+
+

यामलाल कँडेल : ओलीलाई साथ दिए, तर साथ पाएनन्

पार्टी संगठनको जिम्मेवारीमा मात्रै नभएर अवसर आउँदा राजकीय भूमिका समेत नदिएर कँडेललाई नेतृत्वले नै अगाडि बढ्न नदिएको उनी निकट नेताहरूको गुनासो छ ।

यज्ञ खत्री यज्ञ खत्री
२०८० भदौ ११ गते २०:२३

११ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गएको ६ भदौमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले कर्णाली एमालेमा बलियो नेता स्थापित हुन नसकेको टिप्पणी गरे ।

आफ्नै तस्वीर ब्यानरमा राखेर ‘महासचिवसँग कफी र कुरा’ शीर्षकमा आयोजित अन्तर्क्रियामा पोखरेलले कर्णालीबाट राष्ट्रियस्तरमा प्रभाव राख्ने नेता एमालेले स्थापित गर्नुपर्ने सुझाव दिए ।

‘सापेक्ष रूपमा यामलाल कँडेल र गोरख बोगटी जस्ता नेताहरूको योगदान रहे पनि राष्ट्रिय राजनीतिमा स्थापित हुने/नहुने कुरा व्यक्तिमा भर पर्छ’, पोखरेलले भनेका थिए । करिब ४५ मिनेट चलेको अन्तर्क्रियामा महासचिव पोखरेलले कर्णालीबाट नेतृत्व स्थापित गर्न प्रयत्न गर्ने आश्वासन पनि दिए ।

अर्थात् आफू भन्दा पहिलेबाट विद्यार्थी राजनीतिमा लागेका कँडेललाई पोखरेलले राष्ट्रिय राजनीतिको स्थापित नेता स्वीकारेनन् । एमालेभित्र कँडेलको राजनीतिक जिम्मेवारी हेर्दा पनि महासचिव पोखरेलको बुझाइ र अभिव्यक्ति अस्वाभाविक होइन । किनकि स्थायी कमिटी सदस्य कँडेलको पार्टी जिम्मेवारी दैलेख जिल्लाको इन्चार्ज मात्रै हो ।

यदि उनी पार्टी सचिवसम्म हुन्थे भने जिम्मेवारी पनि योभन्दा ठूलो हुनेथियो । तर पदकै कारणले कँडेल जिल्ला इन्चार्जमा खुम्चिएका छन् । २०७८ मंसिरको १०औं महाधिवेशनपछि कँडेलले कर्णाली प्रदेशकै इन्चार्जको जिम्मेवारी पाएका थिए ।

योग्यता र अनुभव भएर पनि पार्टीको संगठनात्मक जिम्मेवारी र राजकीय भूमिकामा अवसर नपाएको बताउने कँडेलको गुनासो र आशा अझै अध्यक्ष ओलीप्रति नै छ ।

तर डेढ वर्ष नबित्दै गत असारदेखि पार्टी सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने नीति एमालेले लिएपछि कँडेल जिल्ला इन्चार्जमा घटुवा भए । सचिवले मात्रै प्रदेश इन्चार्जको जिम्मेवारी लिने पार्टी नीतिप्रति कँडेल असन्तुष्ट छन् । उनी निकट एक नेता कँडेललाई जिम्मेवारीबाट अलग गराउनकै लागि यस्तो नीति लिइएको तर्क गर्छन्् । यद्यपि कँडेलले सार्वजनिक असन्तुष्टि जनाएका छैनन् ।

‘कर्णालीबाट एक जना पनि पदाधिकारीमा हुनुहुन्न । अरू ६ प्रदेशबाट प्रतिनिधित्व हुने गरी सचिव हुनुहुन्छ’ ती नेता भन्छन्, ‘पार्टी केन्द्रको नीतिबाट यामलाल लक्षित गरिएको प्रष्ट छ ।’ उनका अनुसार, कर्णाली पदाधिकारीविहीन हुने अवस्था रहेकै तर्क सहित कँडेलले पार्टी सचिवमा उम्मेदवारी बताएका थिए ।

तर अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको पदाधिकारीको सूचीमा कँडेलको नाम अटेन । तसर्थ चाहना भएर पनि पदाधिकारी बन्न नपाएको तथ्य अनदेखा गरेर नेताहरूले बोल्न नहुने कँडेल निकट ती नेता बताउँछन् ।

