+
+

भेपभित्र सुन ल्याउने समूह बल्ल छानबिनमा, राहुललाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान हुनसक्ने

चीन पुगिसकेका वाङ र लुईलाई छानबिनको दायरामा ल्याउन कूटनीतिक प्रयास

सुन तस्करका नाइकेको खोजीका लागि ब्यूरोले कूटनीतिक पहल पनि थालेको छ । स्रोतका अनुसार, नेपालस्थित चिनियाँ दूतावासलाई वाङ र लुईबारे विवरण पठाएर अनुसन्धानमा सहयोग गरिदिन अनुरोधसहित पत्राचार गरेको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८० भदौ १४ गते ९:३०

१४ भदौ, काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा तस्कर समूहविरुद्धको अनुसन्धान सुरु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गोदामबाट चोरिएको सुनबारे अदालतमा मुद्दा दायर भएको झण्डै दुई महिनापछि केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबी) ले तस्करीमा संलग्न समूहमाथि अनुसन्धान थालेको हो ।

दोस्रो चरणको अनुसन्धानका क्रममा प्रहरीले बुधबार पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर संगठित अपराध र अवैध सुन चोरी पैठारीको कसूरमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको सीआईबीका एसपी नवराज अधिकारीले बताए ।

दुई महिना अघि आपराधिक विश्वासघात र संगठित अपराधमा सुन चोरी गर्ने समूहविरुद्ध मात्रै मुद्दा दायर भएको थियो । ‘राहुलको पक्राउसँगै सुन ल्याउने समूहविरुद्ध अनुसन्धान गर्न सीआईबीले ६० दिन समय पाएको छ’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘यो अवधिमा सुन ल्याउने चिनियाँ नागरिकहरुबारे पनि अनुसन्धान हुन्छ ।’

चीन पुगेका नाइके खोज्न कूटनीतिक पहल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई-सिगरेट -भेप) बरामद भएको थियो । त्यसभित्र सुन रहेको थाहा पाएपछि भएको अनुसन्धानका क्रममा भन्सारका नायब सुब्बा रेवन्त खड्का समेतको मिलेमतोमा भेप चोरी गरेर विक्री गरिसकेको खुलेको थियो ।

भेप बिक्री गरिएको झण्डै ३ महिनापछि मात्रै त्यसमा सुन भएको थाहा पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले छानबिनका लागि सीआईबीमा जाहेरी दिएका थिए । भेपमा सुन भएको ढिला गरी मात्र थाहा हुँदा अनुसन्धान सुरु हुनुअगावै यसमा संलग्न दुई चिनियाँ नागरिक भागेर चीन पुगिसकेका थिए ।

पूर्वसभामुख कृष्णबहादुर महरा र छोरा राहुलसँग सम्पर्कमा देखिएका भनिएका ती दुई चिनियाँ नागरिक लुई र डाओजिन वाङबारे अहिले बल्ल अनुसन्धान सुरु भएको हो ।

महराका अर्का छोरा निर्मलले वाङलाई स्याउ व्यापारीको रुपमा चिनेको र ‘त्यही आधारमा विमानस्थलमा केही सामान रोकियो भनेपछि भाइले त्यहाँका अधिकृतसँग बुझेको’ केही दिन अगाडि अनलाइनखबरसँग बताएका थिए । पुरानै चिनजान भएकाले विमानस्थलमा चिनेका अधिकृतलाई भाइले फोन गरेको भन्दै उनले भने, ‘उसले अरु के काम गर्छ भन्ने थाहा हुने कुरा भएन । अर्का चिनियाँलाई त चिनेकै छैन ।’

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महरा बाबु-छोरामाथि अनुसन्धान अघि बढाउन निर्देशन दिएलगत्तै राहुल फरार भएका थिए । बुधबार भने ब्यूरोका केही अधिकृतहरुसँग सम्पर्क गरेर सीआईबी जाने तयारी गरेका थिए । तर, बाटोबाटै अधिकृतहरुले उनलाई नियन्त्रणमा लिएको स्रोत बताउँछ ।

सुन तस्करका नाइकेसँग सम्पर्कको आधारमा उनलाई पक्राउ गरिए पनि मुख्य व्यक्ति भने चीन पुगिसकेका छन् । उनीहरुको खोजीका लागि ब्यूरोले कूटनीतिक पहल पनि थालेको छ । स्रोतका अनुसार, ब्यूरोले नेपालस्थित चिनियाँ दूतावासलाई वाङ र लुईबारे विवरण पठाएर अनुसन्धानमा सहयोग गरिदिन अनुरोध गरेको छ ।

