+
+
एसियाली खेलकुद :

टेबल टेनिस टिमको लक्ष्य वरीयता सुधार्ने

नमिता दाहाल नमिता दाहाल
२०८० भदौ २० गते १०:०७

२० भदौ, काठमाडौं । एसियाली खेलकुदको तयारीमा रहेका नेपाली राष्ट्रिय टेबल टेनिस खेलाडीहरु यतिबेला एसियन च्याम्पियनसिप खेल्न दक्षिण कोरियामा छन् ।

एक महिनासम्म भारतमा बसेर तयारी गरेका टेबल टेनिस खेलाडीहरु भारतबाट फर्के लगत्तै दक्षिण कोरिया गएका हुन्, । त्यहाँ उनीहरुले आउँदो आइतबारसम्म हुने प्रतियोगिता खेल्ने छन् ।

एसियाली खेलकुदमा नेपालका तर्फबाट खेल्ने नबिता श्रेष्ठ बाहेकका संयोग कपाली, सिक्का सुवाल श्रेष्ठ, रुबिन महर्जन, इभाना थापामगर र बिलोश श्रेष्ठ एसियन च्याम्पियनसिपमा छन् ।

एसियाली खेलकुद खेल्ने नबिता सबैभन्दा सिनियर र अनुभवी खेलाडी हुन् । यसअघि नै तीन वटा एसियाली खेलकुद खेलिसकेकी उनी आउँदो प्रतियोगिताबाट आफ्नो र टिमको वरीयता सुधार्नेमा आत्मविश्वासी छिन् ।  ‘म आफ्नो त बेष्ट दिन्छु भन्नेछ,’ अनलाइनखबरसँग उनले भनिन्, ‘टिमको र आफ्नो विश्व वरीयता सुधार्ने कोसिस गर्नेछु ।’

विश्व टेबल टेनिसले निकाल्ने वरीयतामा नबिता ५६० औं स्थानमा छिन् । उनीभन्दा माथि ४५२ औं स्थानमा रहेकी एलिना महर्जन एसियाली खेलकुदमा भने छनोट नै हुन सकिनन् ।

नबिता श्रेष्ठ

एसियाली खेलकुद खेल्ने सिक्का सुवाल श्रेष्ठ नबितापछिकी अनुभवी खेलाडी हुन् । उनी पनि विश्व वरीयता सुधार्ने लक्ष्यमा छिन् । ‘हाम्रो लक्ष्य टिम इभेन्टमा वरीयता बढाउने हो, एसियन गेम्समा हाम्रो टाइसिट एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा तय हुने विश्व वरीयताबाट निर्धारण हुन्छ,’ उनले भनिन्, ‘त्यसैले व्यक्तिगत वरीयता पनि बढाउने लक्ष्य छ ।’

व्यक्तिगतरुपमा दोस्रो एसियन च्याम्पियनसिप खेल्न गएका संयोगले पहिलो पल्ट एसियाली खेलकुद खेल्नेछन् । विश्व वरीयतामा ६५९औं स्थानमा रहेका नेपालकै नम्बर वान् खेलाडी संयोगले २६ औं एसियन च्याम्पियनसिपलाई सिक्ने र सुध्रिने मौकाका रुपमा लिएका छन् । ‘हामीलाई एसियन च्याम्पियनसिपमा एसियन गेम्समा आउने सबै प्रतिस्पर्धी भेट्ने र चिन्ने मौका हुनेछ,’ कोरिया जानुअघि उनले भनेका थिए, ‘जसले गर्दा हामीलाई प्रतिस्पर्धी चिन्ने र आफूलाई सुधार्ने मौका हुनेछ ।’

संयोग कपाली

एसियाली खेलकुदका लागि टिमलाई प्रशिक्षण दिइरहेका सञ्जीव ढुंगेल राम्रो तयारीका कारण यसपालि पहिलाभन्दा सुधारिएको प्रदर्शन हुने र वरीयता सुधार्न सकिने विश्वासमा छन् । ‘हामी एक महिना लामो भारत प्रशिक्षणमा पनि रह्यौं, एसियन गेम्स अगाडी २६ औं एसियन च्यािम्पयनसिप खेल्दै छौं,’ उनले भने, ‘यसले गर्दा हामी पहिलेको तुलनामा राम्रो प्रदर्शनको साथमा विश्व वरीयता सुधार्ने लक्ष्यमा छौं ।’

टेबल टेनिसमा चीनको आधिपत्य छ । महिला तथा पुरुष वरीयतामा चीनकै खेलाडीहरु शीर्ष स्थानमा छन् । पुरुषतर्फको वरीयताको शीर्ष ८ भित्रै चीनका ५ जना खेलाडी छन् । जापान, दक्षिण कोरिया, चाइनिज ताइपेइ पनि विश्व टेबल टेनिसमा प्रभावशाली छन् । त्यसैले एसियाली खेलकुदमा नेपालले टेनिसबाटै पदक जित्न असम्भव ठानिएको छ । त्यसैले पनि नेपालले वरीयता सुधार्ने लक्ष्य लिएको छ ।

तीन पटक एसियन गेम्स खेलिसकेकी नबिता एसियाली खेलकुदको अनुभवले दक्षिण एसियाली खेलकुद सागमा भने पदक जित्ने सकिने विश्वासमा छिन् । ‘एसियाली खेलकुदमा मेडलको लागि गाह्रो छ,’ उनले भनिन्, ‘दक्षिण एसियामा भने स्वर्ण नै जित्ने लक्ष्य हुनेछ ।’

सिक्का सुवाल श्रेष्ठको पनि उस्तै लक्ष्य छ । उनले भनिन्, ‘यो प्रतियोगिताले आगामी पाकिस्तानमा हुने दक्षिण एसियाली खेलकुदका लागि सहज हुनेछ ।’

परीक्षणको मौका

कोरोना कालपछि नेपाली टेबल टेनिसमा नयाँ पुस्ता आएको छ । केही पुराना खेलाडीलाई विस्थापन गर्दै नयाँ र युवा खेलाडी टिममा आएका छन् । ३० वर्षकी नबिता बाहेकका अरु ५ जना पहिलो पल्ट एसियाली खेलकुदमा छानिएका छन् ।

४–५ महिनादेखि सँगै रहेर प्रशिक्षण गरिरहेका उनीहरुले एक अर्कालाई चिनिरहेका छन् । ‘पुराना खेलाडीमा अनुभव छ । नयाँ खेलाडीमा उर्जा र जोश,’ प्रशिक्षक ढुंगेल भन्छन्, ‘पुराना खेलाडीको अनुभव नयाँले सुन्दै र सिक्दै छन् । यो एसियन गेम्स नयाँ पुस्ता परीक्षण गर्ने राम्रो मौका हो ।’

टेबल टेनिस खेलाडीहरू प्रशिक्षकसँग

उनका अनुसार एसियन च्याम्पियनसिप तथा एसियन गेम्समा नयाँ खेलाडीले गर्ने प्रदर्शनकै आधारमा उनीहरुबाट कस्तो आश गर्ने भन्ने निर्धारण हुने छ । ‘नयाँ आएका खेलाडीले अब आउने साफ गेम्स तथा अन्य खेलमा कस्तो गर्लान् भन्ने निर्धारण यही आगामी प्रतियोगिताहरुले निर्धारण गर्नेछन्’, उनले भने ।

नयाँ खेलाडीमा रहेको जोश र जाँगरले टिममा हौसला बढेको सिक्का सुवाल श्रेष्ठले बताइन् । उनी भन्छिन्, ‘अहिले आएका नयाँ खेलाडीहरुमा नयाँ उत्साह छ, उनीहरुमा धेरै आशा छ ।’

अनुभवी खेलाडी नबिता पनि नयाँ खेलाडीबाट खेलप्रतिको लगाव र मिहिनेतले खुसी छिन् । ‘उनीहरुले सक्नेभन्दा बढी मिहिनेत गरिरहेका छन् । आशा छ, उनीहरुको मिहिनेतले रंग ल्याउँछ । हामी राम्रो नतिजा दिन सक्छौं ।’

भारतमा गरेको प्रदर्शनले टिममा सुधार भएको र एसियाली खेलकुदमा राम्रो नतिजा आउने प्रशिक्षक ढुंगेल बताउँछन् ।

खेलाडी बिलोश श्रेष्ठका अनुसार त्यो प्रशिक्षणले प्राविधिक पक्षमा सुधार आएको छ । ‘भारतको तयारीले हामीलाई प्राविधिक पक्षमा सुधारिने मौका भएको छ’, उनले भने, ‘त्यो सुधार परीक्षण गर्ने र प्रतिस्पर्धी चिन्ने मौकाका रुपमा एसियन च्याम्पियनसिप पाएका छौं ।’

तस्वीर तथा भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?