कँडेलले नपाएको अवसर

पार्टी संगठनको जिम्मेवारीमा मात्रै नभएर अवसर आउँदा राजकीय भूमिका समेत नदिएर कँडेललाई नेतृत्वले नै अगाडि बढ्न नदिएको उनी निकट नेताहरूको गुनासो छ । जसको पछिल्लो उदाहरण गत मंसिरको चुनावपछि प्रदेश सरकार गठनबारे लिइएको निर्णय भएको उनीहरू बताउँछन् ।

चुनावपछि कर्णालीमा पनि एमाले समेतको सरकार बनेको थियो । तर बालकोटमै भएको सहमतिमा २०७४ कै जस्तो कर्णालीको नेतृत्व माओवादी केन्द्रले लिने निर्णय भयो । अझ पाँचै वर्ष माओवादी केन्द्रले नेतृत्व लिने सहमति जुटेको सूचनाका आधारमा कँडेल सहित कर्णालीका नेताहरूले असन्तुष्टि जनाए । असन्तुष्टि पछि आधा–आधा नेतृत्व गर्ने सहमति जुट्यो । तर माओवादी केन्द्रले गठबन्धन बदलेपछि त्यो संभावनाको अवसर पनि टर्‍यो ।

यदि गठबन्धन टिकेको थियो भने कँडेल आधा कार्यकाल मुख्यमन्त्री बन्ने आशा बाँकी रहन्थ्यो । किनकि सुर्खेत–२ (क) बाट निर्वाचित कँडेल एमाले प्रदेश संसदीय दलका नेता हुन् । उसो त कँडेल २०७४ मै मुख्यमन्त्री बन्ने चाहना बोकेरै प्रदेशसभा सदस्यको चुनाव लडेका थिए ।

मुख्यमन्त्री बन्न आवश्यक अनुभव र राजनीतिक योगदान पनि उनीसँग लामै थियो । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएका कँडेल गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा २०५५ सालमै पर्यटन मन्त्री बनेका थिए । २०४९ मा वीरेन्द्रनगरको मेयर बनेका कँडेल त्यसयताका हरेक चुनाव लडेका छन् । २०५१ र २०६४ मा प्रतिनिधिसभा सदस्य जितेका कँडेल २०५६ र २०७० मा पराजित भएका थिए ।

२०७४ मा मुख्यमन्त्री बन्ने गरी चुनाव लडेका कँडेललाई प्रदेशसभा समीकरणले पनि साथ दिएको थियो । प्रतिनिधिसभातर्फ ९ सिट जितेको एमालेसँग ४० सदस्यीय प्रदेशसभामा २० सिट थियो । अर्थात् सरकार बनाउन एक सिटको मात्रै कमी थियो । माओवादीसँग त्यसबेला देशभर गठबन्धन र लगत्तै पार्टी एकता हुँदा कर्णाली प्रदेशसभामा असाधारण बहुमत जुट्यो ।

तर पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कर्णाली सरकारको नेतृत्व माओवादी केन्द्रको भागमा पर्‍यो । कँडेलले पार्टी केन्द्रको निर्णयलाई चुनौती दिंदै मुख्यमन्त्री बन्ने अडान लिए । तर ओलीकै निर्देशनमा माओवादी नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन समर्थन गरे । त्यसबेला आलोपालो मुख्यमन्त्रीको शर्त कँडेलले राखेका थिए । तर त्यो सहमति कार्यान्वयन हुने अवस्था थिएन ।

अतः २४ असोज २०७७ मा मुख्यमन्त्री शाहीविरुद्ध कँडेलले अविश्वासको प्रस्ताव ल्याए, तर सफल हुन सकेनन् । २३ फागुन २०७७ मा सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताएपछि १ वैशाख २०७८ मा पुनः अविश्वासको प्रस्ताव ल्याए । तर एमालेमा माधवकुमार नेपालतर्फका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर शाहीको सरकार जोगाइदिए । केही समयपछि राष्ट्रिय राजनीतिक समीकरण बदलिंदा कर्णालीमा एक सिट मात्रै जितेको कांग्रेसका नेता जीवनबहादुर शाहीले बरु मुख्यमन्त्री बन्ने अवसर पाए ।