‘अनुसन्धानका विभिन्न टुल्सहरु प्रयोग गरेर यसमा संलग्न अन्यको खोजी भइरहेको छ, दुई चिनियाँ चाहिँ चीन पुगिसकेकाले औपचारिक च्यानलबाट पनि प्रयास गरेका हौं’, एक अधिकृतले भने, ‘अनौपचारिक रुपमा पनि चीनसँग सहयोग लिने काम भइरहेको छ ।’ नेपालस्थित चिनियाँ दूतावासलाई भने प्रहरीले सहयोग माग्दै पत्राचार नै गरेको छ ।

प्रहरीले यो प्रकरणको अनुसन्धानमा पनि अन्तर्राष्ट्रिय प्रहरी संगठन -इन्टरपोल)को सहयोग लिने भएको छ । ६० किलो सुन तस्करी प्रकरण र भेपमार्फत तस्करी भएको सुन ल्याउने समूहको आपसमा सम्बन्ध देखिएपछि प्रहरीले अनुसन्धानलाई थप बृहत् बनाएको छ । त्यसक्रममा इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो -एनसीबी) काठमाडौंका एसपी अनुपम शमशेर राणालाई पनि सुन अनुसन्धान समितिमा राखेर काम भइरहेको छ ।

हाल सीआईबीका एसएसपी दिनेश आचार्य पनि अनुसन्धानका लागि हङकङमा छन् ।

यसरी बाहिरिएको थियो सुन प्रकरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ ई-सिगरेट -भेप) बरामद भएपछि चिनियाँ नागरिकहरु चासो राख्दै पटक-पटक विमानस्थल पुगेका थिए । लिलाम गरिदिन भन्दै पटक-पटक भन्सारमा उनीहरु पुगेपछि त्यहाँका अधिकारीलाई शंका भएको थियो ।

‘बजार मूल्य अनुसार झण्डै ५ लाख रुपैयाँको सामानका लागि जस्तोखाले व्यक्तिहरुबाट बारम्बार दबाब आयो, त्यसले भन्सारका अधिकारीहरुलाई शंका लागेको रहेछ’ ती अधिकृतले सुनाए, ‘धेरै प्रेसर गरेपछि शंका लागेर यसमा अनुसन्धान भइरहेको छ, लागूऔषध वा अरु केही हुनसक्ने देखिन्छ भनिदिएछन् ।’

त्यसपछि चिनियाँहरु आउन छाडे । केही समय पछाडि हेर्दा भेप भएको बाकस सही अवस्थामा देखिएन । ‘सुटकेस त्यहीँ थियो, भित्रको सामान फेरिइसकेको थियो’ सीआईबीका अनुसन्धान अधिकृतहरु भन्छन्, ‘पहिले जाँच गर्दा खिचेको फोटोसँग मिलेन । त्यसपछि भन्सारका अधिकारीहरुले खोधखोज थालेको पाइएको छ ।’

त्यसक्रममा गोदाम व्यवस्थापनमा खटिने नायब सुब्बा खड्कालाई बोलाएर भन्सारका प्रमुख प्रशासक अरुण पोखरेलले सोधपुछ गरेका थिए । सुरुमा त उनले त्यहीँ ‘मिसप्लेस’ भएको हुनसक्ने बताएपछि सामान दुरुस्त हालतमा दाखिला गर्नू भनेको प्रमुख भन्सार प्रशासक पोखरेलले सीआईबीसँग गरेको घटना विवरण कागजमा खुलाएका छन् ।

‘पटक-पटक सामानको सम्बन्धमा ताकेता गर्दा पनि उनले कार्यालयमा उपस्थित नहुने, कार्यालयले पत्राचार गर्दा समेत पत्र बुझ्न नआउने गर्न थालेपछि यथार्थ व्यहोरा नखुलाएमा प्रहरीको सहयोगमा फौजदारी कसुरमा मुद्दा दर्ता गर्ने भनेपछि बल्ल भेपमा सुन रहेको खुलाएका थिए,’ उनले प्रहरीसँग भनेका छन् ।

अधिकृतहरुका अनुसार, भन्सारले बरामद गरेको भेपमा सुन रहेको सुनेको भन्दै बिचौलिया दिनेश बस्नेतले जानकारी गराएपछि नायब सुब्बा खड्काले जाँच गरेका थिए ।

‘प्रशासनिक भवनको गोदाममा सीसी क्यामेरा भएकाले कार्गो भवनको १११ नम्बर कोठामा सारेर जाँच गरेको पाइएको छ,’ सीआईबीकी निर्देशक किरण बज्राचार्य भन्छिन्, ‘भन्सारले बरामद गरेको मालवस्तु मूल्यांकन समितिबाट मूल्यांकन भए पनि स्वास्थ्यमा असर गर्ने प्रकृतिको भएकाले लिलाम बिक्री नभई थन्किएको अवस्थामा सुन रहेको थाहा पाएपछि मिलेमतोमा चोरी गरेको पाइएको छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?