+
+

वासिम अक्रमले भने : नेपालमा क्रिकेटको चासो ठूलो छ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १३:२९

१२ भदौ, काठमाडौं । पाकिस्तानी राष्ट्रिय टिमका पूर्व कप्तान तथा फास्ट बलर वासिम अक्रमले नेपालमा क्रिकेटको ठूलो चासो भएको बताएका छन् ।

एसिया कप २०२३ सुरु हुनुअघि दुबईमा भएको मुख्य प्रायोजक र ट्रफी अनावरण कार्यक्रममा पाकिस्तानी लेजेण्ड अक्रमले नेपाली क्रिकेटबारे आफू जानकारी भएको भन्दै एसिया कपका लागि योग्य रहेको बताएका हुन् ।

‘मैले उनीहरुलाई फलो गरिरहेको छु र उनीहरु छनोट भएर आएका छन् । उनीहरुले राम्रो प्रदर्शन गरेका छन्,’ अक्रमले भने, ‘मैले एउटा खेलको तस्वीर देखेको थिएँ जहाँ स्टेडियम खचाखच भरिएको थियो । आधा मानिस बाहिर रूखमा बसिरहेका थिए ।’

नेपालमा क्रिकेटको प्यासन धेरै रहेको आफूले पाएको अक्रमले बताए । ‘नेपालमा क्रिकेटको चासो ठूलो छ । र यो अझ ठुलो बन्दै गइरहेको छ’, सन् १९९२ मा पाकिस्तानका लागि वानडे विश्वकप जितेका अक्रमले भने ।

किङ अफ स्वीङ उपनामले परिचित अक्रमले सन् १९९२ को विश्वकपमा सर्वाधिक १८ विकेट लिएका थिए । पहिलो पटक एसिया कप खेल्न लागेको नेपाली क्रिकेट टोलीबारे अहिले धेरै चर्चा भइरहेको छ । त्यसमा पनि नेपालले समूह चरणमै विश्वकप क्रिकेटका पावरहाउस भारत र पाकिस्तानसँग खेल्दैछ ।

बुधबार मुल्तान क्रिकेट स्टेडियममा घरेलु टोद्यी पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपमा डेब्यु गर्नेछ ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले भर्खरै ओडीआईमा विश्व नम्बर वान टोली बनेको पाकिस्तानसँग म्याच खेल्न लागेको हो ।

अक्रमले नेपाललले घरेलु क्रिकेट संरचनामा सुधार गर्नुपर्ने र त्यसपछि ठुला टिमसँग खेल्न तयार हुने बताएका छन् । ‘अब उनीहरूले आफ्नो संरचना, प्रथम श्रेणी र घरेलु सेटअपमा सुधार गर्नुपर्नेछ, त्यसपछि उनीहरू शीर्ष टोलीहरूसँग प्रतिस्पर्धा गर्न सुरु गर्न सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?