‘२०७४ र यसपटक पनि पहिलो कार्यकाल एमालेले कर्णालीको नेतृत्व लिने भन्ने सहमति नेतृत्वबाट भएको थियो भने कँडेलले अवसर पाउने थिए । तर दुवैपटक त्यस्तो हुन सकेन’, उनी निकट अर्का नेता भन्छन् । तर कांग्रेसबाट पूर्णबहादुर खड्का, माओवादीबाट जनार्दन शर्मा, शक्ति बस्नेत जस्ता नेतालाई नेतृत्वले नै राम्रो अवसर दिंदा कर्णाली सरकार पनि उनीहरूले नै चलाउने वातावरण बनिरहेको उनी तर्क गर्छन् ।

यसपटक त कर्णालीमा एमाले सरकारका लागि पहल गर्न समेत बलियो आधार छैन । किनकि प्रतिनिधिसभातर्फ नील गएको एमाले प्रदेशसभामा पनि अघिल्लो चुनाव भन्दा आधाले (यसपटक एमालेको प्रदेशसभामा १० सिट) घटेर तेस्रो शक्तिमा खुम्चिएको छ । प्रदेशसभामा कांग्रेससँग १४, माओवादीसँग १३ र अरू दलहरू एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक÷एक सांसद छन् ।

ओलीप्रति गुनासो

योग्यता र अनुभव भएर पनि पार्टीको संगठनात्मक जिम्मेवारी र राजकीय भूमिकामा अवसर नपाएको बताउने कँडेलको गुनासो र आशा अझै अध्यक्ष ओलीप्रति नै छ । त्यसो हुनुमा पार्टी नेतृत्वमा ओलीलाई पुर्‍याउने आफ्नो पनि भूमिका रहेको निकटस्थहरूलाई कँडेलले बताउने गरेका छन् ।

नवौं महाधिवेशनमा ४४ मतान्तरले माधव नेपाललाई हराएर ओली अध्यक्ष निर्वाचित हुँदा आफूले नेतृत्व गरेको तत्कालीन भेरी अञ्चलबाट पूरा मत दिलाउन सफल भएको कँडेलले बताउने गरेका छन् । त्यसपछि पार्टीभित्र हुने हरेक अन्तरसंघर्षमा पनि कँडेलले ओलीलाई साथ दिए ।

‘केपी ओलीलाई अप्ठ्यारो परेका बेला सधैं साथ दिने कँडेलले आफूले भने नेतृत्वको साथ कहिल्यै पाएको देखिएन’, कर्णालीका एक नेता बताउँछन् । उनका अनुसार, १४ वर्ष पार्टी नेतृत्व चलाएको अनुभवी माधव नेपाल र उनी निकट नेताहरू विरुद्ध चर्को प्रतिवाद गरेर कँडेलले ओलीलाई पार्टी बैठकहरूमा समेत साथ दिएका थिए । कतिसम्म भने मुख्यमन्त्रीमा ओलीको साथ नपाए पनि तत्कालीन नेकपा विभाजन हुँदा समेत कँडेलले बलियो साथ दिए ।

तर नेतृत्वले साथ नदिएकै कारण कँडेलले पार्टीभित्र अहिलेसम्म पदाधिकारी र २५ वर्षदेखि राजकीय भूमिकामा नपाएको कर्णाली एमालेका नेता यमराम शर्मा बताउँछन् । ‘शीर्ष नेतृत्वले उपेक्षा गरेकै कारण मन्त्री, मुख्यमन्त्रीमा पटक–पटक वञ्चित हुनु परेको स्थिति छ’, उनी भन्छन् ।

कर्णाली एमालेका नेताहरू, यामलाल कँडेल मात्रै नभएर पार्टी नेतृत्वले सिंगो कर्णालीलाई नै उपेक्षा गरेको बताउँछन् । २०७४ पछि कर्णालीले संघीय सरकारमा समेत राज्यमन्त्री भन्दा माथिको अवसर नपाउनुले पनि नेतृत्वको उपेक्षा पुष्टि हुने एक नेता बताउँछन् ।

२०७४ मा ओली प्रधानमन्त्री हुँदा डोल्पाका धनबहादुर बुढा पर्यटन राज्यमन्त्री र मुगुका मोहन बानियाँ विना विभागीय राज्यमन्त्री बनेका थिए । ‘मन्त्री, राजदूत, संवैधानिक नियुक्तिमा समेत कर्णालीलाई नेतृत्वले अवसर दिइरहेको छैन’ ती नेता भन्छन्, ‘हुँदाहुँदा आफ्नै सरकारले कर्णालीमा प्रदेश प्रमुख बनाउन समेत सुदूरपश्चिमबाट गोविन्द्रप्रसाद कलौनीलाई ल्याइयो ।’

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?