+
+

बालेनको अराजक आक्रोश

बालेनले गृहमन्त्रीको निजी सचिवालय र काठमाडौंका सीडीओलाई समेत फोन गरेर महानगरको गाडी रोकिएको प्रति आक्रोश पोखिसकेका थिए । फेसबुकमार्फत ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै अभिव्यक्ति दिएका उनको आलोचना पनि भएको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८० भदौ १७ गते २०:१६

१७ भदौ, काठमाडौं । बालकुमारीबाट कोटेश्वरतर्फ आउने सर्भिस लेनमा शनिबार राति पौने ९ बजेतिर ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरको नियमित जाँच चलिरहेको थियो । त्यहीवेला सरकारी नम्बर प्लेटको गाडी देखेपछि ड्यूटीमा रहेका प्रहरीले रोके ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार, नियमित जाँचका क्रममा गाडी रोकेर सोधपुछ भएको थियो । त्यसमाथि सरकारी गाडी बिदाको दिन चलेपछि पास भए/नभएको बारे सोधिएको थियो ।

भट्टका अनुसार, सोधपुछ अघि त्यो गाडी काठमाडौं महानगरपालिकाको भएको जानकारी थिएन । चालकले परिचय पत्र देखाएर पछाडि मेयर बालेन शाह पत्नी सविना काफ्ले रहेको बताए । केहीबेरको सोधपुछपछि ट्राफिक प्रहरीले महानगरको गाडी छाड्यो ।

जब मेयर पत्नी काफ्ले घर पुगिन्, बालेनले ट्राफिक प्रहरीले रोकेको थाहा पाए । त्यसपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा ‘आपत्तिजनक’ अभिव्यक्ति राखे । राति साढे ९ बजे बालेनले सामाजिक सञ्जालमा लेखेका थिए :

आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।

काठमाडौंका मेयर बालेनले गृहमन्त्रीको निजी सचिवालय र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई समेत फोन गरेर महानगरको गाडी रोकिएको प्रति आक्रोश पोखिसकेका थिए । सामाजिक सञ्जाल मार्फत ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै अभिव्यक्ति दिएको उनको आलोचना पनि भएको छ ।

राजनीतिक विश्लेषक केशव दाहाल मेयर पत्नी सवार सरकारी गाडी बिदाको दिन सडकमा भेटिंदा ट्राफिक प्रहरीले रोकेर सोधखोज गर्नु सामान्य र स्वाभाविक भएको बताउँछन् ।

‘अहिलेको राजनीतिक दलहरूप्रति प्रश्न गर्दै वैकल्पिक राजनीति गरिरहेकाहरूले उठाएको मुख्य कुरा सुशासन हो’ दाहाल थप्छन्, ‘यस्तोमा बिदाको दिन सरकारी गाडी कुदाउँदा अनिवार्य पास लिनैपर्छ । मेयर र मेयरको परिवार र आमनागरिकलाई अर्को नियम भन्ने हुँदैन ।’

दाहालको बुझाइमा राजनीतिमा रहेका व्यक्ति, अझ दलहरूको विकल्पका रूपमा उदाएकाले आफ्नो भाषालाई सन्तुलित राख्न सक्नुपर्छ । ‘जतिसुकै रिस उठे पनि चित्त नबुझे पनि भाषालाई सन्तुलित राख्न सकेन भने त्यसले राम्रो सन्देश दिंदैन’ भन्छन्, ‘यसले उनलाई राम्रो गर्दैन, उनीप्रति सद्भाव राख्ने पनि निराश हुन्छन् ।’

बालेनको सचिवालयले भने आइतबार अपराह्न वक्तव्य जारी गर्दै सुत्केरी अवस्थामा रहेकी काफ्लेको ‘स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पको रूपमा उपलब्ध रहेको’ गाडी प्रयोग गरेर अस्पताल गएको बताएको छ ।

आफ्नो स्वास्थ्य उपचार र एनआईसीयूमा भर्ना रहेको शिशुलाई स्तनपान गराएर फर्किने क्रममा राति ९ बजे कोटेश्वरमा प्रहरीले दुर्व्यवहार गरेको शाहको सचिवालयले भनेको छ ।

‘प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे’ विज्ञप्तिमा भनिएको छ, ‘सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल, के हो ? कहाँ हो ?’ यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।’

‘प्रसव पीडा र शारीरिक समस्यामा एवं नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेको महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको असभ्य व्यवहार निन्दनीय र खेदजनक’ भएको बालेनको सचिवालयले जनाएको छ ।

