+
+

११ औं कोरियन एम्बेसडर तेक्वान्दो भदौ अन्तिममा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते १४:५७

२४ भदौ, काठमाडौं । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा  ११ औं कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता यही भदौ अन्तिममा हुने भएको छ ।

संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ २७ देखि ३१ गतेसम्म हुने  जानकारी गराएको हो । सन् २००३ मा पहिलो पटक भएको यो प्रतियोगिताको हालसम्म दश वटा संस्करण भइसकेका छन् ।

प्रतियोगिताको ११ औं संस्करणमा ७११ महिला र १०६७ पुरुष गरी जम्मा १ हजार ७७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने तेक्वान्दो संघका उपाध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका संयोजक भानबहादुर चन्दले बताए । जसमा पुम्सेतर्फ २५ र ग्यरोगी (फाइट) तर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यसअघि नेपाली खेलाडीमात्र सहभागी हुने प्रतियोगितामा यस संस्करणमा पहिलो पटक भारत र बंगलादेशका खेलाडी पनि सहभागी हुँदैछन् । भारतबाट ३५ र बंगलादेशबाट ३३ खेलाडी आउने संघले जनाएको छ ।

प्रतियोगिता सफल आयोजनाका लागि नेपाल तेक्वान्दो संघका उपाध्यक्ष चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ र जसअन्तर्गत १० वटा उपसमितिहरु रहेका छन् ।

प्रतियोगिता सञ्चालन गर्न ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयंसेवकहरु हुनेछन् । प्रतियोगिताको कुल लागत करिब ३५ लाख रहेको र त्यसमा कोरियाली दूतावासबाट करिब ५ हजार अमेरिकी डलर, खेलाडी दर्ताबाट करिब १७ लाख रुपैयाँ प्राप्त हुने र बाँकी रकम नेपाल तेक्वान्दो संघले व्यवस्थापन गर्ने संघका उपाध्यक्ष चन्दले जानकारी दिए ।

नेपाली राष्ट्रिय टिमका खेलाडीहरु हाल एसियन गेम्सको तयारीमा वैदेशिक प्रशिक्षणमा रहेकाले उनीहरु सहभागी हुने छैनन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई कोरियामा हुने विश्व कोरियन एम्बासडर प्रतियोगितामा सहभागी गराइने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?