+
+

काठमाडौंका ५ मनोरञ्जन केन्द्र : के छ आकर्षण, कति लाग्छ शुल्क ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते १२:४१

काठमाडौं । अव्यवस्थित सहरीकरणले हिजोआज बालबच्चालाई खेल्ने ठाउँको अभाव भइरहेको छ । अझ काठमाडौं उपत्यकामा त बिदाको दिन बच्चालाई खेल्न र मनोरञ्जन गराउन कहाँ लैजाने भन्ने चिन्ता अभिभावकलाई निकै हुन्छ ।

यहाँ बालबालिकालाई लक्षित गरी खुलेका उपत्यकाका केही मनोरञ्जन केन्द्रबारे चर्चा गरिन्छ ।

जम्प केटएम

नेपालकै पहिलो इन्डोर ट्रेम्पोलिङ पार्क ‘जम्प केटीएम’ धुम्बाराहीमा छ । जुन सुरु भएको लगभग तीन वर्ष भयो । बिदाको दिन मनोरञ्जनका लागि बालबालिकालाई कहाँ लैजाने भन्ने दुविधामा हुनेका लागि जम्प केटीएम राम्रो विकल्प हुन सक्छ । यहाँ बालबालिका र वयस्कका लागि आठ प्रकारको शारीरिक र बौद्धिक खेल खेलाइन्छ ।

सोमबारदेखि बुधबार एक घण्टा गेम खेलेको ३.५ फिटभन्दा माथिका व्यक्तिलाई ८०० रुपैयाँ र ३.५ भन्दा कमका बालबालिकालाई ५०० रुपैयाँ तिर्नुपर्छ । शुक्रबार, शनिबार, आइतबार र सार्वजनिक बिदाको दिनमा भने वयस्कलाई एक हजार र बालबालिकालाई ७०० रुपैयाँ शुल्क लाग्छ । गेम खेल्नका लागि एउटा ग्रिप मोजा पनि किन्नुपर्ने हुन्छ, जसको मूल्य १०० रुपैयाँ पर्छ जुन लिएर जान पाइन्छ । त्यसलाई अर्को पटक जम्प आउँदा प्रयोग गर्न सकिन्छ ।

१० जनाको ग्रुपमा गेम खेल्न जानेहरूलाई विशेष छुटको पनि व्यवस्था छ । पार्किङको पनि राम्रो व्यवस्था भएको जम्प केटीएमको अर्को ब्रान्च झम्सिखेलमा पनि छ ।

काठमाडौ स्पोर्ट क्लाइम्बिङ सेन्टर

पंकनाजोल कालधारामा रहेको काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टर पनि बिदाको दिन बालबालिकादेखि वयस्कलाई मनोरञ्जनको लागि अर्को राम्रो विकल्प हो । जहाँ ठूला-ठूला भित्तामा चढ्ने र ओर्लने गर्न सकिन्छ । वयस्कका ८०० र बच्चाका लागि ६०० रुपैयाँ तिरेर पाँच पटक चढ्न सकिन्छ । क्लाइम्बिङ गर्न आवश्यक पर्ने सामग्रीहरू पनि काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरले नै उपलब्ध गराउँछ ।

शरीरलाई स्फूर्त बनाउन यो खेल खेल्न सकिन्छ । नेपालमा भन्दा पनि विदेशमा यो खेल बढी लोकप्रिय छ, त्यसैले यहाँ खेल्न आउने धेरै विदेशीहरू हुन्छन् । यहाँ स्पिड क्लाइम्बिङ, बोल्डरिङ र लिड क्लाइम्बिङ गरेर अन्तर्राष्ट्रिय स्तरको भित्ताहरू यहाँ छन् । पाँच वर्षभन्दा माथिका बालबालिकादेखि वयस्कहरूले ‘वाल क्लाइम्बिङ’ गर्न मिल्छ ।

काठमाडौ फन पार्क

काठमाडौं फन पार्क उपत्यकाको मुटु भृकुटीमण्डपमा अवस्थित मनोरञ्जन गर्ने स्थल हो । बालबालिकादेखि युवायुवती तथा वृद्धवृद्धाहरू सबैले यहाँ मनोरञ्जन लिन सक्छन् । यहाँ बालबालिकादेखि वयस्कहरुका लागि विभिन्न खेलको व्यवस्था रहेको छ ।

काठमाडौं फन पार्क नेपालको सबैभन्दा पुरानो फन पार्क हो । जहाँको प्रवेश शुल्क वयस्कहरूका ६० रुपैयाँ हो भने बालबालिका र विद्यार्थीको लागि ३० रुपैयाँ छ । तीन वर्षभन्दा कम उमेरका बालबालिका, ७० वर्ष भन्दा माथिको ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था छ ।

बालबालिकाका लागि छुट्टै गेमिङ एरियाको व्यवस्था भएको काठमाडौं फन पार्कमा विभिन्न प्रकारका खेल उपलब्ध छन् । प्रवेश शुल्क तिरेर फन पार्कभित्र छिरेर इन्डोर, आउटडोर गेम खेल्न भने अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ ।

फनल्याण्ड

काठमाडौंको भद्रकालीमा रहेको फन ल्यान्ड पनि मनोरञ्जनको लागि रोज्न सकिने अर्को ठाउँ हो । फनल्यान्डभित्र आइसमा खेल्ने सम्पूर्ण गेमहरू खेल्न सकिन्छ ।

आइस स्केटिङ, ट्राम्पोलिन, बुलराइड र वाल क्लाइम्बिङ लगायतका खेलहरू खेल्न सकिने यहाँ पार्किङको पनि राम्रो व्यवस्था छ । चार वर्षमाथिका बालबालिका र वयस्कहरूले यहाँ विभिन्न खेल खेल्न सक्छन् ।

एक पटकमा बालबालिकादेखि सबै उमेरका ६० जनाले खेल खेल्न सक्छन् । एक घण्टा आइस स्केटिङ गर्न सोमबारदेखि शुक्रबारसम्म ५०० रुपैयाँ, शनिबार, आइतबार र सार्वजनिक बिदाको दिन ८०० रुपैयाँ तिर्नुपर्छ ।

आइसमाथि खेल्न प्लास्टिकको डल्फिनसमेत राखिएको छ । सुरुमा आइसमा अडिन डल्फिनको माध्यमबाट खेल्न सकिन्छ । त्यसका लागि कोचहरूले विशेष तालिम दिन्छन् ।

हुप्पल्याण्ड

चोभारमा रहेको हुप्पील्याण्ड पनि साना बालबालिकादेखि वृद्धवृद्धाले रुचाएको रमणीय स्थल हो । जहाँबाट रमणीय स्थल अवलोकन गर्नुका साथै विभिन्न खेल खेल्न सकिन्छ ।

विशेषगरी पानीमा खेल्ने खेल यहाँ खेल्न सकिन्छ । हुप्पील्यान्डको प्रवेश शुल्क ७५० रुपैयाँ हो । स्कुलबाट ल्याइएका विद्यार्थीको लागि विशेष छुटको व्यवस्था पनि छ । प्रवेश शुल्क तिरेर भित्र छिरेपछि १० बजेदेखि ६ बजेसम्म नै बसेर खेल खेल्न पाइन्छ, समय अवधि तोकिएको छैन ।

हुप्पील्याण्ड शुक्रबार र शनिबार बेलुका टाइट पार्कको रूपमा ९ बजेसम्म खुल्ला रहन्छ । केही खेलका लागि अतिरिक्त शुल्क पनि तिर्नुपर्छ । यहाँ पार्किङको पनि राम्रो व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?