+
+

सुनकाण्डका एक आरोपीसँग भेटियो तीन देशको नागरिकता

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते २२:०३

११ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा समातिएका एक व्यक्तिको साथमा तीन वटा मुलुकको नागरिकता फेला परेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा १ भदौमा पक्राउ गरेका चिनियाँ नागरिक याओ पुचेङसँग भारत र नेपालको नागरिकता पनि फेला परेको हो ।

ब्यूरो स्रोतका अनुसार, पक्राउ परेका बेला उनीसँग भारतको आधार कार्ड भेटिएको थियो । उनले हरियानाको गुरुग्रामबाट आधार कार्ड बनाएको फेला परेको थियो ।

हालै उनको काभ्रेबाट जारी भएको नेपाली नागरिकता पनि फेला परेको अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरलाई बताए । ‘त्यसको आधारमा उनले राहदानी बनाएको पनि फेला परेको छ’, ब्यूरो स्रोतले अनलाइनखबरसँग भन्यो, ‘उनी खासमा चिनियाँ नागरिक हुन्, उनको चिनियाँ सरकारी कागजात पनि भेटिएको छ ।’

प्रहरीले उनको नागरिकताको विवरण माग्दै जिल्ला प्रशासन कार्यालय, काभ्रेलाई पत्राचार समेत गरेको थियो । तर, काभ्रे प्रशासनले रेकर्ड फेला नपरेको जवाफ फर्काएको छ ।

अरु थप ३ चिनियाँ नागरिकले पनि लिएको नागरिकताबारे पनि सबै विवरण प्रशासनले उपलब्ध नगराएको स्रोतले अनलाइनखबरलाई बतायो । स्रोतका अनुसार, केही विवरण प्रशासनबाटै गायब छन् ।

 प्रकरणमा हालसम्म चिनियाँ नागरिक सउतेन भनिने डिङ सेग फा, अली र ली समेत भनिने ली वेन टी सुङ, स्टेप्स र रोजर पनि भनिने ली नेङकाई, एलेक्स भनिने याओ पुचेङ, भारतीय नागरिक टासी भनिने थुप्नेत छिरिङ र बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका छन् ।

उनीहरुको अन्तरदेशीय कनेक्सन फेला परेपछि प्रहरीले अनुसन्धानमा इन्टरपोल समेत सहयोग लिँदैछ । ब्यूरोका एसएसपी दिनेश आचार्यलाई हङकङ पठाउने तयारी समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?