+
+

गुगलको रजत महोत्सव, २५ वर्षमा यसरी बन्यो संसारकै ठूलो कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १२:०७

काठमाडौं । इन्टरनेट दुनियाको बादशाह गुगल अहिले आम मानिसका लागि अभिन्न अंगजस्तै बनेको छ । जो कोही इन्टरनेट प्रयोगकर्ताले कुनैपनि चिजको जानकारीका लागि गुगलको प्रयोग गर्दछन् । सर्च इन्जिन, इमेल, अपरेटिङ सिस्टम, क्लाउड स्टोरेज देखि स्मार्टफोन र जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स सम्मका हरेक क्षेत्रमा गुगलले आफ्नो जबरजस्त प्रभुत्व कायम गरिरहेको छ ।

सन् १९९८ को सेप्टेम्बर ४ मा अमेरिकी कम्प्युटर वैज्ञानिकहरु ल्यारी पेज र सर्गेई ब्रिनले स्थापना गरेको सर्च इन्जिन गुगलले सोमबार आफ्नो २५ औँ जन्मोत्सव मनायो । प्रविधिको दुनियामा रजत महोत्सव मनाउन सफल गुगल पछिल्लो २५ वर्षको यात्रामा स्वयंममा पनि धेरै परिवर्तन हुँदै आएको छ।

ल्यारी पेज र सर्गेइ ब्रिनले सुसन वोज्स्कीको ग्यारेजमा गुगलको स्थापना गरेका थिए । उनीहरु दुबैजना क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयमा विद्यावारिधीका विद्यार्थी थिए । त्यहाँ उनीहरुले वल्र्डवाइड वेबले कसरी काम गर्दछ भन्ने कुराको अनुसन्धान गर्नुका साथै इन्टरनेटमा खोजविन गरी कुन पेज अर्कोसँग जोडिएको हुन्छ भन्ने कुरा पत्ता लगाउने प्रणालीका बारेमा पनि अनुसन्धान गरे ।

त्यसक्रममा उनीहरुले यस्तो सिद्धान्तको विकास गरे जसको परिणामस्वरुप एक नितान्त नयाँ प्रकारको सर्च इन्जिनको विकास गर्न सकिन्थ्यो । त्यसपछि उनीहरुले एउटा नयाँ सर्च अल्गोरिदम बनाए जसलाई  लिंकिङको आधारमा सर्च रिजल्टलाई सूचिबद्ध गर्नमा प्रयोग गर्न सकिन्थ्यो ।

कसरी रह्यो गुुगलको नाम ?

केही वर्षपछि पेज र ब्रिनले कम्पनीको नाम परिवर्तन गरी गुगल राखे । त्यसपछि उनीहरुले १ लाख डलर लगानी जुटाउन सफल भए र सुसन वोज्स्कीको ग्यारेजबाट बाहिर निस्किएर अफिस स्थापना गरे । सन् २००३ मा गुगल बाहिर निस्कियो र आफ्ना १ हजार जना कर्मचारीको साथमा माउन्टेन भ्यू, क्यालिफोर्नियामा सिलिकन ग्राफिक्सको स्वामित्वमा रहेको एम्पिथिएटर टेक्नोलोजी सेन्टरमा स्थानान्तरण भयो । त्यसपछि सो स्थानलाई गुगलप्लेक्स भन्न थालियो । त्यो ठाउँ गुगलको सबैभन्दा ठूलो कार्यक्षेत्र अर्थात् अफिस हो ।

त्यस्तै सन् २००४ को अप्रिल १ मा गुगलले आफ्नो इमेल सर्भिसको रुपमा जिमेल सुरुवात गर्यो । यसको स्टोरेज सुरुमा १ जिबी थियो ।

जिमेल सुरुवात गरेपछि गुगलले गुगल म्याप्सको पनि सुरुवात गर्यो । जसको प्रयोगबाट दिशा निर्देश, जूम गर्न सकिने नक्सा तथा होटल लगायतका ठाउँहरु पनि खोज्न सकिन्छ । यद्यपि सन् २००९ मा गुगल म्याप खासै प्रयोगमा थिएन । त्यसपछि गुगलले स्मार्टफोनमा पनि गुगल म्यापका लागि जिपिएस नेभिगेसन सुरु गर्यो । यसले गुगल म्यापको लोकप्रियता ह्वात्तै बढायो ।

गुगलको प्रभुत्व बढ्दै जाने क्रममा उसले माइक्रोसफ्ट र याहु जस्ता दिग्गज कम्पनीहरुलाई समेत पछि पार्दै १ अर्ब ६५ करोड डलरमा युट्युबलाई खरीद गर्न सफल भयो । केवल एकवर्ष अघि मात्र स्थापना भएको युट्युबमाथि वास्तवमा गुगलले जुवा नै खेलेको थियो । तर अन्ततः गुगलको मुनाफा तथा सफलतामा युट्युब महत्वपूर्ण हिस्सा बन्दै आएको छ ।

गुगलले त्यसअघि सन् २००८ मा विन्डोजका लागि क्रोम ब्राउजर पेश गर्यो । गुगल सर्चमा एक महत्वपूर्ण स्थान बनाउन तथा प्रयोगकर्ताका लागि सर्चलाई अधिक प्रासंगिक बनाउनका लागि गुगलले ल्याएको क्रोम ब्राउजर सर्वाधिक लोकप्रिय वेब ब्राउजरको रुपमा रहेको छ र यसको बजार हिस्सा ६७ प्रतिशत रहेको छ ।

सन् २००७ मा स्मार्टफोन अपरेटिंग सिस्टमको रुपमा एन्ड्रोइड सार्वजनिक गरेको गुगलले सन् २००८ मा विश्वकै पहिलो एन्ड्रोइड फोनको रुपमा एचटीसी ड्रिम बजारमा ल्याएको थियो । हाल विश्व स्मार्टफोन बजारमा एन्ड्रोइड स्मार्टफोनको हिस्सा ७० प्रतिशत भन्दा धेरै छ भने विश्वमा एन्ड्रोइड अपरेटिंग सिस्टमका सक्रिय प्रयोगकर्ताको संख्या ३ अर्ब नाघिसकेको छ । त्यस्तै गुगल प्ले स्टोरमा ३० लाख भन्दा धेरै एपहरु उपलब्ध रहेका छन् ।

त्यस्तै गुगलले विभिन्न नयाँ नयाँ परियोजनामा समेत काम गर्ने क्रममा सन् २०१४ मा आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी डीप माइन्ड एआईलाई खरीद गरेको थियो । हाल गुगल मातहतको एआई ल्याबको रुपमा रहेको डीपमाइन्डले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको क्षेत्रमा विभिन्न अनुसन्धान तथा प्रयोगहरु गर्दै आएको छ ।

गुगलको पुनर्गठन

सन् २०१५ को अक्टोबर २ मा गुगल कम्पनीको पुनर्गठन भयो र अल्फाबेट कम्पनीलाई गुगलको मातृ कम्पनीको रुपमा खडा गरियो । त्यो सँगै कम्पनीले भेरिली, वेमो तथा विंग जस्ता नयाँ ब्राण्ड समेत पेश गर्यो । हाल अल्फाबेट कम्पनी आम्दानीको हिसाबले विश्वको तेश्रो ठूलो कम्पनी हो भने विश्वको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक हो ।

यो अमेरिकाको बिग फाइभ प्रविधि कम्पनीमा पर्दछ, जसमा अमेजन, एप्पल, मेटा, माइक्रोसफ्ट र गुगल पर्दछन् । अल्फाबेट अन्तरगत गुगल सँगै एक्स डेभलपमेन्ट, क्यालिको, नेस्ट, भेरिली, फाइबर, मकानी, क्यापिटल जी लगायतका कम्पनीहरु पनि रहेको छन् ।

गुगलले सन् २०१६ मा हार्डवेयर तथा भ्वाइस असिस्टेन्टको क्षेत्रमा समेत प्रवेश गर्दै आफ्नै फोन गुगल पिक्सेल, गुगल होम, तथा पर्सनल भ्वाइस असिस्टेन्ट लगायतका विभिन्न प्रडक्टबाट प्रयोगकर्तालाई आकर्षित गर्ने प्रयास गर्दै आयो ।

गुगल बार्ड र एआईको संसारको प्रवेश

आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटको रुपमा च्याट जिपिटीको लोकप्रियतालाई देखेको गुगल यो क्षेत्रमा पछि पर्न चाहन्नथ्यो । त्यसैले गत मार्च महिनामा गुगलले आर्टिफिसियल इन्टेलिजेन्सयुक्त च्याटबटको रुपमा बार्ड सार्वजनिक गर्यो र त्यसयता विस्तारै विश्वभर बार्डलाई पूराउने कोसिस गरिरहेको छ ।

प्रयोगकर्ताहरुलाई उनीहरुका प्रश्नको जवाफ खोज्न सहयोग गर्ने र उनीहरुका दैनिक कार्यहरुमा सहयोग गर्नका लागि गुगलले बार्ड ल्याएको हो ।

यतिमात्र होइन गुगलले आर्टिफिसियल इन्टेलिजेन्समा पनि भारी लगानी गरेको छ । गुगलले आर्टिफिसियल इन्टेलिजेन्सका विभिन्न परियोजनामा पनि काम गरिरहेको जनाएको छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?