प्रसव पीडा र शारीरिक समस्यामा रहेकी, अनि नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी सविनालाई सुरक्षा जाँचमा रहेका प्रहरीले गरेको (असभ्य ?) व्यवहार श्रीमान् (बालेन) लाई चित्त नबुझ्नु अस्वाभाविक नहोला ।

तर बालेन स्थानीय सरकार (काठमाडौं महानगर) का प्रमुख पनि हुन् । फेसबुकमा मात्र १७ लाख बढी फलोअर भएका उनी सामाजिक सञ्जालका ‘इन्फ्लुएन्सर’ पनि हुन् । श्रीमती चढेको गाडी रोकेर सोधपुछ गरेकै कारण ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्नु अराजक अभिव्यक्ति भएको आलोचकहरू बताउँछन् ।

सामाजिक अभियन्ता ईः पारिवारिक रूपमा अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको परिस्थितिप्रति सहानुभूति भए पनि अराजकता फैलाउने अभिव्यक्ति दिनु आपत्तिजनक भएको बताउँछन् ।

‘व्यक्तिगत रूपमा जति फ्रस्ट्रेशन भए पनि त्यसरी सार्वजनिक रूपमा अराजक टिप्पणी राख्न हुने थिएन’ उनले भने, ‘उहाँ आफैं नैतिकताको राजनीति गर्नुपर्छ भनिरहनुभएको हो । आफैं उच्च मोरल ग्राउण्डबाट उदाउनुभएको हो । उहाँले नै त्यस्तो अभिव्यक्ति दिंदा राजनीतिमा नयाँ आइरहेको पुस्ताप्रति पनि समाजमा राम्रो सन्देश जाँदैन ।’

वैशाख २०७९ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंको मेयर जितेका बालेनप्रति नयाँ पुस्ताको आकर्षण छ । शिक्षा, स्वास्थ्य क्षेत्रमा सकारात्मक काम गरेका बालेनमाथि टुँडिखेलमा पार्किङ बनाउने योजना, वैकल्पिक व्यवस्था नगरी फुटपाथ हटाउनु लगायत कामका कारण प्रश्न पनि उठ्ने गरेको छ ।

त्योभन्दा बढी चाहिं सामाजिक सञ्जालमा दिने अभिव्यक्तिका कारण पटक-पटक विवादमा पर्ने गरेका छन् । अधिकारीहरूका अनुसार पटक–पटक यस्तो कमजोरी गरेको चित्त बुझेको छैन । तर महानगरको संस्थागत विषय नभएकाले अनावश्यक धेरै चासो राख्दा इगो हर्ट होला भन्ने चिन्ताले केही बोल्दैनन् ।

मेयर शाहको सचिवालयमा काम गरिरहेकाहरू पनि उनको पछिल्लो स्टाटसप्रति सन्तुष्ट छैनन् । उनीहरूका अनुसार कामप्रति मेयर बोलनको हुटहुटी लोभलाग्दो छ, तर आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा लेख्दा सावधानी पुगेको छैन ।

शनिबार रातिको घटनामा पनि प्रहरीको व्यवहार राम्रो नभएको चालक स्वयंले बताएका छन् । त्यही कारण सिंहदरबारमै आगो लगाउँछु भन्नु चाहिं आवश्यक नभएको भन्दै उनको टिममा बसेर काम गरेका अर्का सदस्य भन्छन्, ‘सिंहदरबारमै आगो लगाउँछु भन्नु पछाडि कुनै राजनीतिक कारण छैन । चित्त बुझेन भन्दैमा जलाइदिन्छु भन्न मिल्छ र ?’

राजनीतिक अर्थशास्त्री डा. लेखनाथ पौडेल पनि मेयर बालेनले दिएको अभिव्यक्ति समाजको लोकतान्त्रिक भावनामै असर पुर्‍याउन सक्ने खालको भएको बताउँछन् । ‘बालेन बाहेक अर्को मेयरले यस्ता काम गरेको हुँदो हो त बालेनका समर्थकहरूले के के गरिसकेका हुन्थे होलान् । त्यसैले अहिले समग्र छलफल विधि पद्धतिलाई होइन, व्यक्तिलाई हेरेर भइरहेको छ’ उनी भन्छन्, ‘हामी मापदण्ड र मूल्यमान्यता होइन, निजी आग्रह हेरेर विमर्श गरिरहेका छौं ।’

सामाजिक अभियन्ता मिलन राई पनि आवेगमा आएर मेयर शाहले प्रतिक्रिया जनाउँदा उनी स्वयं प्रश्नको घेरामा परेको बताउँछन् । ‘रिस, आवेगमा आएर दिएको विचारले अहिले उनी स्वयं प्रश्नको घेरामा छन्’, राई भन्छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?