+
+
गफ स्टेसनमा हास्य कलाकार प्रभात लामा :

‘कमेडीमा रोस्टको नाममा होच्याउने प्रवृत्ति पनि बढिरहेको छ’

‘नेपाली कमेडी राम्रो भइरहेको छ । धेरै आउँदा अलिकति विकृति पनि बढिरहेको छ । कमेडीको नाममा इन्सल्टिङ चाहिं बढिरहेको जस्तो लाग्छ,’ प्रभात भन्छन्, ‘कन्टेन्टको चेतनास्तर बढेको छ तर त्यतिले मात्र पुगेको छैन । घुमाएर मीठो तरिकाले हानेको कमेडीमा भन्दा सीधै रोस्ट हान्ने खालको कमेडीमा दर्शकको रुचि देखिन्छ ।’

खेम रिसाल खेम रिसाल
२०८० भदौ २२ गते २०:३५

काठमाडौं । प्रभात लामा अहिलेका उदीयमान हास्य-व्यंग्य कलाकार हुन् । खासगरी क्यारिकेचरमा विशेष दखल राख्ने उनी सञ्चारकर्ममा समेत आबद्ध छन् । तर अहिले सञ्चारतर्फको यात्रामा केही ‘ब्रेक’ लगाएर उनी पूर्णकालीन कमेडियन बन्ने बाटोमा अग्रसर छन् ।

भर्खरै प्रज्ञा भवनमा मनोज गजुरेलको टिमले ‘८० सालको गाईजात्रा’ कार्यक्रम गर्‍यो । यसमा प्रभातले निर्वाह गरेको राष्ट्रिय आविष्कार केन्द्रका प्रवर्तक महावीर पुनमा आधारित ‘आहावीर पुन’को भूमिकालाई निकै रुचाइयो । प्रभातले यसमा उम्दा प्रस्तुति दिएका थिए ।

गाईजात्रा कार्यक्रम समापनपछि अनलाइनखबरको गफ स्टेसनमा गफिन आएका प्रभातले हास्य-व्यंग्य क्षेत्रका विभिन्न विषय र आयामका कुरा गर्दै पेट मिचिमिची हँसाए पनि । यो बसाइमा उनले महावीर पुनदेखि केशव स्थापित, पुण्य गौतमसम्मको नक्कल गर्दै केही व्यंग्य समेत सुनाए ।

गफ स्टेसनमा प्रभातसँग उनको कमेडी यात्रा, वर्तमान नेपाली हास्य-व्यंग्य क्षेत्र र यसका चुनौतीबारे कुराकानी गरियो । सुरुमा उनलाई सोधियो- गाईजात्रामा महावीर पुनकै क्यारेक्टर किन तपाईंलाई ?

उनले सटिक जवाफ दिए, ‘पहिले मैले महावीर दाइ (महावीर पुन)को मिमिक्री गरेर मनोज दाइ (मनोज गजुरेल)लाई सुनाएँ । उहाँले आवाज मिल्दोजुल्दो भयो, अब क्यारेक्टरमा काम गरौं भन्नुभयो अनि उहाँको जस्तै नाक, लवज र हाउभाउ मिलाउनतिर ध्यान दिएँ । पहिले डिजिटल गाईजात्रामा देखाउँदा रुचाएपछि मञ्चमा पनि देखाउने सोच बनायौं ।’

धेरैले महावीरमाथि चाहिं व्यंग्य नगरिदिएको भए हुन्थ्यो भन्ने सदाशयता राख्ने भएकाले उनलाई सकारात्मक ढंगले प्रस्तुत गरिएको प्रभात सुनाउँछन् । ‘महावीर पुनजस्तो वैज्ञानिकलाई अन्तर्राष्ट्रिय क्षेत्रले चिनेको तर नेपालमा भने महत्व नदिइएको जस्तो लाग्छ । हामीले उहाँको ब्राण्ड भ्यालुलाई बुझाउने प्रयास गरेका हौं,’ प्रभात भन्छन् ।

