+
+

यसरी मलजल गर्दा गोदावरी फूल ढकमक्क फुल्छ

अनिल कर्माचार्य अनिल कर्माचार्य
२०८० भदौ १८ गते १४:२८

हरेकको घरघरमा फुल्ने फूल हो गोदावरी फूल । विशेषगरी असोज-कार्तिक महिनामा यो फूल फुल्छ । दशैं तिहारको लागि प्रयोग हुने पहिलो सयपत्री फूल हो भने दोस्रोमा गोदावरी फूल पर्छ । यसबेला अत्यधिक मात्रामा फूलको माग हुन्छ । यस्तो अवस्थामा गोदावरी फूललाई यसरी धेरै फूल फुल्ने बनाउन सकिन्छ ।

कस्तो माटोमा रोप्ने ?

यसको लागि यही माटो चाहिन्छ भन्ने हुँदैन । तर यसको लागि मलिलो वा बलौटे माटोमा पनि रोप्न सकिन्छ । तर आजभोलि भने यसको लागि माटोमा कोकोपिट, कम्पोस्ट मल र थोरै बालुवा मिसाएर पनि रोप्ने गरिन्छ । जसले बिरुवा सजिलै सप्रिन मद्दत गर्छ ।

यसलाई बीउ छरेर र डाँठ कटिङ गरेर रोप्न सकिन्छ । बीउ छरेरमा फूल अलि ढिलो फुल्छ भने कटिङ गरेकोमा चाँडै फूल फूल्ने हुन्छ ।

कति दरीमा रोप्ने ?

यो फूल गमला र बारीमा रोप्न सकिन्छ । बारीमा रोप्दा एकदेखि डेढ फिटको दूरीमा फूल रोप्नुपर्छ भने गमलामा रोप्ने हो भने कम्तीमा आठ इन्चदेखि १२ इन्चको साइजको गमलामा रोप्नुपर्छ । किनकि यो बिरुवा झाँगिएर धेरै ठाउँ ओगट्ने खालको हुन्छ । जति बढी झांगियो त्यति नै बढी फुल्छ । यसलाई घाम लाग्ने र हावा चल्ने ठाउँमा रोप्नुपर्छ । यसको बोट लगभग तीन फिटसम्म अग्लो हुन्छ ।

चिमोट्ने वा पिन्चिङ गर्ने

गोदावरी फूल धेरै फुलाउन बिरुवाको टुप्पो चिमोटी दिनुपर्छ । बिरुवा करिब सातदेखि आठ इन्च उचाइको भइसकेपछि यसबाट शाखा हाँगाहरु निकाल्न करिब पाँचदेखि ६ इन्च रहनेगरी माथिको टुप्पा चिमोट्ने वा पिन्चिङ गरिदिनुपर्छ । यसबाट अन्य हाँगा विकास हुन मद्दत पुग्छ ।

पहिलो पिन्चिङ बिरुवा रोपेको तीन हप्तापछि, दोस्रो पिन्चिङ बिरुवा रोपेको पाँच हप्तापछि गर्नुपर्छ । यसरी विकास भएको शाखा पुनः चिमोटेर उपशाखा हाँगाहरु पनि बढाउँदै लैजान सकिन्छ । यसरी शाखा, उपशाखा हाँगाहरु बढाउन सकेमा फूलहरुको संख्यामा वृद्धि गरी बढी कट फ्लावर उत्पादन गर्न सकिन्छ । गमलामा राखेका विरुवाको हकमा तीनवटा जति मात्र मुख्य शाखा हाँगाहरु राख्ने गरिन्छ ।

सिंचाई

सुख्खा समयमा बिरुवाहरु छिटो सुख्खा हुने हुँदा सिंचाई पनि छिटोछिटो गर्नुपर्छ । बिरुवाको फेदमा पानी जम्ने गरी राख्नुहुँदैन । पानी रहिरहेमा जरा कुहिएर बिरुवा मर्ने वा खुम्ले कीरा राखेर लाग्न सक्ने जोखिम हुन्छ । यसले जरा काटेर बिरुवालाई मर्न सक्छ । त्यसैले दिनको एकचोटि मात्रै बिरुवामा पानी हाल्नु राम्रो हुन्छ ।

गोदावरी फूलमा कस्तो रोग लाग्न सक्छ ?

यसमा ददुवा नामक रोगको समस्या धेरै हुन्छ । बिरुवा पात सुक्ने यो रोगमा पातहरु सुकेर जाने हुन्छ । यसलाई कम गर्न फङ्गिसाइड औषधि छर्किनुपर्छ । एक लिटर पानीमा फङ्गिसाइड एक ग्राम राखेर हप्तामा एकपटक मात्र नियमित रुपमा बोटमा छर्किनुपर्छ । यसले गर्दा बिरुवामा पात सुकेर जाने समस्या कम हुँदै जान्छ ।

हेरचाह

गोदावरी फूलमा गाईवस्तुको मल, कम्पोस्ट मल हाल्न सकिन्छ । १५ दिनमा एकपटक फूलको बिरुवामा मल हाल्नु निकै रमाइलो हुन्छ । घरमै कुहाएर बनाएको मल पनि हाल्न मिल्छ तर पूरै कुहेको मल मात्र हाल्न मिल्छ । त्यस्तै माटो खुकुलो भई राम्रोसँग बिरुवा फस्टाउन गोडमेल फूललाई कम्तीमा १५ दिनमा एकपटक राम्ररी झारपात झिक्ने र गोडमेल गर्नुपर्छ ।

कति पर्छ मूल्य ?

बिरुवाको प्रजाति र साइजअनुसार यसको मूल्य फरक-फरक हुन्छ । सामान्यतया यसको मूल्य ८० रुपैयाँदेखि ३५० रुपैयाँसम्म पर्छ । प्राय: गोदावरी फूल सेतो रातो, हरियो, पहेंलो र गुलाबी रंगको हुन्छ ।

(कर्माचार्य भक्तपुर सूर्यविनायकस्थित फ्लावर नेपालका सञ्चालक हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?