+
+

भारतमा ‘जवान’ले ७० करोडको ओपनिङ गर्ने प्रक्षेपण, नेपालमा कति कमाउला ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १४:१७

काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ले भारत र नेपालसहितका अन्तर्राष्ट्रिय बजारमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । भारतमा मात्र रिलिज अगावै तीन लाख ९१ हजारभन्दा बढी टिकट बिक्री भएको र पहिलो दिन त्यहाँ ७० करोड भारु हाराहारीको ओपनिङ हुने जनाइएको छ ।

बलिउड ट्रेड एनालिस्ट अतुल मोहनले भारतका सबै भाषामा फिल्मको कमाइ ७० करोड भारु हुने बताएका छन् । हिन्दी संस्करणमा मात्र फिल्मले ‘पठान’को ओपनिङलाई उछिन्ने उनको अनुमान छ । व्यापार विश्लेषकका यी प्रक्षेपण एड्भान्स टिकट बिक्रीको आधारमा गरिएका हुन् ।

शाहरुखको अघिल्लो फिल्म ‘पठान’ले भारतीय बक्स अफिसमा ५७ करोड भारुको ओपनिङ गरेको थियो । भारतमा बिहान ५ बजेदेखि नै शोहरु तय गरिएका छन् । अग्रिम टिकट बिक्रीमै फिल्मले २७ करोडको व्यापार गरिसकेको कोइमोइले उल्लेख गरेको छ । बुधबार बेलुकासम्म भारतमा अग्रिम टिकट बिक्री संख्या १० लाख पुग्ने अनुमान छ ।

भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुन लागेको विश्व नेताहरुको सम्मेलन जी–२० भेलाले पनि ‘जवान’को शो प्रभावित नहुने जनाइएको छ । भारतबाहेक अमेरिका, अष्ट्रेलिया, युरोप र मध्यपूर्व लगायतका अन्तर्राष्ट्रिय बजारमा समेत जवानले आक्रामक ओपनिङ गर्ने अनुमान छ ।

नेपालमा पहिलो दिन कति कमाउला ?

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकमा हेर्दा नेपालमा ‘जवान’को एड्भान्स बुकिङ शाहरुखकै अघिल्लो फिल्म ‘पठान’को लेभलमा देखिएको छैन । तर पनि फिल्मले पहिलो सप्ताहन्त नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गर्नेमा दुईमत छैन ।

बिहीबार बिहानका लगभग शो सोल्डआउट छन् । तर बिहान सबै हलले टिकट शुल्कमा छुट दिने गर्छन् । जसअनुसार नेपालमा फिल्मको ओपनिङ सवा करोड हाराहारीमा हुने प्रक्षेपण गर्न सकिन्छ ।

बिहीबारभन्दा शुक्रबार र शनिबार फिल्मको कमाइ अझै वृद्धि हुन सक्छ । पहिलो सप्ताहन्तमध्ये शनिबारको कमाइ बिहीबार र शुक्रबारभन्दा उच्च हुन सक्छ । यो ट्रेन्ड हेर्दा जवानको तीनदिने कमाइ चार करोड रुपैयाँ हाराहारीमा पुग्ने अनुमान छ । तर यो सबै कुरा फिल्मको रिभ्युमा निर्भर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?