सुरुमा त महावीर पुनको अलि ढिलो बोल्ने शैलीले दर्शकलाई सुरुमै तान्ला कि नतान्ला भन्नेमा प्रभात चिन्तित थिए । किनकि कमेडीमा सुरुमै दर्शकलाई आकर्षित गर्न सकिएन भने त्यो खल्लो हुने उनी बताउँछन् । ‘कतिपय अवस्थामा त फर्स्ट इन्ट्रीमै दर्शक हाँसेनन् वा ध्यान दिएनन् भने पन्च डाउन हुन्छ । नर्भस भएर डायलग बिर्सिने र प्रस्तुति नै फितलो हुने जोखिम रहन्छ,’ उनी भन्छन्, ‘आहावीरको क्यारेक्टरले दर्शकलाई राम्रैसँग तान्यो । यसमा खुसी छु ।’ कहिलेकाहीं भने परिस्थिति अनुसार डायलग थपघट समेत गरिने उनी सुनाउँछन् ।

कमेडीमा रुचि तर पुगे सञ्चार क्षेत्रमा

प्रभात सानैदेखि कमेडी भनेपछि हुरुक्कै हुन्थे । हास्य कलाकार मनोज गजुरेलले गाईजात्रा कार्यक्रममा विभिन्न चर्चित व्यक्तिको चरित्रलाई दुरुस्तै उतारेको देख्दा उनी स्कुल पढ्दा आफूले पनि त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने सोच्थे । अर्का हास्य कलाकार कमल गाउँलेको गाईजात्रा क्यासेटले पनि उनलाई लोभ्याउँथ्यो । यस अर्थमा उनी यी दुई कलाकारबाट हास्य-व्यंग्यमा लाग्न प्रेरित भएका थिए । स्कुल कार्यक्रममा उनी कमेडी गरेर हँसाउथे, नाच्दा पनि कमेडी गीत नै रोज्थे ।

रस कमेडीमा तर १२ कक्षा पास गरेपछि उनी बने आरजे अर्थात् रेडियो प्रस्तोता । ‘१२ पास गरेपछि रेडियो तालिम लिएँ । भ्वाइस राम्रो छ भन्नुभयो र समाचार भन्न थालें । रोजीरोटीका लागि त्यतै व्यस्त बनें । पछि कार्यक्रम सञ्चालन गरें, विज्ञापन गरें । रेडियो अडियोमा काम गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह र पत्रकार ऋषि धमलाको मिमीक्रीलाई अडियन्सले निकै रुचाउनुभयो,’ प्रभात सुनाउँछन् ।

सञ्चारकर्मले उनलाई कमेडीका लागि विषयवस्तु छान्ने ज्ञान बनाइदियो । सूचना दियो र केमाथि कमेडी गर्ने भन्ने खुराक पनि यसबाट पाए ।

पछि अर्का हास्य कलाकार राजा राजेन्द्र पोखरेलले उनलाई कमेडी शो गरौं भनेर प्रस्ताव राखे र उनीहरुले ल्याए ‘नेपाली कमेडी शो’ । यसबाट प्रभात कमेडी क्षेत्रमा थोरबहुत चिनिन थाले । उनले कमेडी च्याम्पियन सिजन २ मा भाग लिए । तर उनको भनाइमा त्यो सोचेजस्तो रहेन, टप १५ बाट आउट भए । यद्यपि उक्त शोले प्रभातलाई केही न केही मात्रामा कमेडी क्षेत्रमा चिनाउने काम गर्‍यो ।

