मोटोपन र मुटुरोगबीच कुनै सम्बन्ध छ ? धेरैले हामीसँग सोधिरहेका हुन्छन् । जति जति मान्छेको मोटोपन बढ्दै जान्छ, मुटुरोगको जोखिम पनि बढ्न सक्छ । मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप हुनुमा पनि एउटा कारण हो, मोटोपन ।
मोटोपन भएको व्यक्तिमा ‘ट्राइग्लिसराइड्स’ भन्ने एक प्रकारको बोसोको मात्रा धेरै हुन्छ र नराम्रो कोलेस्ट्रोलको मात्रा पनि बढी हुन्छ । यी सबै कुराले गर्दा मुटुको रक्तनली र दिमागमा जाने रक्तनलीहरुमा लामो समय बोसो जमेर मुटुको नसाहरू बन्द हुने मस्तिष्कमा जाने नसाहरू बन्द हुने सम्भावना बढ्छ । साथै शरीरको रक्तनलीहरु बन्द हुने सम्भावना बढ्छ । यही कारणले हृदयघात र मस्तिष्कघात जस्तो गम्भीर समस्या देखा पर्न थाल्छ ।
मोटोपनले मुटुमा समस्या भएको कसरी थाहा हुन्छ ?
मोटोपन तथा अन्य विभिन्न कारणले मुटु रोगमा सबैभन्दा बढी मात्रामा देखा पर्ने समस्या भनेको मुटुको धमनी ब्लक हुने हो । यो समस्यामा शरीरमा कोलेस्ट्रोल मात्रा बढेर रगतको नसामा जम्मा हुन्छ र नसा साँघुरो बनाइदिन्छ । यसले मुटुलाई पम्प गर्न गाह्रो हुन्छ ।
यस्तो समस्या भएमा छाती तथा काँधमा पीडा हुने गर्छ । र, यो दुखाइ क्रमशः हाततर्फ सर्दै जान्छ । अलिकति हिँड्दा पनि स्वाँस्वाँ हुने, सास फेर्न गाह्रो हुने हुन्छ । बस्दा दुखाइ कम हुने र हिंड्दा व्यायाम गर्दा दुखाइ बढ्ने हुन्छ ।
कुनै व्यक्तिलाई मुटु सम्बन्धी समस्या भएमा शारीरिक परिश्रम नगर्दा पनि पसिना निस्कने गर्छ । खुट्टा तथा पैताला सुन्निनु भनेकै मुटुमा रगतको सञ्चार सही तरीकाले नहुनु हो । मुटुमा रक्तसञ्चार सही तरीकाले नहुनु भनेको मुटु रोगको संकेत हो ।
मुटुको धड्कन गडबडी हुने समस्या भएको छ भने चक्कर आउने तथा टाउको घुम्ने, बेहोस हुने जस्ता लक्षणहरू देखा पर्छन् । मुटुको ढुकढुकी अस्वभाविक रुपमा बढ्नुले पनि मुटुरोगको संकेत गर्छ ।
मोटोपन नियन्त्रण गर्दा मुटुरोगको जोखिम कम हुन्छ ?
मोटोपन मुटु रोगको एउटा मुख्य कारण हो । त्यसैले मोटोपनलाई नियन्त्रण गर्न सकियो भने मुटु रोगको जोखिमबाट बच्न सकिन्छ । त्यसैले मोटोपन त नियन्त्रण गर्नुपर्छ । साथै मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल पनि मुटु रोग निम्त्याउने भएकाले त्यसलाई नियन्त्रणमा राख्नुपर्छ ।
मुटुरोगको जोखिमबाट बच्न मोटोपन नियन्त्रणसँगै जीवनशैली परिवर्तन र खानपान परिवर्तन गर्नुपर्छ । दैनिक व्यायाम गर्ने, तनाव कम गर्ने गर्नुपर्छ । मुटुरोग निम्त्याउन सक्ने सबै कारक तत्त्वलाई नियन्त्रण गरियो भने मुटुरोगको जोखिमबाट बच्न सकिन्छ ।
प्रतिक्रिया 4