हदसम्म कम छ ।

यसको सट्टा, पारम्परिक र आधुनिक चिकित्सा पद्धतिको संयोजनले स्वास्थ्यको समग्र उपचारमा सहयोग पुर्‍याउन सक्छ ।

प्लेसिबो भन्दा माथि प्रभावकारिता

अकुपञ्चरका क्लिनिकल ट्रायलहरूले विशेषगरी दुखाइ कम गर्ने सम्बन्धमा प्लेसिबो भन्दा बढी प्रभावकारिता देखाएका छन् । विभिन्न अध्ययनले पेन क्लिनिकहरूमा अकुपञ्चरको उपयोगले विभिन्न प्रकारका दुखाइलाई प्रभावकारी रूपमा कम गरेको पुष्टि गरेका छन् ।

यस्तै, आयुर्वेदिक औषधिले शरीरको जैविक क्रियाकलापमा देखाउने प्रत्यक्ष प्रभावले प्लेसिबो प्रभावको दाबीलाई खारेज गर्छ, किनकि यी औषधिले शरीरमा विशिष्ट परिवर्तन ल्याएर स्वास्थ्यमा सुधार गर्छन् । यसले पनि के पुष्टि गर्छ भने अकुपञ्चर र आयुर्वेदिक उपचार केवल मानसिक विश्वासको आधारमा मात्र नभई शारीरिक स्तरमा पनि प्रभावकारी छन् ।

यी पद्धतिहरूले शारीरिक, मानसिक र आध्यात्मिक सन्तुलनमा जोड दिंदै शरीरलाई समग्र दृष्टिकोणबाट हेरिन्छ । पश्चिमी औषधिले दीर्घकालीन स्वास्थ्य समस्याको समाधान गर्न सक्दैन भने चिनियाँ उपचार र आयुर्वेदिक उपचार विधि जस्तै क्रोनिक पेन, स्ट्रेस डिसअर्डर र डाइजेस्टिभ समस्यामा प्रभावकारी देखिएका छन् । यी पद्धतिले रोगको रोकथामलाई प्राथमिकता दिन्छ र जीवनशैली सुधार, योग, प्राणायाम, अकुपञ्चर, र तुइना मसाज जस्ता विधिलाई स्वास्थ्य सुधारका लागि विशेष महत्व दिन्छ ।

आधुनिक अनुसन्धान र परम्परागत चिकित्सा प्रणाली

भारतमा आयुष मन्त्रालयले आयुर्वेदमा वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन दिइरहेको छ । जसले आयुर्वेदलाई आधुनिक विज्ञानसँग जोड्दै यसको प्रभावकारितामा थप प्रमाण प्रस्तुत गर्ने प्रयास गरेको छ । बेसार जस्ता जडिबुटीहरूको औषधिले विश्वव्यापी बजारमा सकारात्मक परिणाम देखाएका छन् । र, यसका चिकित्सकीय गुणहरूको प्रभावकारिता बढ्दै गएको छ ।

साथै, न्युरोसाइन्स र इम्युनोलोजी जस्ता क्षेत्रमा आयुर्वेदिक विधिको प्रभावका विषयमा गहिरो अध्ययन भइरहेको छ, जसले भविष्यमा आयुर्वेदको वैज्ञानिक आधारलाई अझ मजबुत बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै चीनमा पारम्परिक चिनियाँ चिकित्सा प्रणालीलाई आधुनिक अनुसन्धानद्वारा सशक्त पार्ने कार्य भइरहेको छ । कोभिड–१९ महामारी समयमा परम्परागत चिनियाँ चिकित्साका औषधिहरूले उपचारमा सकारात्मक परिणाम देखाएको प्रमाणित भएको छ ।

अकुपञ्चरले नसा सम्बन्धी समस्या, माइग्रेन र दुखाइ व्यवस्थापनमा उल्लेखनीय प्रभावकारिता देखाएको छ । अझै भनौं विश्व स्वास्थ्य संगठनले आयुर्वेदलाई वैज्ञानिक आधारमा अध्ययन गर्न र प्रभावकारी विधिका रूपमा अघि बढाउन विशेष ध्यान दिएको छ । भारत र चीनका विश्वविद्यालयहरूले जडिबुटी, अकुपञ्चर र योगका प्रभावको क्लिनिकल अध्ययन गर्दैछन् ।

परम्परागत र आधुनिक चिकित्सा प्रणालीको एकीकरण

परम्परागत र आधुनिक चिकित्सा प्रणालीको एकीकरण मानव स्वास्थ्य सुधारमा नयाँ क्रान्ति ल्याउन सक्ने माध्यम बन्न सक्छ । उदाहरणको रूपमा, क्यान्सर उपचारमा मेडिकल चिकित्सा प्रणालीका किमोथेरापी र रेडियोथेरापीसँगै आयुर्वेदिक हर्बल मेडिसिन र चिनियाँ चिकित्सा प्रणालीका औषधिहरूले उपचारका दुष्प्रभावहरू कम गर्न सक्छन् । दुखाइ व्यवस्थापनमा पनि अकुपञ्चर र आयुर्वेदिक मसाजलाई पेन किलर औषधिसँग समन्वय गरेर दीर्घकालीन समाधान प्राप्त गर्न सकिन्छ ।

समग्रमा आयुर्वेद र चिनियाँ पद्दतिले आजको विज्ञान र चिकित्सा क्षेत्रलाई धेरै नयाँ विचार र दृष्टिकोण दिएका छन् । जसले आधुनिक चिकित्सा प्रणालीलाई पूरकको रूपमा काम गर्न सक्छ । यद्यपि, यी प्रणालीहरूको प्रभावकारिता र कार्यक्षमता अझ प्रमाणित गर्न थप प्रमाण आधारित अध्ययन आवश्यक छ ।

आयुर्वेद चिकित्सा प्रणाली डा. नरेन्द्र लामिछाने

धेरै कमेन्ट गरिएका

डा. नरेन्द्र लामिछाने
लेखक
डा. नरेन्द्र लामिछाने
अकुपञ्चर विशेषज्ञ

अकुपञ्चर विशेषज्ञ डा. लामिछाने हाल ललितपुरस्थित ब्लु लोटस अस्पतालमा कार्यरत छन्। अकुपञ्चरमा एमडी गरेका उनको नेपाल आयुर्वेद मेडिकल काउन्सिल दर्ता नम्बर ६६६ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय