+

जाइफलको आयुर्वेदमा के महत्व छ ?

२०८१ साउन  २२ गते १७:२० २०८१ साउन २२ गते १७:२०
जाइफलको आयुर्वेदमा के महत्व छ ?

मासुमा थोरै जाइफल मिसाइदिनुपर्छ, स्वाद र सुगन्ध दोब्बर हुन्छ । मासु मात्र होइन, अरु झोलिलो खानेकुरामा जाइफल प्रयोग गर्न सकिन्छ ।

जाइफललाई आयुर्वेद तथा संस्कृतमा ‘जाति फल’ भनिन्छ । जाति फलभित्र हुने कडा भागलाई सामान्य भाषामा जाइफल भनिन्छ । यसको स्वाद तीतो र पीरो हुन्छ । यसले शरीरमा गर्मी उत्पन्न गराउँछ । जाइफलको धुलो मसला वा औषधिको रूपमा प्रयोग मात्र गरिंदैन । यसबाट तेल र परफ्युम पनि तयार हुन्छ ।

जाइफलको प्रयोगले स्वास्थ्यलाई धेरै फाइदा गर्ने भएकाले आयुर्वेदमा यसलाई बहुउपयोगी जडीबुटी मानिन्छ ।

जाइफलबारे रोचक इतिहास

पहिलो शताब्दीमा यसको बिरुवा रोममा देखिएको थियो । छैटौं शताब्दीमा अरब व्यापारीले यसलाई कोन्स्टेन्टिनोपल भित्र्याए । त्यस समयमा ‘डच युद्ध’ चलिरहेको थियो । जसमा धेरै मानिस मारिएका थिए ।

यसैबीच ब्रिटिश इस्ट इण्डिया कम्पनीले जाइफलको बिरुवालाई कोन्स्टेन्टिनोपलबाट भारत ल्याउँदै अन्य देशमा पठाउने गरेको थियो । जसकारण भारतबाट एसियाली मुलुकमा जाइफल फैलिएको पाइन्छ । ‘ग्रीन गोल्ड’ भनिने यस बिरुवा इण्डोनेसियामा उत्पत्ति भएको मानिन्छ ।

जाइफलको बिरुवा रोपेको पाँच वर्षमा बल्ल फूल फुल्छ । र, रुख परिपक्व हुन १५ वर्ष लाग्छ । जब यो रुखको रूपमा बढ्छ, तब ५० वर्षसम्म फल लाग्छ ।

एउटा रुखमा दुई हजारभन्दा बढी जाइफल फल्छ । यो फल सुरुको काँचो अवस्थामा पहेंलो रङको हुन्छ । जब यसको रुखमा पहेंलो रङको फूल फक्रिन थाल्छ, यसको सुन्दरता थप बढ्छ ।

राम्रोसँग पाकेपछि यसको बाहिरको भाग खस्रो हुन्छ । पाकेपछि यसलाई सुकाइन्छ । यो फललाई सुक्न मात्र दुई महिना लाग्छ । ज्वालामुखी भएका क्षेत्रमा यसको उत्पादन बढी हुन्छ । यसको आश्चर्य लाग्ने कुरा भनेको यसको भाले पोथी दुवै जात हुन्छ । जुन भिन्न भिन्न फुल्छ ।

यसमा के कस्ता तत्व पाइन्छ ?

यसमा एन्टिअक्सिडेन्ट, एन्टिडायबेटिक, एन्टिहाइपरलिटी, एन्टि-इन्फाल्मेटरी र एनालजेसिक, माइलिस्टिसिन, ट्राइमाइ युजामोल रसायनिक तत्त्व पाइन्छ । भिटामिन सी, बी, बी १२, सोडियम, पोटासियम, आइरन, म्यागनेसियम  र खनिज पनि प्रचुर मात्रामा पाइन्छ ।

यसमा हुने एन्टि-हाइपरलिटी तत्वले लिपिड (कोलेस्टोरोल) बढेको अवस्थामा घटाउन काम गर्छ । एन्टि-इन्फाल्मेटरी र एनालजेसिक तत्वले दुखाइ र अंग सुन्निएको कम गर्छ । र, एन्टि-डायबेटिकले शरीरमा ब्लड सुगर नियन्त्रण गर्छ ।

के छन् फाइदा ?

पुरुषको शरीरमा शुक्राणु बन्ने प्रक्रिया कम भयो वा वीर्यको संख्या पातलियो भने जाइफलको सेवन उपयोगी हुन्छ ।  जाइफलले यौन शक्ति बढाउने धेरैजसो अध्ययनमा उल्लेख गरिएको छ । नेसनल मेडिसिन इन्स्टिच्युटमा प्रकाशित अध्ययनअनुसार यसमा उत्तेजित पार्ने तत्त्व हुन्छ । जसकारण यसको प्रयोग दिनहुँ थोरै मात्र गर्ने हो भने पुरुषमा उत्तेजना, यौन इच्छा ल्याई यौनशक्ति बढाउँछ ।

अफ्रिकामा जाइफल हालेर एक पारम्परिक खाद्य पदार्थ ‘पोरेज’ तयार गरिन्छ । सो पकवान यौन इच्छामा रुचि नहुने महिलालाई औषधिको रूपमा दिइन्छ । किनकि जाइफलमा उत्तेजक पार्ने तत्व हुन्छ ।

ब्रेन टनिक : जाइफललाई रोमन र ग्रीक सभ्यतामा मस्तिष्कको टोनिकको रूपमा प्रयोग गरिन्थ्यो । अर्थात्, यसको सेवनले थकान र तनाव कम गर्न गरी मस्तिष्कलाई आराम दिन्छ । यसले एकाग्रता पनि बढाउँछ ।

दुखाइ निवारक : जाइफल दुखाइ कम गर्न प्रयोग गर्न सकिन्छ । प्राचीन चिनियाँ औषधिहरूमा जाइफलको प्रयोग शीर्ष स्थानमा रहेको पाइएको छ । आज पनि जाइफलको तेल जोर्नी दुखाइ, मांसपेशी दुखाइ र बाथरोगमा राहत पाउन उत्कृष्ट मानिन्छ ।

अपच : नेपालमा शताब्दीयौंदेखि अपचबाट छुटकारा पाउन जाइफलको प्रयोग हुँदै आएको छ । पखाला, कब्जियत र बान्ताको समस्या जाइफल खानु लाभदायक मानिन्छ । पेट फुल्ने समस्याबाट छुटकारा पाउन पनि जाइफलको प्रयोग गरिन्छ । यसले पेटको जुका मार्न एन्टिएलर्जीको रूपमा काम गर्छ ।

सासको दुर्गन्ध हटाउन : जाइफललाई धुलोको रूपमा प्रयोग गरेर सासको दुर्गन्ध हटाउन सकिन्छ । यसमा हुने एन्टिब्याक्टेरियल गुणले मुखमा हुने कीटाणुलाई नष्ट गर्छ ।

कलेजो र मिर्गौला सफा राख्न : धेरै प्रकारका विषाक्त पदार्थ खानाबाट शरीरमा प्रवेश गर्न सक्छन् । दूषित हावापानी, सुर्तीजन्य पदार्थको सेवन र मद्यपानले पनि शरीरमा जटिल विषाक्त पदार्थ छोड्छ ।

जाइफलले यसबाट छुट्कारा पाउन जाइफलले मद्दत गर्छ । शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने बित्तिकै यसले कलेजो र मिर्गौला स्वास्थ्यमा सुधार आउँछ ।

रुघाखोकी, दम तथा पिनास : यसमा एन्टिएलर्जी गुण हुने भएकाले खोकी, दम पिनासको समस्यामा राहत दिन्छ । साथै, यसलाई पानीमा मिसाएर खाँदा जमेको खकार तथा सिंगान निकाल्छ ।

अन्य फाइदा

जाइफल घोटेर दूधमा मिसाई पिउनाले निद्रा लाग्छ । तर बढी मिसाएमा हानिकारक हुनसक्छ । जीउ दुखेमा, हातगोडा गलेमा जाइफललाई पानी वा दूधमा पकाई पिउने गर्दा त्यो समस्या केही क्षणमै सुधार हुन्छ ।

कसरी प्रयोग गर्ने ? कति मात्रा खाने ?

जाइफल धुलो र तेलको रूपमा प्रयोग गरिन्छ । यसको धुलो पानी, दूध वा तरकारी र खीरमा मिसाउन सकिन्छ । तर यसलाई पिनेर धुलो बनाएर लामो समयसम्म राखियो भने यसको बास्नामा कमी आउँछ ।

जहाँसम्म मात्राको कुरा छ, दैनिक खाने हो भने २५० एमएलदेखि एक ग्रामसम्म मनतातो पानी वा दूधसँग मिसाएर खान सकिन्छ । जाइफलको दुई ग्राम धुलोमा दुई ग्राम मिस्री मिसाएर दैनिक खाएमा शरीरलाई हृष्टपुष्ट बनाउँछ ।

ध्यान दिनुपर्ने कुरा भनेको जाइफलभित्र एउटा पातलो पत्र हुन्छ, त्यससलाई झिक्नुपर्छ । त्यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।

यसको तेलले दुखाइमा राहत दिन्छ । यसको छालामा हुने घाउ र खटिरा तथा डण्डीफोरमा प्रयोग हुन्छ । यो तेल १६ थोपा भन्दा बढी लगाउनु हुँदैन । स्वाद र स्वास्थ्यका लागि राम्रो हो भन्दैमा अत्यधिक खान भने हुँदैन । एक ग्रामभन्दा बढी खाएमा विषाक्त लक्षण देखिन्छ ।

मात्रा बढी भएमा देखिने साइड इफेक्ट

अत्यधिक खाएमा शरीरलाई गर्मी गर्ने, भ्रम सिर्जना गर्ने, मुटुको दर अनियमित हुने, मुख सुक्खा गराउने र चक्कर लाग्ने हुनसक्छ । पछिल्ला केही अध्ययनले यसको मात्रा बढी भएमा निःसन्तानपनको जोखिम गराउने समेत देखिएको छ ।

कसले खान हुँदैन ?

यदि एलर्जी आइरहने समस्या छ भने यो औषधि खानु हुँदैन । त्यस्तै, यसमा गर्भाशयलाई उत्तेजित पार्ने तत्त्व हुन्छ । जस कारण गर्भ बसेको ३ महिनासम्म जाइफल खानुहुँदैन ।

त्यस्तै, रगत पातलो पार्ने औषधि खाएकोले र डिप्रेसनको औषधि खाएकोहरुले जाइफल नखानु उचित हुन्छ ।

डा. पुनेश्वर केशरी
लेखक
डा. पुनेश्वर केशरी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेद काउन्सिल दर्ता नम्बर : ०४१ एमडी (आयुर्वेद-द्रव्यगुण विज्ञान, (बैंग्लोर, भारत) आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागको जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख, विश्व स्वास्थ्य संगठनको आईसीडी-११, ट्राडस्नल मेडिसिन मोड्युल २ को फोकल पर्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय