
काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ पछिल्लो समय चर्चामा छ । फिल्मले सनातन धर्ममा आँच आउने भन्दै विरोध जनाएका दुई धार्मिक संस्थासँग निर्माताले चलचित्र विकास बोर्डमा वार्ता गरेका थिए । उक्त वार्तामा भएको सहमतिअनुसार निर्माताले ती दुई संस्थालाई कथासार (स्क्रिप्ट) पठाइसकेका छन् ।
निर्माताले इमेलमार्फत कथासार पठाइसके पनि ती दुई संस्था हिन्दू जागरण नेपाल र आध्यात्मिक विकास समाजले यसबारे प्रतिक्रिया दिइसकेका छैनन् । तर वार्तापछि नामलाई लिएर भएको उक्त विवाद केही मत्थर भएको अनुमान गरिएको छ ।
यसैबीच, ‘एक भगवत् गीता’लाई लिएर नयाँ खबर छ । गुरुङ फिल्मको छाता संस्था (जिफान)ले निर्मातालाई पत्र पठाउँदै गुरुङ समुदायको कुन विषय समावेश गरिएको हो भनेर सोधेको छ । अध्यक्ष गुञ्जबहादुर गुरुङले पठाएको पत्रमा संस्थाको विधानमा उल्लेख भएअनुसार आफूहरुले कथावस्तुबारे स्पष्ट हुन चाहेको उल्लेख गरेका छन् ।
जिफानको विधानमा नेपालभित्र वा बाहिर निर्माण हुने कुनै पनि भाषाका फिल्ममा गुरुङ समुदायको कथा उठान गरिएको छ भने छायांकन अगावै उक्त कथाको अंश गुरुङ फिल्म एसोसिएसनबाट प्रमाणीकरण हुनुपर्नेछ भनेर उल्लेख भएको उल्लेख छ । सोहीअनुसार पत्र काटिएको जनाइएको छ ।
‘एक भगवत् गीता’मा धीरज मगरले गुरुङ समुदायका एक युवकको भूमिका निर्वाह गरेका छन् । फिल्ममा धीरजको अपोजिटमा सुहाना थापा देखिएकी छन् । यो फिल्मलाई कास्कीको खुमाइडाँडामा समेत छायांकन गरिएको छ । झरना थापा निर्देशित फिल्म भदौ २९ गतेबाट प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया 4