यसपछि हो उनी सञ्चारकर्मलाई थाँती राखेर मुख्य पेशा कमेडीलाई बनाउँदै यात्रामा निस्किएको । केदार घिमिरे ‘माग्ने बुढा’को निर्देशन रहेको ‘कमेडी हब’मा उनी आबद्ध भए, जुन कार्यक्रमको परिकल्पनाकार र प्रस्तोता राजेन्द्र पोखरेल नै थिए । त्यसमा उनले निर्वाह गरेका विभिन्न पात्रमध्ये केशव स्थापितको नक्कलबाट उनी चर्चित बने । ‘केशव स्थापितको भूमिकाबाट सकारात्मक प्रतिक्रिया पाएँ । कतिले त केशव स्थापितले पनि तपाईंले गरेजस्तो मिमिक्री गर्नुहुन्न होला भनेर भन्नुहुन्थ्यो,’ प्रभात सुनाउँछन् ।

कमेडीमा रोस्टको नाममा इन्सल्टिङ पनि बढ्यो

समयक्रमसँगै नेपाली हास्य-व्यंग्यको स्तर बढिरहेको प्रभातको ठम्याइ छ । यद्यपि ‘रोस्ट’ गर्ने बहानामा ‘इन्सल्टिङ’ पनि बढिरहेको उनलाई लाग्छ ।

‘नेपाली कमेडी राम्रो भइरहेको छ । धेरै आउँदा अलिकति विकृति पनि बढिरहेको छ । कमेडीको नाममा इन्सल्टिङ चाहिं बढिरहेको जस्तो लाग्छ,’ प्रभात भन्छन्, ‘कन्टेन्टको चेतनास्तर बढेको छ तर त्यतिले मात्र पुगेको छैन । घुमाएर मीठो तरिकाले हानेको कमेडीमा भन्दा सिधै रोस्ट हान्ने खालको कमेडीमा दर्शकको रुचि देखिन्छ ।’

हाल मुन्द्रेको कमेडीमा आबद्ध प्रभात देशमा लोकतान्त्रिक गणतन्त्र हुँदा पनि कमेडी गर्दा खुम्चिनुपर्ने अवस्था रहेको बताउँछन् । ‘कतिपय कुरामा धेरै सचेत हुँदा खुम्चिनुपरेको छ । बाहिरतिर त्यस्तो हुँदैन । हामीकहाँ राष्ट्रपतिलाई व्यंग्य गर्न पाइँदैन गणतन्त्रमा, अलि मिलेन कि यो ?’ उनी भन्छन्, ‘संस्थाप्रति सम्मान त गरिन्छ नि । व्यंग्य त संस्थालाई होइन व्यक्तिको प्रवृत्तिलाई पो गरिने हो त ।’ यसको समाधानका लागि समयलाई कुर्नुको विकल्प नरहेको उनी बताउँछन् ।

प्रभातलाई अब हास्य-व्यंग्य क्षेत्रमै आफ्नो पहिचान फराकिलो बनाउनु छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलजस्ता कलाकार स्टेजमा उक्लिनासाथ दर्शक हाँसेको देख्दा उनलाई पनि यस्तै बन्ने धोको छ । भन्छन्, ‘हास्य कलाकारले पाएको सबैभन्दा ठूलो सम्मान यही हो । हामीले त अहिले कन्टेन्टले नै दर्शकलाई तान्नु परेको छ । कुनै दिन मलाई देख्दा नै दर्शक हाँसुन् भन्ने सपना पालेको छु ।’

गफ स्टेसनको बिट मार्ने बेला प्रभातले देशको अवस्थालाई लिएर काव्यात्मक शैलीमा मार्मिक कुरा प्रस्तुत गरे-

देशमा युवा नहोस्, उत्पादन नहोस्, रोजगार नहोस्

बाँच्ने कुनै आधार नहोस्

दुईचार जना अझै प्रेमहरु जलेर मरे पनि मरोस्

तर आर्यघाटमा दाउराको कुनै कमी नहोस्

मेरो सरकार रेमिट्यान्स गन्दैछ

प्लिज, रेमिट्यान्सको पैसा गन्न थुकको कुनै कमी नहोस् ।।

­­(हास्य कलाकार प्रभात लामासँगको विस्तृत कुराकानी भिडियोमा हेर्न सकिन्छ ।)

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?