
२३ भदौ, झापा । मेचीनगर वडा नं ६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल विगत अढाइ महिनादेखि सम्पर्कविहीन भएका छन् । परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन् ।
भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै आएका दुर्गाप्रसादसँग गत असार २ गते अन्तिम पटक फोनमा सम्पर्क भएको उनकी पत्नी शोभा दाहालले बताइन् । उनले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा खोजीका लागि निवेदन दिएको बताइन् ।
प्रहरीले सचित्र हुलिया विभिन्न प्रहरी इकाइमा पठाएर र फोनमा भएको कल विवरण विश्लेषण गरेर खोजीकार्य गरिरहेको इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
दाहालका चार वर्षीय एक छोरा र १८ वर्षीया छोरी छन् । पत्नी शोभाले नातागोता, साथी र प्रहरीको सहयोगमा खोजीकार्य जारी रहेता पनि पत्ता लाग्न नसकेकामा चिन्ता व्यक्त गरिन् । ‘प्रहरी, नातागोता र साथीभाइ सबै गुहारिसक्यौँ, भेटिनुभएको छैन’, उनले भनिन्, ‘कहिल्यै घरझगडा पनि भएको थिएन, आर्थिक व्यवहारको पनि तनाव थिएन । उहाँको खोजीमा सघाइदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।’
जङ्गलको चौतारीमा महिला अलपत्र
पूर्वपश्चिम राजमार्गअन्तर्गत चारआली जङ्गल खण्डमा एक महिला दुई महिनादेखि अलपत्र रहेकी छन् । जङ्गलमा रहेको पक्की चौतारामा उनको रातोदिन बास छ ।
‘मङ्गोलियन अनुहारकी अन्दाजी ३५ वर्षकी महिला नेपाली बोल्न सक्नुहुन्न, भारतबाट आउने कुनै गाडीबाट चारआली बजारमा उत्रिएपछि जङ्गलको चौतारोमा लुगाकपडाको पोकोसहित बस्दै आउनुभएको देखिन्छ’, सडक मानवको उद्धारमा सक्रिय अभियन्ता नरेश मोहराले भने, ‘धरान र धनकुटामा नातेदार भएको भने पनि नातेदारको अहिलेको ठेगाना र नाम बताउन सक्नुहुन्न ।’
अभियन्ता मोहराले उद्धार गरेर इटहरीको मायाघर लैजान प्रस्ताव गर्दा ती महिलाले नमानेको बताए । उनी बस्दै आएको चौतारो जङ्गली हात्ती हिँड्ने जोखिमपूर्ण क्षेत्रमा रहेको छ । दिउँसो राजगार्गमा सवारीसाधन र बटुवा हिँड्ने गरेता पनि सो स्थानमा राति सुनसान हुने गरेको छ ।
प्रतिक्रिया 4