 
																			१४ भदौ, काठमाडौं । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय, गगनगौंडा (पोखरा)ले २५ साउनमा एक पम्पका लागि डिजेल बिक्री गर्यो । आयातकर्ता पम्पले निगमलाई १२ हजार लिटरको १८ लाख ३६ हजार रुपैयाँ पैसा तिरे । निगमको हिसाबमा पनि १२ हजार लिटर डिजेल बिक्रीबापत सो रकम भुक्तानी भएको देखिन्छ ।
तर, डिपोबाट केही पर मात्रै पुगेको ट्यांकरलाई नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गर्दा ट्यांकरमा १५ हजार लिटर डिजेल भेटियो । अर्थात्, बिक्री गरेको भनिएको भन्दा ३ हजार लिटर धेरै तेल डिपोबाट पम्पमा गएको भेटियो, जसको मूल्य ४ लाख ५९ हजार रुपैयाँ हुन्छ ।
एउटा ट्यांकरमा एकैपटकमा बिल परिमाणभन्दा साढे ४ लाख रुपैयाँ बढीको इन्धन बिक्री गर्ने कार्य संगठित रुपमा भएको भन्दै डिपो प्रमुख चित्तरञ्जन दास र ट्यांकर मालिक लगायतलाई कारबाही गर्न कास्की जिल्ला प्रशासनले अख्तियारलाई पत्राचार गरेको थियो । अवैध तेल नियन्त्रणबारे २५ साउनमा अनलाइनखरसँग कुरा गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भनेका थिए, ‘अवैध तेल बिक्रि गरेर सरकारी सम्पत्तिमा हानी पुर्याउने गरेको सूचनाका आधारमा हामीले चेकजाँच गरेका थियौं ।’
तेल चोरीको प्रमाणसहित ट्यांकर बरामद भएपछि अहिले दासविरुद्ध ठगी मुद्दा दायर गरिएको छ । मुलुकी अपराध संहिताअन्तर्गत आपराधिक विश्वासघात (ठगी) अभियोगमा जिल्ला अदालत कास्कीमा २९ असारमा मुद्दा दर्ता भएको हो । यससँगै उनी निलम्बनमा परेका छन् ।
तेलको अवैध कारोबार यसअघि पनि पटक-पटक हुने गरेको सूचना आएपछि प्रशासनले उक्त जाँच गरेको र त्यो सावित भएको भन्दै घिमिरेले थप कारवाहीका लागि अख्तियारलाई पत्राचार गरेका थिए । अहिले उक्त डिपोको अनियमितता अख्तियारको पोखरा कार्यालयले छानबिन गरिरहेको छ ।
अनुसन्धानको प्रारम्भिक चरणमा देखिएका तथ्यहरुले जनताको करबाट तलब भत्ता र सुविधा लिएका कर्मचारीहरुले कतिसम्म बेथिति गर्न सक्छन् भन्ने उदागिन्छ । हाकिमलाई खुसी बनाउन माछा उपहार पठाउनेदेखि तेल चोरी गरेर बिक्री बापतको रकम निगम नेतृत्वसम्म पुग्ने गरेको विवरणहरुमा अख्तियारले छानबिन थालेको छ ।
५ सय किलो माछा हाकिमका घरघरमा
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले भदौ १२ गते निगमको पोखरा डिपोलाई ११ वटा प्रश्न सोधेको छ । जसमा एउटा रोचक प्रसंग छ ‘काठमाडौंको केन्द्रीय कार्यालयमा ५ सय किलो पोखराको माछा बाँडेको विषय !’ अख्तियारले भनेको छ ‘पोखराको स्पेशल माछा भन्दै गाडी नै रिजर्भ गरेर वितरण गरेको भन्ने विषय के हो प्रष्ट प्रतिक्रिया र व्यहोरा खुलाई पाउँ ।’
जानकारहरुका अनुसार २०७९ पुसमा निगमको केन्द्रीय कार्यालयको हातामा ५ सय किलो माछा बोकेको गाडी आएको थियो । पोखरा डिपोका हाकिमले पठाएको भन्दै त्यो माछा केन्द्रीय कार्यालयका सबैलाई बाँडिएको थियो ।
‘पोखराको स्पेशल माछा भन्दै कार्यालयका निर्देशक, ट्रेड युनियनका नेता, उपनिर्देशकदेखि डीजीएम र जीएमको घरघरमा पुग्नेगरी माछा बाँडिएको थियो,’ केन्द्रीय कार्यालयका एक कर्मचारीले भने, ‘सबैको गाडीमा माछा राखिएको थियो भने सो माछा मन्त्रालयसम्म पनि पुर्याइएको थियो ।’ निगम स्रोतका अनुसार आफूलाई आकर्षक कार्यालयमा पठाएको भन्दै तत्कालिन डिपो प्रमुख चित्तरन्जन दासले उक्त माछा पठाएका थिए । सोही माछाबारे अख्तियारले जवाफ मागेको हो ।
ठेकदारलाई रजाइँ
आयल निगम पोखरा कार्यालयले ५ लाख रुपैयाँ बराबरको योजना करोडौं रुपैयाँको भौतिक निर्माणका काम गरेको अख्तियारले जनाएको छ । जसमा आयोजना पूरा नहुँदै भुक्तानी दिएकोदेखि आफ्नै जिल्लाको ठेकेदार ल्याएर निगमको स्रोत सम्पत्तिको चरम दोहन गरेको विषय पनि अख्तियारले जवाफ माग गरेको छ ।
निगमको गाडी, तेल र अन्य सुविधाहरु ठेकदारलाई सित्तैमा उपलब्ध गराएको पनि आख्तियारले जनाएको छ । अधिक मूल्याङ्कन गरेर गेटको स्टिमेट बनाइएको, अपारदर्शी ढंगबाट साना योजना बनाएर भुक्तानी गरिएको, गत वर्ष मात्रै लाखौं रुपैयाँ खर्च गरेर रङ्गरोगन गरिएको संरचनामा कमिसनको लोभमा पुनः रङ्ग लगाइएको विषयमा अख्तियारले विवरण माग गरेको छ ।
तेल चोरी, डिपोको रकम अनियमितता
अख्तियारले तोल चोरी र अपचलन गरेको तथा डिपोको बजेट अपचलन गरेको विषयमा पनि अनुसन्धान सुरु गरेको छ । डिपोको तेलको विवरण र आम्दानी दुरुस्त नभएको, डिपोको प्रशासनिक खर्चमा अनियमितता गरेको, डिपोको विनियोजित बजेट र खर्चको हिसाब नमिलेकोबारे पनि निगमबाट आयोगले जवाफ मागेको छ ।
नेपाल आयल निगमको केन्द्रीय कार्यालयले भने पोखरा घटनाका विषयमा भइरहेको छानबिनलाई सघाइरहेको जनाएको छ ।
पोखरामा भएको घटनामा अहिले अख्तियार र जिल्ला प्रहरी कार्यालय कास्कीबाट अनुसन्धान भइरहेको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । ‘अनुसन्धान भइरहेको कुरा साँचो हो, अनुसन्धानको क्रममा रहेको विषयमा थप बोल्न मिल्दैन,’ उनले भने ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4